अदालतमा फैसलाको तयारीबीच मैदानमा चम्किए सन्दीप, आर्मीलाई हराएर पर्सा फाइनलमा
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेको फैसला सुनुवाइ चलिरहेको छ । सम्भवतः आजै फैसला आउन सक्छ । सन्दीप भने अहिले वीरगञ्जमा छन् ।
नेपाल प्रो क्लव च्याम्पियनसीप खेल्न उनी केही दिनदेखि वीरगञ्जमा रहेका हुन् । उनले पर्सा ११ को कप्तानी गरिरहेका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शनको बलमा उनको टीम फाइनलमा पुगेको छ ।
आज भएको सेमिफाइनलमा पर्साले त्रिभुवन आर्मी क्लवलाई ३१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । बलियो आर्मीलाई पराजित गर्न सन्दीपले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । उनले ३.२ ओभरमा १३ रन मात्रै खर्चिएका थिए । अनिल शाह, पवन सर्राफ र सांसद मन्सुरीले २-२ विकेट लिएपछि पर्सा ६८ रनमै अलआउट भएको छ ।
पर्साले पहिले ब्याटिङ गर्दै १०० रनको सामान्य लक्ष्य दिएको थियो । तर, सन्दीपको कसिलो बलिङमा आर्मीको ब्याटिङ धराशयी भयो । कुशल मल्लले सर्वाधिक १९ रन जोडे ।
आर्मीका सन्तोष कार्की ४, विनोद भण्डारी ९, कुशल मल्ल १९, रोहित पौडेल ८ र भीम सार्की ९ रन बनाएर आउट भए । राजेश पुलामीले २ र बासिर अहमदले २ रन बनाउन सके ।
सन्दीपले सन्तोष र रोहितसहित पछिल्लो क्रमका शाहब आलमलाई आउट गरेका थिए । अनिल शाह, पवन सर्राफ र संसाद मन्सुरीले पनि २/२ विकेट लिए । रञ्जित कुमारले एक विकेट हात पारे ।
त्यसअघि पहिला ब्याटिङ गरेको पर्सा २ बल बाँकी रहँदा ९९ रनमा समेटिएको थियो । पर्साका लागि संसाद मन्सुरीले १७ तथा अनिल शाह र रुपेश सिंहले समान १५-१५ रन बनाए ।