राजनीति दल र विद्यार्थी संगठनले विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको छ: उपकुलपति सिंह
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। नन्दबहादुर सिंहले विश्वविद्यालयमा राजनीतिकरण धेरै भएको बताएका छन् । राजनीति दल र विद्यार्थी संगठनले विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको उनले बताए ।
आइतबार प्रश्न पत्र चुहावट सम्बन्धी कारबाहीको विषयमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति सिंहले विश्वविद्यालयमा चाहिने भन्दा बढी राजनीति भएको धारणा राखेका छन् । गत पुस तीन गतेदेखि सञ्चालन हुने भनिएको स्कुल अफ इन्जिनियरिङ स्नातक तह छैटौँ सेमेस्टरको प्रश्न पत्र परीक्षा सञ्चालन हुनुभन्दा पहिला नै बाहिरिएको थियो ।
प्रश्न पत्र चुहावटको विषयमा छानबिन समिति समेत बनाइसकिएको छ भने परीक्षा स्थगित गरिएको उपकुलपति सिंहले जानकारी दिए । परीक्षा व्यवस्थापन कार्यालयबाट नै प्रश्न पत्र चुहावट भएको आशङ्का गरिएको थियो ।
उपकुलपति सिंहका अनुसार अहिलेसम्म ६ जनालाई निलम्बनमा राखेको र उनीहरूमाथि छानबिन भइरहेको बताए । दोषीलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
साथै, परीक्षा व्यवस्थापन प्रमुख र सम्बन्धित इन्जिनियरिङ्ग शाखामा काम गर्ने कर्मचारीहरुलाई छानविन समितिको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्मका लागि निलम्बन गर्ने र अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा व्यवस्थापन प्रमुख लगायत परीक्षा व्यवस्थापन कार्यालय, इन्जिनियरिङ्ग शाखामा काम गर्ने गरी अन्य ५ जना कर्मचारीहरुलाई सरुवा गरिएको छ ।
यस्तै, नवनियुक्त परीक्षा व्यवस्थापन प्रमुखको नेतृत्वले हाल स्थगनमा रहेका ग्ग्राजुएट स्कुल अफ इन्जिनियरिङ्ग अन्तरगत सिभिल, कम्प्युटर तथा हाइड्रोपावर विभागका परीक्षाहरु परीक्षाको नयाँ तालिका प्रकासन गरी नियमित रुपमा सञ्चालन हुने उपकुलपति सिंहले जानकारी दिए ।