वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, बजारमा पठाइएका पनि फर्काउनुपर्ने – Nepal Press

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, बजारमा पठाइएका पनि फर्काउनुपर्ने

काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्रीवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरी वाईवाई जस्तै देखिने र्‍यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो । उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।

यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो । चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले ट्रेडमार्क नक्कल गरेको सीजी फुड्सको भनाइ छ ।

यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोसिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नम्बर ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ । अदालतको यस आदेशले वाईवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रूपमा बिक्रीवितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ ।

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाईवाई नेपालका साथै विश्वभर छरिएका नेपालीमाझ विगत चार दशकदेखि पहिलो रोजाईमा रहँदै आएको छ । गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाईवाईको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको सीजीको भनाइ छ । यसबाट उपभोक्ताको अधिकारमाथि समेत प्रत्यक्ष प्रहार गरिएको उसको टिप्पणी छ ।


प्रतिक्रिया

One thought on “वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई अदालतको आदेश, बजारमा पठाइएका पनि फर्काउनुपर्ने

  1. अदालत पनि चौधरीको गोटी भएछ ।वाईवाई बहिस्कार गरौ र करेन्ट खाओैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *