राजेशपायल राई सिक्किम जान रोकिए, के हो ‘हेभनली पाथ’ को लफडा ? – Nepal Press

राजेशपायल राई सिक्किम जान रोकिए, के हो ‘हेभनली पाथ’ को लफडा ?

काठमाडौं । सांगीतिक कार्यक्रममको लागि सिक्किम जान लागेका गायक राजेशपायल राई रोकिएका छन् । सिक्किममा उनलाई बहिष्कार गर्ने चेतावनी दिइएको थियो ।

सिक्किमको पेलिङ गाल्सिङ जिल्लामा आज आइतबार अर्थात् डिसेम्बर ३१ मा कञ्चनजञ्घा विन्टर टुरिज्म फेस्टिभल आयोजना गरिएको छ । यसमा राजेशपायल पनि निम्त्याइएका थिए । तर, सामाजिक सञ्जालमा उनीविरुद्ध केही आक्रोशित टिप्पणीहरुका कारण भ्रमण रद्द भएको निकट स्रोतले बतायो । आयोजकले नै उनलाई नआउन आग्रह गरेको हो वा उनी आफैंले हात झिकेका हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।

यो लफडाको जरो चाहिँ केही महिना अघिको एउटा सन्दर्भसँग जोडिएको छ । पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थितिमा गत असार २३ गते हात्तीवन किराँत माङहिम परिसरमा भएको एक वृक्षारोपण कार्यक्रममा राजेशपायल पनि उपस्थित भएका थिए । वृक्षारोपण सकिएपछिको औपचारिक कार्यक्रममा राजेशपायलले अनायाश जंगिए ।

जब उनलाई बोल्नका लागि आग्रह गरियो, राजेशपायलले कार्यक्रमस्थलमा टाँगिएको एउटा ब्यानरमाथि आपत्ति प्रकट गरे । उक्त ब्यानर नउतारेसम्म नबोल्ने अडानसमेत लिए ।

‘मैले बोल्दा यो निकाल्दिनुस्, नत्र म तपाईंहरुको सबै च्यातिदिन्छु’, मन्त्री किराँतीसँगै बसेका राजेशपायलले चोर औंलाले ईंगित गर्दै उनले भने ।

यो वृक्षारोपण कार्यक्रमको आयोजना सानो हात्तिवन किराँत माङहिम व्यवस्थापन समिति, किराँत याक्खा छुम्मा केन्द्रीय समिति, सुनवार सेवा समाज संघीय समिति र किरात याक्युङ चुम्लुङ संघीय समितिले संयुक्तरुपमा गरेका थिए ।

यी चार संस्थाबाहेकको एक ब्यानर टाँगिएको थियो- हेभनली पाथको । राजेशपायलले देख्न नचाहेको ब्यानर यही नै थियो । उनले कडा अडान लिएपछि ब्यानर हटाइयो र कार्यक्रम सुचारु भयो । तत्कालै ब्यानर झारिएपछि विवादले ठूलो रुप लिएन ।

तर, जब यो भिडिओ बाहिर आयो, राजेशपायल विवादमा परे । राई समुदायभित्रैका हेभनली पाथका अनुयायीहरु उनीसँग रिसाए । यसको तरंग सिक्किमसम्म पुग्यो । फलस्वरुप त्यहाँ राजेशपायलको विरोध सुरु भएको हो ।

सिक्किमका हेभनली पाथमा विश्वास राख्ने केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राईको चर्को विरोध गर्दै स्टाटस लेखेका हुन् । आयुस बान्तवा राईले राजेश पायल राईको तस्बिर राखेर लेखेका छन्, ‘राजेश पायल राई सिक्किम आए हामी हेभेन्ली पाथका युवाहरुले उग्ररुप लिनेछौँँँ ।’

खाम्दाक रोहनले अंग्रेजीमा लेखेको पोस्टमा भनेका छन्, ‘हाम्रो सिक्किममा राजेश पायल राईलाई छिर्न दिनु हुँदैन । उ धर्म विरोधी कलाकार हो । उ सही मान्छे होइन । उ सिक्किममा आयो भने उसको … सिक्किमका हजारौँ युवाहरु तयार छन् ।’

स्रोतका अनुसार राजेशपायलको कार्यक्रममा ढुंगामुढा गर्नेसम्मको धम्की आएको थियो । यद्यपि उनले यस विषयमा केही पनि बोलेका छैनन् । नेपाल प्रेसले पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा उनले फोन उठाएनन् ।

के हो हेभेन्ली पाथ ?

उदयपुरका भक्तबहादुर राईद्वारा संचालित छुट्टै धार्मिक अस्तित्व दाबी गर्नेहरुको समूह हेभेन्ली पाथ हो । भक्तबहादुरले आफूलाई सुप्रिम मास्टर गड एञ्जल उपनाम राखेका छन् । उनी आफूलाई किराँतीहरुको धर्मगुरु भएको दाबी गर्छन् ।

लाखौंको संख्यामा आफ्ना अनुयायी बनाएका भक्तबहादुरले आफूमा अलौकिक शक्ति भएको दाबी गर्दै आएका छन् । विशेष गरेर राई समुदायमा आफ्नो प्रभाव विस्तार गरेका भक्तबहादुरको नेपालदेखि सिक्किम, हङकङ, बेलायततिर पनि राम्रो संख्यामा भक्तजनहरु भएको बताइन्छ ।

‘प्रेमवाद’ नामक आफ्नै दर्शन बनाएका भक्तबहादुरका अनुयायीहरु हत्या हिंसा गर्नुहुन्न भन्ने ठान्छन् । उनीहरुको समुदायमा मासु वर्जित जस्तै छ । भक्तबहादुरले ‘निसुई’ नामको आफ्नै छुट्टै धर्मग्रन्थ लेखेका छन् । छुट्टै भाषामा लेखिएको यस किताबलाई उनका अनुयायीहरु मन्त्रको रुपमा पढ्छन् । साथै क्रिस्टियन चर्चको जस्तै संरचनामा ठाउँ ठाउँमा ‘सेमेचुङ’ स्थापना गरिएको छ । जहाँ उनका अनुयायीहरु हरेक शनिबार भेला भएर भजन किर्तन गाउँछन् ।

उदयपुरको साविकको मैनामैनी २ मा २०३७ सालमा जन्मिएका भक्तबहादुर क्यानेडियन नागरिक हुन् । आफ्ना अनुयायीहरुलाई आफू जन्मँदा घरै उज्यालो भएको, पानीमा हिँड्न सक्ने, चरा झैं उड्न सक्ने दाबी गर्ने गर्छन् ।

तर, यी सबै कुरा हावादारी रहेको उनलाई नजिकबाट चिनेकाहरुको भनाइ छ । भक्तबहादुरलाई किराँती समुदायको संस्कार, संस्कृतिलाई बिगारेको आरोप लाग्दै आएको छ । धर्मगुरुको भेषमा उनले किराँतीहरुको ऐतिहासिक चुल्हो उखेल्ने गरेको आरोप लाग्ने गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर