राष्ट्रियसभा उम्मेदवार सूचीमा ढुंगाना छुटेपछि धनुषा कांग्रेसमा विवाद, सभापतिले एकलौटी गरेको उपसभापतिको आरोप
जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको विषयमा नेपाली कांग्रेस धनुषामा विवाद देखिएको छ ।
कांग्रेस जिल्ला सभापति जोगी पंजियारले सिफारिश गरेको नाममा उपसभापति गणेश झाले आपत्ति जनाएपछि विवाद देखिएको हो । उपसभापति झाले पार्टीको विधि प्रक्रिया विपरीत एकलौटी रुपमा सभापति पंजियारले नाम सिफारिस गरेको आरोप लगाएका छन् ।
पार्टी जिल्ला सभापति पंजियारले महेश शंकर गिरी, राज किशोर सिंह, राम पल्टन साह, तुल्सा आचार्य, वासुलाल महतो र अनिता श्रीवास्तवको नाम सिफारिश गरेका छन् ।
सिफारिशको सूचीमा प्रभावशाली नेता आनन्द प्रसाद ढुंगाना परेनन् । क्षेत्र नम्वर ४ को क्षेत्रिय समितिले ढुंगानाको नाम सिफारिस गरेको पाइएको छ ।
मधेश प्रदेशसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका क्षेत्रीय सभापति कुमारकान्त झाले १० जनालाई सिफारिश गरेका छन् । जसमा पूर्व सांसद ढुंगानालाई एक नम्बरमा राखिएको छ ।
तर जिल्ला सभापति पंजियारले ढुंगानालाई पन्छाएपछि उपसभापति झा विज्ञप्ती जारी गर्दै विरोधमा गरेका छन् । ढुंगानाको नाम सिफारिश गर्नुपर्ने उनको माग छ ।
धनुषा कांग्रेस समेत गुट र उपगुटमा विभाजित छन् ।
गुटबन्दीका कारण जिल्ला सभापति पंजियारले ढुंगानाको नाम हटाएको एक नेताले आरोप लगाए । ति नेताले भने, ‘गुटबन्दीले पार्टी कमजोर बनेको छ । नेतृत्वले यो कुरा समयमै नबुझे पार्टी संकटमा पर्ने निश्चित छ ।’