बुटवलमा तीन दिन सडक खाना महोत्सव हुने – Nepal Press

बुटवलमा तीन दिन सडक खाना महोत्सव हुने

रूपन्देही । जिल्लास्थित बुटवलको पर्यटन प्रवर्द्धन र सुस्ताएको बजारलाई चलायमान बनाउन होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौं खाना महोत्सव गर्ने भएको छ । २०७५ सालदेखि संघले बुटवलमा सडक खाना महोत्सव गर्दै आएको छ ।

बुटवलको तीनकुनेदेखि बसपार्कसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । संघका अध्यक्ष लेखनाथ भण्डारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा थिचोमिचोमा परेको होटल क्षेत्रको प्रवर्द्धनमा महोत्सव कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

‘होटल व्यवसायीहरु दिन प्रतिदिन पलायन हुने क्रम बढ्दो छ’, भण्डारीले भने, ‘सरकारले होटल व्यवसायीहरुलाई अपेक्षाअनुसार सहयोग गरेको छैन । भैरहवामा खुलेको अन्तर्राष्ट्रिय विमानस्थलले समेत व्यवसायीलाई झुक्यायो ।’

विमानस्थल खुलेको देखेर सञ्चालनमा आएका थुप्रै होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु अहिले धराशायी बन्न पुगेको उनले दुःखेसो सुनाए ।

खाना महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँ आर्थिक कारोबार हुने लक्ष्य राखिएको संघका महासचिव अर्जुन थापाले बताए ।

उनका अनुसार महोत्सवमा मगर, गुरुङ, नेवारी, थकाली खानाका परिकारसहित १०० वटा विभिन्न प्रकृतिका स्टल रहनेछन् । साँझ ६ देखि राति १२ बजेसम्म महोत्सव चल्नेछ ।

विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने झाँकीहरु प्रदर्शन र बुटवलमा रात्रिकालीन बजारको सम्भावना र चुनौतीका बारेमा समेत महोत्सवमा छलफल चलाउने आयोजकले तयारी गरेको छ । फराकिलो सडकपछि रात्रिकालीन व्यवसायका लागि बसपार्कदेखि होराइजन चोकसम्मको क्षेत्र पछिल्लो समय व्यवसायीहरुको रोजाइको केन्द्र बनेको छ ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका विभिन्न खानाका परिकार र संस्कृतिलाई प्रदर्शनका लागि आमन्त्रण गरिएको संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर