स्वास्थ्यकर्मी तुलसाले मुगुमा भोगेको जातीय विभेद र यौन हिंसाको नालीबेली
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थायी घर भएकी २३ वर्षीया तुलसाकुमारी विश्वकर्माका लागि २०७९ माघ ९ गते खुसीको दिन बनेको थियो । त्यस दिन उनी कर्णाली प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर मुगुको सोरु गाउँपालिका-९ को खनया गाउँस्थित स्वास्थ्य चौकीमा अनमी नियुक्त भएर काम सुरु गरेकी थिइन् ।
तर, विकट ठाउँमा कसरी बस्ने भन्ने चिन्ता पनि थपियो । स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट (एचए) सुरजकुमार शाहीले आफ्नै घरमा डेरा दिने बताएपछि तुलसाको उक्त चिन्ता पनि निवराण भयो । आफू दलित समुदायको भएकाले तुलसालाई जहाँतहीं डेरा नपाइने चिन्ता थियो । स्वास्थ्य चौकी इन्चार्जले नै डेरा दिने भएपछि उनी गदगद भइन् ।
तुलसाले इन्चार्जकै घरको खाना खाने गरी मासिक ६ हजार रुपैयाँमा कोठा बहालमा बस्ने बसाउने सहमति भयो । तीन महिनापछि तुलसा छुट्टीमा घर आइन् ।
घरमा रहेकी तुलसालाई स्वास्थ्य चौकी इन्चार्ज सुरजकी आमा झांपु शाहीले फोन गरिन् । शाहीले भनिन्, ‘नानी मलाई त थाहा नै रहेनछ । अहिले मात्रै थाहा पाएँ । तिमी त छुन नमिल्ने जातको रहेछौ । तत्काल सामान सार्नुपर्यो ।’
लगत्तै तुलसाले स्वास्थ्य चौकी इञ्चार्ज सुरजलाई फोन गर्दै उनकी आमाले आफूमाथि जातीय विभेद गरेको गुनासो गरिन् । उनले घरमा बस्न नसक्ने बरु स्वास्थ्य चौकीको क्वार्टरमै व्यवस्थापन गर्न आग्रह गरिन् । स्वास्थ्य चौकी इन्चार्जले आफूले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै जसरी पनि आउन अनुरोध गरे ।
सोहीअनुसार मुगु पुगेकी तुलसाले क्वार्टरमा आफ्नो लागि कोठा व्यवस्थापन भएको पाइनन् । त्यसैले उनी इन्चार्जकै घरमा बस्न बाध्य भइन् । घरबेटी झांपुले स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीमार्फत तुलसालाई जसरी पनि कोठा छोड्न लगाउन दबाब दिइरहिन् । तुलसालाई कसरी कोठा सर्ने भन्ने चिन्ताले निरन्तर सताउन थाल्यो । जसोतसो उनले ६ महिना त्यसै घरमा काटिन् । त्यसपछि दशैँतिहारको बिदामा घर आइन् ।
बिदाकै बीच उनले स्वास्थ्य चौकी इन्चार्ज सुरजलाई फोन गरेर त्यहाँ बसेर काम गर्न नसक्ने भएकाले सरुवा प्रक्रिया अघि बढाएर मुगु फर्किन ढिला हुने जानकारी गराइन् । तर, इन्चार्ज सुरजले तुलसालाई स्वास्थ्य चौकीको क्वार्टरमै व्यवस्था गर्ने बचन दिए । त्यसपछि उनी मुगु काममा फर्किन् ।
तर, इन्चार्ज सुरजले क्वार्टरमै बस्ने व्यवस्था गर्ने त परै जाओस् उल्टै आफ्नो घरबाटै तत्काल कोठा सार्न दबाब दिए । त्यसपछि तुलसा गाउँमा कोठा खोज्न भौतारिइन् । तर, कतै कोठा पाइनन् । केही सीप नलागेपछि तुलसाले क्वार्टरमै बस्छु भन्दा पनि स्वास्थ्य चौकी इन्चार्ज सुरजले उल्टै लखेट्ने धम्की दिए ।
इन्चार्ज सुरजले गाउँलेमार्फत आफूलाई स्वास्थ्य चौकी नै छोडेर जान दबाब दिएको तुलसा बताउँछिन् । उनका अनुसार त्यसपछि पुस १ गते आफ्ना आमाबाबुलाई फोन गरेर घटना विवरण सुनाइन् ।
छोरीको वेदना बाबुआमाले अभियन्ता खगेन्द्र सुनारलाई बेलिविस्तार लगाए । खगेन्द्रले तत्कालै पुस २ गते बिहानै उक्त खबर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरे । उनले लेखे, ‘मुगुमा अनमी तुलसाकुमारी विश्वकर्मालाई गाउँ निकाला, दलितले छोएको औषधि पनि चल्दैन ।’
उनको उक्त पोष्ट एकाएक भाइरल भयो ।
मुगुको खनयामा मोबाइल नेटवर्क राम्रो चल्दैन । इन्टरनेट हुने कुरै भएन । बिहान उठेर कोठाबाट निस्किन नपाउँदै तुलसालाई गाउँलेले घेरा हाले । उनीहरुले ‘यस्तो कुरा मिडियालाई किन दिएको ? अब भने साँच्चिकै गाउँबाट निकाल्छौं’ भन्दै धम्क्याए । उनका साथीहरूले पनि फोन गरेर सोध्न थालेपछि मात्रै तुलसालाई थाहा भयो, आफूमाथि भएको जातीय विभेदको घटना त सामाजिक सञ्जालमा भाइरल भइसकेको रहेछ ।
अभियन्ता, मिडिया, युट्युबरदेखि आफ्नै माथिल्लो निकायका कर्मचारीसम्मले उनलाई सोध्न थाले- ‘खास भएको के हो ?’
सामाजिक सञ्जालमा फैलिएको घटना प्रहरीसम्म पुग्यो । जिल्ला प्रहरी कार्यालय मुगुले गाउँमा प्रहरी परिचालन गर्यो । प्रहरीसँगै गाउँपालिकाका दलित जनप्रतिनिधि पनि गाउँ पुगे । गाउँलेको घेराबन्दीमा परेकी तुलसामा प्रहरी र दलित जनप्रतिनिधि आइपुगेपछि ज्यान आयो ।
लगत्तै उनले गाउँलेलाई सोधिन्, ‘म तल्लो जातको मान्छे भएकाले यहाँ नबस्न भन्नुभएको छ । स्वास्थ्य चौकीमा पनि क्वार्टरको व्यवस्था छैन । सदरमुकाममा बसेर यहाँको जागिर गर्न सकिँदैन । सरुवा माग्न थालेको महिनौं भइसक्यो, कसैले सुन्दैन । अब भन्नुस्, म के गरौं । मरौं कि बाँचौं ?’
त्यसपछि प्रहरी र जनप्रतिनिधिले उनको उद्धार गरेर गत मंगलबार मुगु सदरमुकाम गमगढी ल्याएका थिए । बुधबार प्रमुख जिल्ला अधिकारी टोपेद्रबहादुर केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापासहित सरोकारवाला र पीडित तुलसासँग छलफल भएको थियो । छलफलमा तुलसाले आफूमाथि गएको वैशाखदेखि नै जातीय विभेद भएको भए पनि आफूले प्रहरी र घरपरिवारमा समेत नभनेको सुनाइन् ।
उनले जातीय विभेदविरुद्ध न्यायभन्दा त्यहाँबाट सरुवा खोजेको बताइन् । आफूमाथि घरधनीले जातीय विभेद गरेर घर छोड्न दबाब दिएपछि आफ्नो सरुवा गर्न श्रीमानलाई गएको असारदेखि असोजसम्म प्रदेश राजधानी धाउन लगाउँदा निवेदनसमेत दर्ता नभएको तुलसाले गुनासो गरिन् । उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुले सरुवाको निवेदन नै दर्ता गरेनन् ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारका स्वकीय सचिव दानसिंह सुनारलाई समेत गुनासो पोखेपछि गएको मंसिर ६ गते मुख्यमन्त्रीको कार्यालयमा सरुवा निवेदन दर्ता भएको उनले बताइन् ।
तुलसाले समयमै आफ्नो सरुवा सम्बोधन नहुँदा आफूले जातीय विभेद हुँदै यौन हिंसा र मार्नेसम्मको धम्की खेप्नुपरेको सुनाइन् ।
‘गत असारमा ममाथि जातीय विभेद भएको र त्यहाँ काम गर्न असुरक्षित रहेको भन्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीकहाँ पुगेर सरुवा मागेको थिएँ’, उनले भनिन्, ‘तर, मेरो सरुवाका लागि कुनै पनि पहल गरिदिएनन् । स्वास्थ्य शाखाबाट पहल नभएपछि श्रीमान् सरुवा माग्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि सामाजिक विकास मन्त्रालयका कोठाकोठा चहार्नुभयो । कर्णाली प्रदेश प्रमुख तिलक परियारसम्म गुहार्नुभयो । तर, सरुवा हुनु त टाढाका कुरा, निवेदन दर्ता गर्नसमेत असारदेखि असोजसम्म संघर्ष गर्नुपर्यो ।’
तुलसाले जातीय विभेदसँगै सोरु गाउँपालिकाका कर्मचारीदेखि स्थानीय युवाबाट यौन हिंसा खेप्नुपरेको सुनाइन् । उनका अनुसार गाउँपालिकाको शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लले उनीमाथि धेरै पटक यौन हिंसाको प्रयास गरेका थिए ।
‘शिक्षा शाखा प्रमुखले धेरै पटक मलाई फोन गरेर यौन हिंसा गर्न खोजे । कहिले भेटेर त कहिले फोनमा भन्न हुने नहुने सबै कुरा भनेर ममाथि धेरै पटक हिंसा गरे’, तुलसाले भनिन्, ‘स्थानीय युवाले पनि देख्ने र भेट्नेबित्तिकै नराम्रो बोल्ने, जिस्काउने र यौन हिंसाजन्य शब्द बोल्थे । राति राति फोन गरेर के के भन्थे भन्थे, त्यो पीडा र तनावको त हिसाबकिताब नै छैन ।’
मल्लको घर रहेकै वडास्थित स्वास्थ्य चौकीमा तुलसा काम गर्थिन् । स्थानीयका अनुसार मल्लले तीन वटा विवाह गरेका छन् । उनले बुहविवाहको मुद्दासमेत खेपिसकेका छन् ।
तुलसामाथि जातीय विभेद भएको घटनाको उजुरी पुस ८ गते नै दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक भोपेन्द्रकुमार बुढाथोकीले किटानी जाहेरी परेका तीन जनालाई नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार सोरु गाउपालिका- ९ स्थायी घर भएका खनया स्वास्थ्य चौकी इन्चार्ज सुरज, उनकी आमा ५४ वर्षीया झांकु शाही र सोरु गाउँपालिका- ६ का ५१ वर्षीय पण्डित धनप्रसाद भट्टलाई नियन्त्रणमा लिइएको हो । झांकु र भट्टलाई ८ गते र भोलिपल्ट सुरजलाई नियन्त्रणमा लिएर जातीय भेदभाव तथा छुवाछूतविरुद्धको मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।
‘प्रारम्भिक अनुसन्धानमा पीडितमाथि जातीय विभेदसँगै अन्य हिंसा भएको देखियो । त्यसैले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइसकिएको छ’, प्रहरी निरीक्षक बुढाथोकीले भने ।
यसैबीच तुलसाले आफूमाथि भएको यौन हिंसाको मुद्दा पनि जिल्ला अदालतमा दर्ता गरेकी छन् । नगरपालिकाका शिक्षा शाखा प्रमुख मल्लसहित स्थानीय युवाविरुद्ध बुधबार यौन हिंसा विरुद्धकाे मुद्दा दर्ता गर्ने भइसकेकाे छ ।
उनले भनिन्, ‘१८ वर्षमुनिको युवतीमाथि यौन हिंसा भएमा प्रहरीमा जाहेरी दर्ता हुनेरहेछ । तर, म १८ वर्षभन्दा माथिको भएकाले सीधै जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छु ।’
अनमी तुलसामाथि जातीय भेदभाव र दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रबाट पीडितलाई न्याय र पीडकमाथि कारबाहीे माग गरिएको छ । मुगुका दलित अधिकारकर्मी र मानव अधिकारवादीले घटनाका विषयमा गहिरो अनुसन्धान र कारबाहीका लागि स्थानीय प्रशासनसँग माग गरिसकेका छन् । घटना सम्बन्धमा राष्ट्रिय दलित आयोग र राष्ट्रिय महिला आयोगले समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
दलित आयोगले जिल्ला प्रशासन कार्यालय मुगुलाई पुस ५ गते नै पत्राचार गरेर आवश्यक छानबिन तथा दोषीलाई कारबाही गरेर त्यसको जानकारी गराउन निर्देशन दिएको छ ।
महिला आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे अध्ययन गरिरहेको जनाएको छ । दलित महिलालाई जातकै आधारमा घरमा कोठा नदिने कार्य जातीय हिंसा तथा महिला स्वास्थ्यकर्मीको आत्मसम्मानमा आँच पुर्याउने गम्भीर मानव अधिकारको हननसमेत भएको आयोगको ठहर छ ।
बाह! बहादूर छोरी तिमी लड्यो विभेदको विरुद्दमा, थुप्रै हिंसा पिडित छोरीहरुलाई तिम्रो संघर्ष प्रेरणा बनोस्।