फोटो काण्ड- दलका कार्यकर्ताले दिए ३ दिनको अल्टिमेटम, प्रधानमन्त्री ल्याउन हर्कको माग – Nepal Press

फोटो काण्ड- दलका कार्यकर्ताले दिए ३ दिनको अल्टिमेटम, प्रधानमन्त्री ल्याउन हर्कको माग

विराटनगर । धरानका मेयर हर्क साम्पाङ र राजनीतिक दलका भ्रातृ संगठनबीच भएको वार्ता बिफल भएपछि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नटाँसी दलहरु फर्किएका छन् ।

३ दिनको अल्टिमेटम दिँदै भ्रातृ संगठनका नेता तथा कार्यकर्ता फर्किएका हुन् । उनीहरुले ३ दिन भित्रमा मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तश्विर नराखे आफैं आएर टाँस्ने चेतावनी दिएका छन् । युवा संघ सुनसरीका उपाध्यक्ष प्रमोज्ञ भट्टराईले ३ दिनको अल्टिमेटम दिएर फर्किएको बताए ।

मेयर साम्पाङले केहि दिन अघि आफ्नो कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको तश्विर हटाएपछि आज विभिन्न राजनीतिक दलका युवा तथा भ्रातृ संगठनका कार्यकर्ता मेयर हर्क साम्पाङको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न गएका थिए । फोटो राख्न उपमहानगरपालिका मा भ्रातृ संगठनका कार्यकर्ता पुगेपछि परिसरमा तनाव बढेको थियो ।

तनाव भएपछि मेयर साम्पङसँग वार्ता भएको थियो । वार्तामा मेयर साम्पङले प्रधानमन्त्री बोलाउनु पर्ने अडान राखेपछि वार्ता भाडिएको हो ।

कांग्रेस, एमाले, माओवादीलगायत दलका युवा तथा विद्यार्थी संगठनका कार्यकर्ता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो लिएर उपमहानगरपालिका पुगेका थिए । परिस्थिति असहज हुनसक्ने भन्दै प्रहरीले आफूहरूलाई रोकेको राष्ट्रिय युवा संघ नेपालका कोशी अध्यक्ष अरुण गुरुङले बताए ।

अहिले प्रहरीले हर्क साम्पाङसहित समर्थक र तस्बिर लिएर गएका कार्यकर्ताका प्रतिनिधिलाई सँगै राखेर छलफल गराइरहेको छ ।

केही दिनअघि धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै हर्कले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर