भक्तपुरमा फुटबल मैदानमा क्रिकेटको सेलेक्सन ! – Nepal Press

भक्तपुरमा फुटबल मैदानमा क्रिकेटको सेलेक्सन !

भक्तपुर । भक्तपुर नगरपालिका– ७ स्थित माहेश्वरी फुटबल मैदानमा अहिले रोचक दृश्य देखिन्छ । फुटबलको नियमित अभ्यास भइरहेको यस मैदानमा अहिले क्रिकेट प्रतियोगिता चलिरहेको छ । यो मैदान फुटबलकै लागि पनि फिफाको मापदण्डअनुसार छैन । सानो क्षेत्रफलको यस मैदानमा जसोतसो फुटबल प्रतियोगिता भइरहेको छ ।

तर, अहिले भने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि भक्तपुर जिल्लाले छनोट खेल सञ्चालन गरिरहेको छ । फुटबल खेल्न नै क्षेत्रफल नपुगेको मैदानमा क्रिकेट प्रतियोगिता हुनु आफैँमा रोचक पक्कै हो । सानो खेल मैदानमा ब्याटरहरुले चौका र छक्का कसरी हान्ने ? बलरले लामो दूरी कुदेर कसरी बल फ्याँक्ने ? के यस्तो अवस्थामा खेलाडीहरुको सही मूल्यांकन सम्भव होला ? प्रधानमन्त्री कपका लागि भक्तपुरका योग्य खेलाडीहरु छनोट होलान ? प्रश्नहरु अनुत्तरित छन् ।

‘अन्य विकल्प नहुँदा यही नै छनोट खेल खेलाउनुपर्ने बाध्यता भयो’, छनोट खेलाइरहेको भक्तपुर जिल्ला क्रिकेट संघका उपाध्यक्ष धर्मसुन्दर शाक्य भन्छन्, ‘हामीले मूलपानी र सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट ग्राउण्ड पाइने अपेक्षा गरेका थियौं । तर, दुइटै पाइएन ।’

समय धेरै नहुँदा पनि फुटबल मैदानमै क्रिकेट छनोट खलाउनुपरेको उनले बताए । उनका अनुसार महिलाहरुको प्रधानमन्त्री कप प्रतियोगिताले गर्दा मूलपानी ग्राउन्ड पाइएन । सैनिक महाविद्यालयले ग्राउन्ड उपलब्ध गराउन असमर्थ भएको जनायो ।

भक्तपुरमा सैनिक महाविद्यालयस्थित एउटामात्रै क्रिकेट मैदान छ । नेपाल क्रिकेट संघ ९क्यान० सहयोगमा बनेको अन्तर्राष्ट्रियस्तरको उक्त मैदान पाइने भक्तपुर जिल्ला संघको विश्वास थियो । त्यसको लागि क्यानका सचिव पारस खड्का अध्यक्ष रहेको बागमती प्रदेश संघले सैनिक स्कुललाई ग्राउन्ड उपलब्ध गराउन पत्र पनि लेखेको थियो । तैपनि क्रिकेट मैदान पाउन नसकिएको उपाध्यक्ष शाक्यले जानकारी दिए ।

उनका अनुसार पुस १४ गते सैनिक महाविद्यालयको वार्षिक कार्यक्रम भएकाले पनि उसले क्रिकेट मैदान उपलब्ध गराउन नसकिने बताएको थियो ।

बागमती प्रदेशको लागि भक्तपुरमा भइरहेको छनोटका जिल्लाका ९ वटा टीमले प्रतिस्पर्धा गरिरहेका छन् । ९ टीमलाई तीन समूहमा बाँडिएको छ । छनोटबाट ४ वैकल्पिकसहित १८ जना खेलाडी छान्ने क्यानले भक्तपुर जिल्लाको जिम्मेवारी दिएका कोच रिकेश लामाले बताए । यसरी छनोट भएकाले बन्द प्रशिक्षणमा राखिने उनको भनाइ छ ।

‘भक्तपुरमा मुख्य समस्या क्रिकेट ग्राउन्ड नै हो’, कोच लामाले भने, ‘छनोटपछि पनि अभ्यास खेलाउन ग्राउन्डकै समस्या छ ।’

संघले क्रिकेट एकेडेमी चलाए पनि ग्राउन्डको व्यवस्था हुन नसकेको उनको भनाइ छ । एकेडेमीमा सिमेन्ट ढलानको दुइटा पीच छ । जबकि क्रिकेट टर्फ पिचमा खेलाइन्छ ।

माहेश्वरी फुटबल मैदानमा बने खेलाडीहरुलाई म्याटमा खेलाइएको छ । मैदान साँघुरो भएकाले एकातिरमात्रै बलिङ गर्ने व्यवस्था मिलाइएको छ । बाउन्ड्री लाइनको दुईतर्फ मैदानको पर्खाललाई मानिएको छ । जहाँ बल पुग्दा एक रनमात्रै हुने नियम बनाइएको छ ।

आईसीसीको मापदण्डअनुसार क्रिकेट ग्राउन्डको बाउन्ड्री लाइन ७० मिटर हुनुपर्ने क्रिकेट अम्पायर राजेश ठाकुर बताउँछन् । तर, माहेश्वरी खेल मैदानमा मुस्किलले ४५ मिटर छ । फुटबल मैदान भएकाले यहाँ टर्फ पिचको सट्टा कृतिम पिच (म्याट) मा खेलाइएको छ । म्याटमा खेलाउँदा खेलाडीलाई आफ्नो कौशल देखाउन चुनौती हुने उनको भनाइ छ ।

‘म्याटमा बल फास्ट आउँछ । ब्याट्सम्यानलाई त्यो फेस गर्न चुनौतीपूर्ण हुन्छ । त्यसैले उसलाई माझिन झन् सघाउँछ’, अम्पायर ठाकुर भन्छन्, ‘म्याटमा बलरले पनि सधैं एकैनाशको बल फाल्न सक्दैन । उनलाई पनि आफ्नो ब्याट्सम्यानलाई कसरी बिट गर्ने भन्ने योजना बनाउन बाध्य पार्छ ।’

संघका उपाध्यक्ष शाक्य जिल्लामा क्रिकेट मैदानको लागि ठाउँको खोजी भइरहेको बताउँछन् । यसको लागि जिल्लाका चार वटै नपासँग छलफल भइरहेको उनी बताउँछन् ।

‘ग्राउन्डको लागि ठाउँ खोजिरहेका छौं । ग्राउन्डको व्यवस्था भए त्यसको विकासमा सहयोग गर्नेहरु तयारी अवस्थामा छन्’, उनले भने, ‘अहिले क्रिकेटको माहोल बढेको छ । युवाविद्यार्थीहरुमा आकर्षण बढेको छ । तर, पूर्वाधार छैन । खेलाडी उत्पादन गर्छौं मात्रै भनेर हुँदैन ।’

उपाध्यक्ष शाक्यले भक्तपुरमा क्रिकेट खेल र खेलाडीको विकासको लागि संघले वार्षिक क्यालेन्डरसमेत बनाइसकेको बताए । जसअनुसार यस वर्ष अन्तरविद्यालय, १६ र १९ वर्षमुनि, महिला र सिनियरको लिग गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर