चोरी हुँदै सडक घुम्तीमा राखिएका ऐना – Nepal Press

चोरी हुँदै सडक घुम्तीमा राखिएका ऐना

डोटी । ‘यी घुम्तीमा लगाएका ऐनाहरुले हामीलाई सवारी हाँक्न धेरै सहयोग पुगेको थियो, तर चोरहरुले ऐना पनि बाँकी नराख्ने भए’, धनगढी–सिलगढी सडकमा गुड्ने माइक्रो बस (हाईस) का सञ्चालक सुरज साउँदको भनाइ हो यो ।

दिपायल सिलगढी नगरपालिका–५ द्वारीखोला नजिक घुम्तीमा राखिएको ऐनाको फुटेको कभर देखाउँदै उनले थपे, ‘बाँदरहरुको जस्तो ताल भयो यो त, यसले उताबाट आइरहेको गाडी हेर्न सजिलो भइरहेको थियो ।’

मोटरसाइकल चालक डिलवहादुर बिकको धारणा पनि यस्तै छ । उनी भन्छन्, ‘मोडमा उताबाट आएको गाडी देखिदैन, ऐना धेरै सहज वनाएको थियो तर कतै चोर्न थाले कतै फुटाउन थाले ।’

घुम्तीमा यातायातका साधनहरुलाई सहज होस् भन्नका लागि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कुलपातेले घुम्तीमा ऐना राखेको थियो ।

‘जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखहरुको बैठकमा यस विषयमा कुरा उठेपछि हामीले ऐना राखेका थियौं’, सडक डिभिजनका सूचना अधिकारी रामचन्द्र जोशी भन्छन्, ‘यस विषयमा सवैतिरबाट सकारात्मक प्रतिक्रिया पनि आएको थियो, तर चोर्न थाले ।’

यसरी ऐना चोरी हुनु, फुटाउनुले नागरिकहरु सडक सुरक्षाप्रति जिम्मेवार छैनन् भन्ने संकेत गरेको जोशीको भनाइ छ ।

‘घुम्तीमा ऐना राख्दा बिपरित दिँशाबाट आएको सवारी साधन देखिने हुँदा दुर्घटना हुँदैन’ जोशी भन्छन् ‘यसको उद्देश्य दुर्घटना न्यून गर्नु हो ।’ सूचना अधिकारी जोशीले स्याउलेदेखि चौखुट्टेसम्म १६ वटा घुम्तीमा ऐना राखिएको वताए । गत आर्थिक बर्षमा राखिएका ति ऐनाको मुल्य प्रति ऐना २ हजार स्पैयाँ (भ्याट वाहेक) रहेको छ । हालसम्म १६ मध्ये ५ ऐना हराइसकेको समेत जोशीले बताए ।

‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने चेतनाको कमी देखियो’, जोशीले भने, ‘उच्छृंखल स्वभाव भएका व्यक्तिहरुले ऐना फुटाएको वा चोरेको जस्ता लाग्छ ।’

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पर्ने बताउँछन् मोटरसाईकल चालक पत्रकार कर्ण चन्द । उनी भन्छन्, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य हुन् आउँछ, यो हाम्रो मौलिक कर्तव्य पनि हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *