राहत वितरण गर्न अखिल नेपाल महिला संघको टोली जाजरकोट र रुकुम पश्चिममा
काठमाडौं । गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट प्रभावितहरुका लागि राहत रामग्री लिएर अखिल नेपाल महिला संघको टोली त्यस तर्फ गएको छ । भूकम्प प्रभावित महिला बालबालिका र वृद्दवृद्धाका लागि राहत सामग्री लिएर गएको टोली जाजरकोट पुगेको हो ।
अनेमसंघका अध्यक्ष टुकाभद्र हमालको नेतृत्वमा केन्द्रीय कमिटीको टोलीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई भेटेको छ । जेष्ठ नागरिक,सुत्केरी महिला र बालबालिका हरुका लागि न्यायो कपडा वितरण गर्न काठमाडौंबाट टोली जाजरकोट पुगेको अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीका शर्मिला कार्कीले जानकारी दिइन् ।
टोलीमा उपाध्यक्ष सुमित्रा विसी,शर्मिला कार्की,विमला पौडेल राई र सचिव मिना रखाल र केन्द्रीय सदस्यहरु कालिका पाठक,शुशिला श्रेष्ठ र कौसिला खत्री छन् ।
सो टोलीले पश्चिम रुकुमका लागि १९ वन्डल न्याना कपडा करिव ५ सय थान र जाजरकोटका लागि ३० बन्डल न्याना कपड़ा करिब १ हजार थान कपडा अनेमसंघका प्रदेश तथा स्थानीय तहका नेता,कार्यकर्ताहरुलाई हस्तान्तरण गरेको प्रचार तथा प्रकाशन समितिका संयोजक कालिका पाठकले जानकारी दिइन्।
अनेमसंघका उपाध्यक्ष सर्मिला कार्कीको संयोजकत्वमा भूकम्प पीडित सहयोग समिति निर्माण गरी विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सामाग्री विशेष गरी न्याना कपडा संकलन गरिएको थियो । अनेमसंघका विभिन्न समितिहरु मार्फत संकलन गरिएका एक ट्रक सामग्री लिएर टोली जिल्ला पुगेको हो ।
चिसोको कारण सुत्केरी महिला, बालबालिका, नागरिकहरू वढी प्रभावित भैरहेका कतिपयको मृत्युसमेत भएकोमा अनेमसंघले न्यानो कपडा वितरण गरेको हो।
भूकम्प पीडित महिलाहरू विभिन्न प्रकारका हिंसाका सिकार भईरहेको र कतिपयको मृत्यु समेत भएको कुरा सञ्चार माध्यमबाट आएको कारण उनीहरुको अवस्थाको बारेमा जानकारी लिन र स्थानीय प्रशासनलाई खवरदारी गर्न अनेमसंघको टोलीले सरोकारवालाई पनि भेटेको जनाएको छ ।
स्थानिय प्रशासनलाई जवाफदेही बनाउन सो टोलीले प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, स्थानिय संचारकर्मी, पार्टी प्रतिनिधि र नागरिक समाजसँग समेत छलफल तथा अन्तरक्रिया गरेको छ।