विश्वविद्यालय सुधारको माग गर्दै ‘सडक बहस’ – Nepal Press

विश्वविद्यालय सुधारको माग गर्दै ‘सडक बहस’

काठमाडौं । विश्वविद्यालय सुधारको माग गर्दै केही विद्यार्थी संगठनले विश्वविद्यालय सडक बहस सुरू गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीले विश्वविद्यालयको सुधारका माग राख्दै विश्वविद्यालय सडक बहस गरेका हुन् । उनीहरूले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्नेलगायतका माग राखेका छन् ।

नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले विश्वविद्यालयमा हरेक गतिविधि निराशाजनक रहेको बताए । उनले पठनपाठनको स्थिति, शिक्षा प्रणाली, समयमै परीक्षा र नतिजा प्रकाशन नहुने लगायत विद्यार्थीका आशाअनुरुपको अध्ययन नहुने समस्या रहेको टिप्पणी गरे । रोजगार र गुणस्तरसँग जोड्न नसके विद्यार्थीहरू अझै धेरै विदेश पलायन हुने सुनारको भनाइ छ ।

उनले भने, ‘प्रत्येक विश्वविद्यालय डिजिटलाइजेसन हुनुपर्छ । त्यसको शैक्षिक क्यालेण्डर निर्माण गरी सोअनुसार पढाइ हुनुपर्छ । नेपाली समाजले खोजेको शिक्षा प्रणाली अनुसार पढाइ हुन जरुरी छ । त्यो सुधारका लागि हाम्रो आन्दोलन हो । पछिल्लो ८ महिनामा ७१ हजार ६ सय विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । यो तथ्यांक हेर्दा विश्वविद्यालयको अवस्था डरलाग्दो छ । यही गतिमा गयो भने हाम्रो विश्वविद्यालयमा अबको ५ वर्षमा विद्यार्थी टर्च बालेर खोज्नुपर्छ । विश्वविद्यालयमा अहिले पनि राजनीतिको कारणले दलीयकरण र भागबन्डाका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको अवस्था छ । त्रिभुवन विश्वविद्यालयमा ३२ प्रतिशत प्राध्यापक र ३५ प्रतिशत कर्मचारीको नियुक्ति अभाव छ । राजनीतिका कारण विश्वविद्यालय कोमामा छ ।’

कार्यक्रममा सहभागी अन्य विद्यार्थीले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले विश्वविद्यालयहरुलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालय विषयगत विश्वविद्यालय हुनुपर्ने बताए । विश्वविद्यालय सुधारका लागि सबै विद्यार्थीहरु एक भएर अघि बढ्न र दबाब सिर्जना गर्न जरुरी रहेकोमा उनीहरूको जोड थियो ।

विद्यार्थीको हक अधिकार र राजनीतिको नाममा विद्यार्थी राजनीतिक संगठनले सस्तो सम्झौता गरेर टार्नु नहुने भन्दै उनीहरूले खबरदारीसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *