बुटवलका दिलिप र रिताले खेलकुदबाट बनाए विश्व रेकर्ड, सबै क्षेत्रबाट सम्मानको ओइरो – Nepal Press

बुटवलका दिलिप र रिताले खेलकुदबाट बनाए विश्व रेकर्ड, सबै क्षेत्रबाट सम्मानको ओइरो

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं १२ ढवाहा निवासी दिलिप थापा सानैदेखि खेलकुदमा रुचि राख्थे । सेमलारमा रहेको नवरत्न मावि कक्षा १२ मा ब्यवस्थापन विषयमा अध्ययरत थापालाई खेलमा रुचि भएपनि सुरुमा परिवारबाट भने सहयोग पाएका थिएनन् ।

परिवारलाई छलेर सिकेको उनको खेलकुदप्रतिको मोहले अहिले उनीसहित परिवारको परिचय बढाएको छ । त्यही खेलकुदको शोख भने उनले अहिले पूरा गरेपछि परिवार, स्कुल, समाज सबै क्षेत्रबाट वाहीवाही पाएका छन् ।

बक्सिङमा चाख भएका थापा पढाइमा मध्यम तहमै थिए । घर परिवारमा आफ्नो खेलको चाहनाबारे निक्कै आग्रहपछि उनी जिम जाने स्वीकृति पाएको बताउँछन् । डेढ वर्षदेखि एक्टिभ फिटनेशमा जिम गर्ने उनी लिफ्टिङमा राम्रो गरे ।

यसैलाई जोड दिएका उनी छोटोसमयमा नै सफलता हासिल गरे । खर्चिलो खेल अगाडि बढाउन निक्कै कठिन भएको उनी बताउँछन् । त्यही खेलको माध्यमबाट अहिले उनले विश्व रेकर्ड कायम गरेपछि मेहनतले सफलता हासिल गरेको हो । थापाले सप्लिमेन्ट्रिबिना नै खेल खेलेको बताउँछन् ।

भारतको हैदरावादमा सम्पन्न १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा १८ वर्षका उनी आफ्नो ५९ तौल समूहमा विश्व रेकर्ड कायम गरेपछि अहिले उनलाई सबैतिरबाट सम्मान, बधाईको ओइरो लाग्न थालेको छ । थापाले २०५ केजी उठाएका हुन् । नवौंं आयोजनामा बनेको विश्व रेकर्ड उनले ब्रेक गरेर नयाँ रेकर्ड कायम गरेका हुन् ।

उनको मेहनतले भारतको हैदरावादमा भएको १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा नेपाल दोस्रो भएको हो ।अर्घाखाँची हंसपुरकी रिता बिक सानैदेखि नाचगान र खेलकुदमा चासो दिन्थिन् ।

उनले गाउँकै सिद्धार्थ माविबाट विद्यालयस्तरको अध्ययन पूरा गरिन् । भारतमा जागिर गर्ने बुबासँगै उनी एसईईपछि परिवारसँगै बुटवल झरेकी हुन्। परिवारमा एक दिदी, एकजना दाइका कान्छी बहिनी उनी सानैदेखि खेलकुदमा हुरुक्क हुन्थिन् । प्राविधिक क्षेत्रमा चासो लिएकी उनी रम्भादेवी टेक्निकल कलेजमा ल्याब एसिस्टेन्ट अध्ययनरत छन् ।

जितगढी घर भएकी उनी पछिल्लो डेढ वर्षदेखि पावर लिफ्टिङमा आर्कषित भइन् । शारीरिक बनावटकै कारण उनी यो खेलमा बढी चासो दिइन् । करीब ५.५ फिट उचाईकी उनी एक्टिभ प्लस जिममा डेढ वर्षदेखि नियमित ब्यायाम गर्दैछन् । शुरुवातमा शरीरको तौल घटाउन जिम शुरु गरेको उनी बताउँछिन् ।

बुटवलका विभिन्न खेल प्रतियोगिता हुँदै सेलेक्सन भएका उनी नेपालगंजमा उत्कृष्ट भइन् । उनै बिक अहिले हैदराबादमा सम्पन्न १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा आफनो तौल समूहमा विश्व च्याम्पियनसहित वर्ड रेकर्ड गरिन् । खेलाडीकै रूपमा स्थानीयस्तर हँुदै विश्वस्तरको प्रतियोगितामा च्याम्पियन बनेकी छन् ।

भारतको हैदरावादमा भएको प्रतियोगितामा उनले ५७ केजी तौल समूहमा १७० केजी तौल उठाएर नयाँ रेकर्ड कायम गरिन् । यसअघि नवौं च्याम्पियनसिपको १४५ केजी तौलको विश्व रेकर्ड रहेको थियो ।

थापा र बिकको मेहनतबाट नेपालका खेलाडीहरूले १६ स्वर्ण, १४ रजत र ४ काँस्य पदक जित्दै दोस्रो भएको हो । पुस २ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा नेपालका २५ जना खेलाडीहरू भाग लिएका थिए ।

उनीहरुलाई विद्यालय, उपमहानगर, प्रदेश खेलकुद परिषद सबै क्षेत्रबाट अहिले सम्मान भइरहको छ । प्रदेश खेलकुद परिषद लुम्बिनी र बुटवल उपमहानगरपालिकाले खेलाडीहरूलाई सम्मान गरेको छ ।

खेल क्षेत्रबाट बुटवलको गरिमा बढाएका खेलाडीहरूलाई सम्मानलाई विशेष जोड दिँदै ब्यवसायिक बनाउने गरी पहल गर्ने बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बताए । नवरत्न सेकेण्डरी स्कुलका प्रअ हेमराज आचार्यले विद्यालयमा शैक्षिक र खेलकुद गतिविधिलाई जोड दिँदै आउँदा प्रतिफल पाउन सफल भएको बताए । हाल विद्यालयमा १५ सय विद्यार्थीहरू अध्ययनरत छन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *