कमला नदी दोहनको आरोपमा कर्जन्हाका वडाध्यक्ष पोखरेल पनि पक्राउ – Nepal Press

कमला नदी दोहनको आरोपमा कर्जन्हाका वडाध्यक्ष पोखरेल पनि पक्राउ

जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका १ स्थित चुरे वन क्षेत्रभित्रको कमला नदी दोहन गरेको आरोपमा त्यहाँका वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेल पनि पक्राउ परेका छन् ‌।

वडाध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहानले शुक्रवार साँझ पक्राउ गरेको हो । चुरे तथा वन क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न ऐन र कानुन विपरीत सिफारिस गरेको आरोपमा वडाध्यक्ष पोखरेललाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

पुस ७ मा कमला नदीबाटै गिट्टी, बालुवा र ढुंगा उत्खनन गरिरहेको अवस्थामा एक थान एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र ठेकेदार नीरज बस्नेतलाई वनको टोलीले पक्राउ गरेको थियो ।

यस्तै वनको टोलीले बिहीबार कर्जन्हा नगरपालिका ७ स्थित कमला नदीबाट कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गर्‍यो । राइनलाई वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

अवैध रूपमा नदी उत्खनन गर्न वडाध्यक्ष पोखरेलले सिफारिस गरेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको वनका सूचना अधिकारी चौधरीले बताए । पक्राउ परेका सबैसँग बयान लिएर मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा पेश गर्ने उनको भनाई छ ।

कमला नदी दोहनविरुद्ध स्थानीय युवाहरू पटक पटक आन्दोलन गरेका छन् । उनीहरूकै दबाबपछि वन कार्यालयले निरन्तर निगरानी गर्दा जनप्रतिनिधिकै संलग्नता देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर