एक वर्षदेखि छोरा भेट्न नपाएको भन्दै शिखर धवनको रोदन, पूर्वपत्नीले सबैतिर ब्लक गरेको गुनासो
काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले आफ्नो छोरासँग लामो समयदेखि भेट्न नपाएकोमा सामाजिक सञ्जालबाट गुनासो पोखेका छन् । पूर्वपत्नी आयसा मुखर्जीले आफूलाई छोरासँग भेट्न वञ्चित गरिरहेको उनको आरोप छ ।
हालै आफ्नो छोराको जन्मदिनका अवसरमा धवनले सामाजिक सञ्जालमा सन्देश पोस्ट गरेका थिए । त्यसमा उनले आफूलाई पूर्वपत्नीले सबैतिर ब्लक गरेको उल्लेख गरेका छन् ।
धवनले छोराका नाममा लेखेको सन्देश यस्तो छः
मैले तिमीलाई नभेटेको एक वर्ष भयो । तीन महिनादेखि त मलाई सबैतिर ब्लक गरिएको छ । त्यसैले म तिम्रो पुरानै तस्वीर राखेर शुभकामना दिइरहेको छु । मेरो छोरा जन्मदिनको धेरै धेरै शुभकामना । मैले तिमीलाई प्रत्यक्ष भेट्न नपाए पनि टेलिप्याथीबाट कुरा गर्न पाएँ । म तिमीमा गर्व गर्छु । तिमीले राम्रो गरिरहेका छौ र गज्जबसँग हुर्किरहेका छौं । पापाले तिमीलाई सँधै सम्झिन्छ र माया गर्छ । भगवानको कृपाले हामी चाँडै भेट्नेछौं । बदमास हुनु, तर उद्दण्ड नहुनु । सँधै विनम्र, सहयोगी र सवल भइराख्नु । तिमीलाई भेट्न नपाए पनि म हरेक दिन तिमीलाई म्यासेज लेखिरहेको हुन्छु । तिम्रो दिनचर्याको विषयमा सोधिरहेको हुन्छु । आफ्नो कुराहरु पनि बताइरहेको हुन्छु । जोरा तिमीलाई धेरै धेरै माया ।’
यो सन्देशसँगै छोरासँग टेलिप्याथीमा भिडिओ कल गरेको तस्वीर उनले पोस्ट गरेका थिए । तर, खोइ किन हो पछि उनले यो सिंगो पोस्ट हटाइदिए ।
धवन र आयशाबीच सन् २०१२ मा विवाह भएको थियो । उनीहरुले पहिलो सन्तानका रुपमा २०१४ मा जोराभरलाई जन्म दिएका थिए । तर, २०२० सम्म आइपुग्दा उनीहरुको दाम्पत्य जीवनमा दरार आयो । र, दुवैले सन् २०२१ को सेप्टेम्बरमा सम्वन्धविच्छेदको मुद्दा दायर गरे ।
यसै वर्षको अम्टोबर ४ मा उनीहरुको डिभोर्स प्रक्रिया पूरा भएको थियो । दिल्लीको पटियाला हास कम्प्लेक्सस्थित फेमिली कोर्टले उनीहरुलाई अलग गरिदिएको हो । कानूनतः सन्तानको अधिकार आयशाले पाएकी छन् ।
शिखर धवनले आफ्नो निवेदनमा श्रीमतीमाथि लगाएका आरोपहरुलाई अदालतले स्वीकार गरेको छ । आफूलाई श्रीमतीले मानसिक यातना दिने गरेको आरोप धवनले लगाएका थिए । पहिले पनि आयशाले छोरालाई शिखरबाट टाढा राख्ने गरेकी थिइन् । अदालतले निश्चित समयमा छोरालाई भेट्ने अनुमति दिएको छ । तर आयशाले त्यसको पालना नगरेको शिखरले गुनासो गरेका छन् ।