अनि युवाविहीन बन्यो हुम्लाको अदानचुली : एक सातामा ११ सयजना कालापहाड लागे
गाउँपालिकाका जनप्रतिनिधिका विवादका कारण विकासे काम ठप्प भएपछि रोजगारीका लागि गाउँनै रित्याएर भारतको कालापहाडतिर लागे हुम्ली युवा, २ दशकपछिकै ठूलो गरिवी र बेरोजगारी
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात पहिलोपटक हुम्लाको अदानचुली गाउँपालिकाका बस्तीहरू युवाविहीन बनेका छन् ।
शहरका युवा रोजगारको खोजीमा खाडी मुलुकको भिसा हातमा लिएर त्रिभुवन विमानस्थलमा लाम लागेको बेला दुर्गम गाउँका युवाहरू लावा लस्कर लागेर दिनहुँजसो अहिले छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् ।
गाउँमा चरम आर्थिक मन्दीले एक रूपैयाँ नदेखिने भएपछि आफ्नो घरपरिवारलाई लुगाफाटो ल्याउन र केही रकम कमाउन सयौंको संख्यामा जिल्लाको दक्षिणपूर्वको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिकाका युवा कालापहाड (भारत) गएपछि गाउँहरू युवाविहीन बनेका हुन् ।
यही पुस १० गते मंगलबारका दिन परेको कर्णाली क्षेत्रको स्थानीय चार्ड भैलो पूर्णिमा परिवारसँग मनाएपछि एक हजारको हाराहारीमा युवाहरूले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कवाडी प्रहरी चौकीले जनाएको छ ।
‘गएको एक सातामा गाडीमा, पैदल हिडेर भारत जानेको संख्या निकै बढी देखियो’, आफूले कुनै रेकर्ड नराखेका कारण नाम उल्लेख गर्न नमानेका एक सुरक्षाकर्मीले भने, ‘हामीले चेक गर्दा र सोधिखोजी गर्दा गाडी र पैदलमा गएका सबैले इन्डिया जाने भन्दै जानेको संख्या थामी नसक्नुजस्तो देखियो ।’
पुस महिनाको शुरुदेखि दैनिक १०/१२ जनाको संख्यामा बाहिरिएका युवाहरू १० गतेयतामात्रै एक हजार एकको संख्यामा भारतको कालापहाड तर्फ लागेपछि अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीहरूमा युवा बिरलै भेटिने गरेको अदानचुली गाउँपालिका-२, हबघरका भक्त बुढाले बताए । उनका अनुसार एक सातादेखि नयाँ घर लगाउने र अत्यावश्यक काम भएका बाहेक अरु युवा गाउँमा भेट्न सकिँदैन ।
‘गाउँमा एक वर्षयता पैसा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवा परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानु परेको हो’, बुढाले भने, ‘अहिले गाउँमा कोही बितेपनि लास उठाउने युवा पाउनै मुस्किल छ ।’
आफ्नो गाउँ घरबाट मात्रै १३ गते २३ जना एकैसाथ कालापहाड गएको बताएका बुढाका अनुसार विभिन्न टोल भएको अदानचुली- २ बाट भण्डै सयको संख्यामा भारत गएका छन् ।
हिउँदमा घरको काम पनि हुँदैन । विकास निर्माणको काम गरेर केही आनोदानो (रकम) को जोहो गर्ने गरेको यहाँका युवाहरूका लागि एक वर्षयता विकास निर्माणका कामहरू ठप्प भएपछि झण्डै दुई दशकपछि पहिलो पटक यति ठूलो संख्यामा बाहिरिएका हुन् ।
अदानचुली-५ का रामबहादुर छत्यालका अनुसार गाउँमा रोजगारीका लागि काम नहुनु, गाउँपालिकाले भएका योजनाहरूको भुक्तानी प्रक्रिया समयमा पूरा नगर्दा फ्रिज जानुलगायतका कारणले अदानुचलीका युवाले हिउँदमा कामको गन्तव्यका रूपमा भारत रोजेका हुन् ।
घरमा बसौं भने काछो (गाउँको धार्मिक कामका लागि उठाउने रकम) उठाउने पैसा पनि नहुने भएपछि भारत जानुको कुनै विकल्प नपाएपछि धेरै लामो समयपछि अदानचुलीका युवाको रोजाई कालापहाड बन्यो ।
‘स्थानीय युवाहरूको आर्थिक उपार्जनको माध्यम बनेको संघ, प्रदेश र गाउँपालिकाका योजनाहरूमा गएको वर्षदेखि काम गरेपछि ज्याला नपाएका कारण गाउँमा थप आर्थिक संकट पर्यो’, अदानचुली-४ का बलबहादुर बुमीले थपे, ‘गएको आर्थिक वर्ष २०७९/८० मा मात्रै अदानचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण काम सम्पन्न भएका ६ करोड रकमका ३६ भन्दा धेरै योजनाहरूको रकम भुक्तानी नभएर फ्रीज भयो । कुनै विकल्प नदेखेर बस्यो दिन आफूलाई छाक टार्न र श्रम बेचेर केही रकमको जोहो युवाहरू भारत छिर्न बाध्य भएका हुन् ।’
पुस महिनाको शुरुदेखि दैनिक १०/१२ जनाको संख्यामा बाहिरिएका युवाहरू १० गतेयतामात्रै एक हजार एकको संख्यामा भारतको कालापहाड तर्फ लागेपछि अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँबस्तीहरूमा युवा बिरलै भेटिने गरेको अदानचुली गाउँपालिका-२, हबघरका भक्त बुढाले बताए ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षबीचको विवाद उत्कर्षमा पुगेपछि प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी पनि रनभुल्ल छन् ।
करार कर्मचारीको टुंगो लगाउन नसक्नु, समयमा कार्यपालिका बैठक नबस्नु, गाउँसभाहरू बस्न नसक्नुका कारण पालिकाको बजेट कार्यान्वयनमा नआएका कारण पनि स्थानीय नागरिकमा आर्थिक संकट परेको गल्बा बहुमुखी क्याम्पसका प्रमुख रणसुर रोकाया बताउँछन् ।
चुलोको सरकार भनिने स्थानीय तहले सामान्य कामहरूलाई भन्दा प्रदेश तथा स्थानीय सरकारले गर्ने सडक निमार्णमा सबै बजेट बिनियोजन गर्नु र भएको सबै बजेट डोजर मालिकले लिने गरेकाले पनि यहाँका नागरिक कामविहीन बनेका छन् । क्याम्पस प्रमुख रोकायाले गाउँमा परेको चरम आर्थिक संकट टार्न सयौं युवा मुग्लान छिर्न बाध्य भएको बताए ।
गएका वर्षहरूमा औषधि उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट बढीमा ५/७ जना कालापहाड जाने गरेको भएपनि यो वर्ष जानेको संख्या अपत्यारिलो तबरले वृद्धी भएको अदानचुली-२ स्थित मष्टादेव आधारभूत विद्यालयका अस्थायी शिक्षक छप्की बुढाले जानकारी दिए ।
केही दिनअघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी रिजर्भ गरेका यहाँका युवाहरूले दुई/तीन महिनाको गन्तव्यका रूपमा कालापहाड रोजेर गएको हुन् । आफूसहित २२ जनाको समूहले बाजुराको मार्तडीसम्म जीप रिजर्भ गरेर गएको बताएका बुढाका अनुसार १३ (पुस) गतेमात्रै पाँच सयजतिको संख्यामा यूवाहरू कालापहाड लागे ।
‘कर्णाली करिडोरमा अस्थायी रूपमा चलेका जीपहरूमा प्रायः कालापहाड जाने अदानचुलीका युवामात्रै थिए । कुनैकुनै जीपले दोहोरो तेहोरो गरेर बेलुका अबेरसम्म पनि ओसारे । आफूसँग गाडी भाडा नभएका दजनौं युवाहरू बाजुराको मार्तडीसम्म राती हिँडेर पनि गएका थिए’, बुढाले सुनाए ।
भाडा नहुँदा पैदल
लामो समयको आर्थिक मन्दीका कारण तीन महिने कामको खोजीमा भारत गएका युवाहरूले गाडी भाडा पनि जोहो गर्न नसकेपछि कर्णाली र भेरी करिडोरमार्फत पैदल लागेका हुन् ।
घरमा एक सय रूपैयाँ देखे चोरी लाग्लाजस्तो भएको बताएका अदानचुली-३ मकै गाउँका अंकल रोकायाले गाउँभर खोज्दा पनि गाडी भाडा नपाएपछि पैदलै बाजुराको मार्तडी पुगेको बताए ।
‘म सँगै गाउँका नैन रोकाया, खड्क रोकाया, बाँच्या रोकायासहितका १२ जनाको टोलीले जाने गाडी भाडा पनि नपाएपछि तीन दिनको पैदल बाटो एक दिन एक रातमा बाजुरा सदरमुकाम मार्तडी पुगेका हौं’ उनले भने,‘बाटोमा सबै गाडी चढेर हिँड्ने, हामीमात्र पैदन हिँडेको दैख्दा आफैंलाई लाज होला भनेर हामी घरबाट हिँडेदेखि रात दिन नभनेरै पैदल कुदेका हौं । एक रात एक दिनमा मार्तडी पुग्यौं भने अब यहाँबाट सीमामा पुग्न एक-दुई रात लाग्छ होला ।’
गएको वर्षमा सरकारले दिएको विकासका योजनामा काम गरेर घरपरिवारको लुगाफाटो गर्ने, छोराछोरीको कापीकिताबको जोहो गर्दै आएको भएपनि गत वर्ष गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीचको विवादका कारण समयमा रकम भुक्तानी प्रक्रिया अघि नबढाउँदा काम गरेका योजनाहरूको रकम फ्रीज गएपछि आफूहरूको गन्तव्य कालापहाड रोजाईमा परेको बाँच्या रोकाया सुनाउँछन् ।
‘यो आर्थिक वर्षको ६ महिना बितेपनि कुन योजना परेको छ । कति बजेट छ भन्नेपनि जानकारी गाउँमा छैन् । पालिका कर्मचारीको नेतृत्वविहीन छ, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष (६ नम्बरका बाहेक) सबै सुर्खेत गएका छन् । पालिकाका सबै कार्यालय बन्द छन् । त्यहाँबाट अब केही हुन्छ कि भन्ने विश्वाश नलागेपछि हामीजस्ता सोझाका छोराहरूको रोजाई भारत भएको हो’ उनले थपे ।
कालापहाड जाने २० वर्षयताकै धेरै
२०६२/६३ को आन्दोलनयता सबैभन्दा बढी युवाले यो वर्ष गाउँ छोडेका छन् । राजनीतिक स्थिरता कायम भएपछि गाउँको विकास तीव्र होला, गाउँमै रोजागारीको सृजना होला भनेर राजनीतिमा होमिएका युवाहरूले राजनीतिक परिवर्तनको २० वर्ष लाग्न लाग्दासम्म समेत कुनै सुधार नभएपछि पुनः कालापहाडलाई अस्थायी गन्तव्य रोजेका हुन् ।
गाउँमा नयाँ रोजगारीको सिर्जना गर्नुभन्दा करारमा नियुक्त गरिएका कर्मचारीलाई समेत तलब नपाएरै बस्नु परेपछि पालिकाले नियुक्त गरेका कर्मचारी देखि सर्वसाधारणको गन्तव्य छिमेकी मुलुक भारत बनेको एमाले अदानचुली गाउँ कमिटीका अध्यक्ष बुधे भण्डारीले बताए ।
लामो समयको आर्थिक मन्दीका कारण तीन महिने कामको खोजीमा भारत गएका युवाहरूले गाडी भाडा पनि जोहो गर्न नसकेपछि कर्णाली र भेरी करिडोरमार्फत पैदल लागेका हुन् ।
‘जिल्लाका विषयगत कार्यालयहरूले पनि योजनाहरूका काम समयमा सञ्चालन गर्थे तर अहिले ती सबै काम स्थानीय सरकार मातहत हुने तर स्थानीय सरकारको प्रमुख-उपप्रमुखबीचको तिक्तताले ठप्प भएपछि सबैभन्दा धेरै युवाहरूको रोजाई कालापहाड बन्यो’ उनले भने, ‘गाउँपालिका आफैंले नियुक्ति गरेका कर्मचारीले तलब नपाउनु, बालभत्ता, सामाजिक सुरक्षा भत्ता पनि समयमा वितरण नगर्नुले बढेको चरम आर्थिक मन्दीको अल्पकालीन उपायको खोजीका रूपमा यहाँका युवा गाउँ छोड्न बाध्य भएका हुन् ।’
स्थानीय सरकारले तत्काल संघ, प्रदेश र आफूले तय गरेका विकासे योजनाहरूको काम सुरू गरेर थप रोजगारका कामहरू सृजना नगर्ने हो भने पछिल्लो व्यवस्थाप्रति पनि नागरिकको वितृष्णाको बढ्ने बताएका भण्डारी अहिले गाउँमा मलामी जाने मान्छे नपाइने अवस्था आएको बताउँछन् ।