जापान भूकम्प अपडेट : मृतकको संख्या १५ पुग्यो, उद्धार कार्य जारी
टोकियो । जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
भूकम्पले सबै भन्दा बढी क्षति पुर्याएको इशिखावा प्रिफेक्चरको वाजिमा शहरमा मात्रै १५ जनाको मृत्यु भएको जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।
इशिखावा प्रिफेक्चरका घरहरूमा अहिले पनि आगो लागिरहेको र उद्धार कार्य चलिरहेकाले क्षतिको यकिन विवरण आई नसकेको पनि अधिकारीहरूले जनाएका छन् ।
उद्धार कार्य चलिरहेकाले क्षतिको पूर्ण विवरण आउन नसकेको बताइएको छ । भूकम्प पछि सुनामीको खतरा रहेकाले ४६ हजार नागरिक सुरक्षित स्थानमा सारिएको छ ।
यद्यपि सुनामीको खतरा भने तत्काललाई हटेको जापानको मौसम विज्ञान विभागले जनाएको छ । इशिखावा प्रिफेक्चरमा आज बिहान पनि ५.६ म्याग्नेच्युटको अर्को भूकम्प गएको थियो ।
भूकम्प र सुनामीका कारणले घाइते भएकाहरूको उपचार भइरहेको भए पनि घाइतेहरू संख्या अहिले सम्म यकिन गर्न सकिएको छैन । त्यस्तै इशिखावा प्रिफेक्चरमा भत्किएका घरहरूमा केही व्यक्तिहरू पुरिएको हुनसक्ने समेत उद्धारकर्ताहरूले जनाएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।
भूकम्प पछि तीव्र गतिका रेल सेवाहरू बन्द भए पनि कतिपय रेल सेवाहरू आज दिउँसो देखि पुनः सञ्चालन आउने अनुमान सेवा प्रदायक कम्पनीहरूले जनाएका छन्।