जापान भूकम्प अपडेट : मृतकको संख्या ३० पुग्यो, नेपालीको अवस्थाबारे बुझ्दै एनआरएनए
टोकियो । जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । भूकम्पले सबै भन्दा बढी क्षति पुर्याएको इशिखावा प्रिफेक्चरमा मात्रै ३० जनाको मृत्यु भएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार वाजिमा शहरमा १५ जना, सुजु शहरमा ६, नानाओ शहरमा ५, अनामिजु शहरमा २, हाकुई शहर र शिगा टाउनमा १-१ गरी ३० जनाको मृत्यु भएको छ ।
उद्धार कार्य चलिरहेकाले क्षतिको यकिन विवरण आइनसकेको अधिकारीहरूले जनाएका छन् । आज बिहान पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्प र सुनामीका कारण घाइतेको संख्या अहिलेसम्म यकिन छैन । यसैबीच, भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीका बारेमा सूचना संकलन भइरहेको एनआरएनए जापानले जनाएको छ ।
‘हामी त्यस क्षेत्रमा रहेका नेपालीको पछिल्लो अवस्था बुझ्ने प्रयास गरिरहेका छौं’, गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष नवीन निउरेले भने ‘अहिलेसम्मको सूचनाअनुसार सबै सुरक्षित रहेको भन्ने छ ।’