लुम्बिनीमा बढ्न थाले पर्यटक – Nepal Press

लुम्बिनीमा बढ्न थाले पर्यटक

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको संख्या बढ्न थालेपछि पर्यटन व्यवसायी हौसिएका छन् । कोरोना महामारीपछि थला परेको पर्यटन व्यवसाय पर्यटकको संख्या पुरानो लयमा फर्कन थालेपछि उनीहरूमा केही आशा पलाएको छ तर पर्यटक संख्या बढे पनि आर्थिक कारोबार भने पहिला जसरी हुन सकेको छैन ।

लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०२२ मा लुम्बिनीमा ९६ मुलुकका २३ हजार ९४२ विदेशी पर्यटक लुम्बिनी आएका थिए भने सन् २०२३ मा ७६ हजार २१० जना पर्यटक लुम्बिनी आएका छन् । २०२२ को भन्दा पछिल्लो वर्ष ५२ हजार ९४२ बढी पर्यटक यहाँ आएका हुन् ।

कोरोना महामारीअघि पाँच वर्ष अगाडिको तुलनामा २०२३ मा लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटकहरूको संख्या झन्डै एकलाखले कमी भए पनि कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रका लागि यो संख्याले केही आशा जगाएको पर्यटन ब्यवसायीहरु बताउँछन् ।

यसअघि सन् २०१९ मा ११५ मुलुकबाट गरी एक लाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए।

कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रका लागि गत वर्षको आएका पर्यटकहरूको संख्याले केही आशा जगाए पनि नेपाल आएका पर्यटकको संख्यालाई हेर्दा लुम्बिनी आउने पर्यटकको संख्या भने अत्यन्त न्यून रहेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् ।

सन् २०२३ मा तेस्रो मुलुकबाट १० लाख १४ हजार ८७४ पर्यटक नेपाल आएकोमा त्यसको साढे ७ प्रतिशत हाराहारी मात्रै लुम्बिनी आएका छन् ।

यसअघि सन् २०१९ मा नेपाल आएका झन्डै साढे १४ प्रतिशत पर्यटक लुम्बिनी आएका थिए। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए भने एक लाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए।

पछिल्लो १० वर्ष सन् २०१४ देखि यता लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकहरूको संख्या बढ्दै गएकोमा कोभिड १९ का कारण तीन वर्ष पर्यटकको आगमन ठप्पजस्तै बनेको थियो। कोभिड १९ पछि सन् २०२० मा ८३ मुलुकका ४५ हजार ३ सय २९ र सन् २०२१ मा ६८ मुलुकका जम्मा १ हजार १ सय ९७ पर्यटक लुम्बिनी आएका थिए।

यसअघि २०१४ देखि नै लुम्बिनीमा आउने तेस्रो मुलुक र पर्यटकहरूको संख्या बढ्दै गएको थियो। तर कोभिड महामारी पछि लुम्बिनी आउने पर्यटकको संख्या ह्वात्तै घटेको थियो।

लुम्बिनी विकास कोषको तथ्या‌ंकअनुसार सन् २०१४ मा ८२ मुलुकका १ लाख ३३ हजार ३०८ पर्यटक लुम्बिनी आएकोमा २०१५ मा ६८ मुलुकबाट १ लाख २९ हजार १८०, २०१६ मा ८१ मुलुकबाट १ लाख ३६ हजार २५३, २०१७ मा ८९ मुलुकबाट १ लाख ४५ हजार ८१४, २०१८ मा १०८ मुलुकबाट १ लाख ६९ हजार ९०४ हुँदै सन् २०१९ मा आइपुग्दा लुम्बिनी आउने पर्यटकको संख्या १ लाख ७४ हजार १५ पुगेको थियो भने पर्यटक आउने देशहरूको संख्या पनि १ सय १५ पुगेको थियो।

अघिल्लो वर्ष २०२२ भन्दा पर्यटकको संख्या बढे पनि पर्यटकहरू आउने मुलुकको संख्या भने घटेको छ। सन् २०२२ मा ९६ मुलुकका २३९४२ पर्यटक लुम्बिनी आएकोमा २०२३ मा ८५ मुलुकका मात्रै पर्यटक आएका छन्। पर्यटकहरू आउने मुलुकको संख्या सन् २०१९ मा भन्दा गतवर्ष ३० ले कमी थियो।

२०२३ मा सबैभन्दा धेरै नोभेम्बरमा १६ हजार ४११ र अन्तिम डिसेम्बर महिनामा १३ हजार ४९९ पर्यटक लुम्बिनी आएका छन्।

त्यसअघि फेब्रुअरीमा १२ हजार ५२२, मार्चमा १२ हजार २९७, अक्टोबरमा ९ हजार ३७४, सेप्टेम्बरमा ५ हजार ४०६, जनवरीमा ३ हजार ९८७, अप्रिलमा ३ हजार ९४२, अगष्टमा ३ हजार ५४५, मे मा १ हजार ६६५, जुलाईमा १ हजार ३९३ र सबैभन्दा जुनमा १ हजार १९१ जना पर्यटक लुम्बिनी आएका थिए।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतका अनुसार सन् २०२३ मा तेस्रो मुलुकबाट सबैभन्दा बढी श्रीलंकाका १६ हजार १७२ जना पर्यटकले लुम्बिनी अवलोकन गरेका छन्। त्यस्तै, थाइल्याण्डका १५ हजार ७२१, भियतनामका १० हजार ४१४, चिनिया ६ हजार ११३, दक्षिण कोरियाका ५ हजार ३०२, जर्मनी २ हजार १९८ र १ हजार ६७८ अमेरिकी पर्यटक लुम्बिनी आएका छन्।

गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा बेलायत, ताइवान, सिंगापुर, रसिया, म्यानमार, मलेसिया, जापान, इटली, इण्डोनेसिया, फ्रान्स, क्यानडा, कम्बोडिया, अष्टेलियाबाट आउने पर्यटकहरूको संख्या धेरै हुन्छ।

त्यस्तै अर्जेन्टिना, अर्मेनिया, बेल्जियम, बुल्गेरिया, ब्राजिल, चिली, कोष्टारिका, क्रोएटिया, साइप्रस, इजिप्ट, इष्टोनिया, इक्वेडर, घाना, ग्वाटेमाला, इरान, केन्या, लिबिया, लाओस्, उरूग्गे, स्विटजरल्याण्ड, स्विडेन, सुडान, स्लोभेनिया लगायतका मुलुकका पर्यटक समेत आउने गर्छन्।

तेस्रो मुलुकका मात्र होइन लुम्बिनी आउने आन्तरिक पर्यटकहरूको संख्या पनि सन् २०१७ भन्दा गत वर्ष झन्डै आधाले घटेको छ। लुम्बिनी विकास कोषको तथ्या‌ंकअनुसार २०१७ मा १२ लाख ५१ हजार ३४६ आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। सन् २०२३ मा भने जम्मा ६ लाख ५६ हजार २१८ आन्तरिक पर्यटक लुम्बिनी आएका छन्।

यसअघि २०१९ मा ११ लाख ७८ हजार १४० आन्तरिक पर्यटकले लुम्बिनी अवलोकन गरेका थिए भने २०२२ मा पनि ६ लाख ४९ हजार ७८ जना लुम्बिनी आएका थिए। २०२० मा भने आन्तरिक पर्यटकको संख्या पनि जम्मा २ लाख १० हजार ३३ पुगेको थियो।

सन् २०१९ को तुलनामा २०२३ मा तेस्रो मुलुकका पर्यटकहरूको संख्या कम भए पनि लुम्बिनी आउने भारतीय पर्यटक भने बढेका छन्। सन् २०१९ मा २ लाख ६ हजार १७१ भारतीय पर्यटक लुम्बिनी आएकोमा २०२३ मा २ लाख ६६ हजार ५१० जना भारतीय पर्यटकले लुम्बिनी अवलोकन गरेका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो। सन् २०२२ मा पनि २ लाख ३० हजार ८६३ भारतीय पर्यटक लुम्बिनी आएका थिए।

लुम्बिनीमा पर्यटक आकर्षित गर्न सन् २०२४ को पूर्वसन्ध्यामा सडक खाना महोत्सव आयोजना पनि गरिएको थियो । यहाँ आउने पर्यटकको बसाई लम्बाउन र नयाँ रणनीति बनाउन यहाँका पर्यटन व्यवसायीले विकास कोषसँग समन्वय गरेर अगाडि बढ्ने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् ।

उनले विदेशी पर्यटकलाई थप आकर्षित गर्न गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल नियमित चलाउनुपर्ने र लुम्बिनी वरिपरीको विकासमा विशेष ध्यान दिनुपर्ने जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर