एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा, कोशी ५२ रनले पराजित
काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ) क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा पुगेको छ। कीर्तिपुर मैदानमा आइतबार भएको क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो।
एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो। कोशीका अप्सरी बेगमले ३१ र रुबिना क्षेत्रीले २२ रन बनाए। त्यसअघि एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर एक सय ३९ रन जोडेको थियो।
एपीएफका लागि इन्दु बर्माले ५६ र सिता रानामगरले ४५ रन बनाए। हारका बाबजुत कोशीले फाइनल प्रवेश गर्ने अब अर्को अवसर पाउने छ। बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशबीच हुने एलिमिनेटरको विजेतासँग कोशीले दोस्रो क्वालिफायर खेल्ने छ।