राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिमका ३ पदमा गठबन्धनका चार दलको दाबी, यस्तो छ एमाले र राप्रपाको तयारी
कैलाली । राष्ट्रियसभामा सुदूरपश्चिमबाट निर्वाचित तीन जनाको पदावधि आगामी फागुन २० गते सकिँदैछ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार सरकारले माघ ११ गते निर्वाचन मिति घोषणा गरेको छ ।
यहाँ नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो । रिक्त हुने यी तीन जनाको ठाउँमा अहिले १०० जनाभन्दा बढीको नाम सिफारिस भएको छ । केही पार्टीले अझै उम्मेदवारको टुङ्गो लगाएको छैन ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रियसभा निर्वाचनको लागि ८२ जनाको नाम सिफारिस गरेको छ । जिल्ला तहबाट सिफारिस भई आएका नामलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिमा पठाएको हो ।
सिफारिस भएकामा सबैभन्दा बढी कैलालीबाट १६ जनाको छन् । अन्य जिल्लाहरूबाट पनि अन्य, अपाङ्गता र महिला कोटामा आकाङ्क्षीहरूको नाम पठाइएको छ । सोही नाम प्रदेश समितिले केन्द्रमा पठाएको कांग्रेस सुदूरपश्चिम महामन्त्री नरनारायण शाहले जानकारी दिए ।
‘जिल्लामा धेरै नेताहरू आकाङ्क्षी देखिनुभयो, जिल्लाबाट आएका नामहरू हामीले केन्द्रमा पठायौं’, उनले भने ।
नेकपा माओवादी केन्द्रले उम्मेदवार टुङ्गो लगाउने काम जारी राखेको छ । तीन पदमा माओवादीभित्र ३० जनाभन्दा बढी आकाङ्क्षी देखिएका छन् । सिफारिसमा पर्नेमा चुनाव हारेका तथा यसअघि सांसद भइसकेकाहरू पनि छन् ।
माओवादी केन्द्रका कैलाली जिल्ला समन्वय समिति संयोजक लाजुराम चौधरीका अनुसार कैलालीबाट १२ जनाको नाम सिफारिस गरिएको छ । खुलातर्फ देवराज रेग्मी, टीकाराम जैसी, मीनबहादुर सुनार, दीपक साउद, देवीलाल चौधरीको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ रेणु चन्द, विमला सिंह, मोतीकला चलाउने, उर्मिला चौधरीको नाम सिफारिस गरिएको छ । त्यस्तै, घाइते अपाङ्गगता भएकातर्फ प्रेम बायक, पतिराम चौधरी, बिर्खबहादुर महताराको नाम सिफारिस गरी प्रदेश कार्यालयमा पठाएको जिल्ला अध्यक्ष चौधरीले जानकारी दिए ।
त्यस्तै बझाङबाट चार जनाको नाम सिफारिस आएको माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले जानकारी दिए । उनका अनुसार खुलातर्फ देवराज रेग्मी र लालबहादुर सोडारी, घाइते अपाङ्गतातर्फबाट गम्भीर थापा र महिलाबाट निशा ठगुन्ना परियारको नाम सिफारिस गरिएको छ । देवीराज रेग्मीको नाम कैलाली र बझाङ दुइटै जिल्लाबाट सिफारिस भएको छ ।
डोटीबाट लक्ष्मणदत्त जोशी, सिद्धराज भाट, महिलातर्फ अञ्जिता श्रेष्ठ, प्रेमाकुमारी ओली र घाइते अपाङ्गतातर्फ जङ्ग बिक र मीन घर्तीको नाम सिफारिस भएको छ । बाजुराबाट सञ्जय कट्टेलको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, कञ्चनपुरबाट खुलातर्फ गोविन्द तिमिल्सिना, महिलातर्फ सरु चौधरी, घाइते अपाङ्गतातर्फ जीतबहादुर करियाकंग्रहुवाको नाम आएको माओवादीका जिल्ला संयोजक खेम पाण्डेले जानकारी दिए । अछामबाट दीपक साउदको नाम सर्वसम्मत सिफारिस गरिएको छ । डडेल्धुराबाट हालसम्म हरि ज्ञवालीको नाममात्रै आएको छ ।
बैतडीबाट आकाङ्क्षीहरूको नाम सिफारिस गर्न बाँकी रहेको बताइएको छ । माओवादीका बैतडी संयोजक शङ्कर भण्डारीले गोपाल चन्दलगायत १२ जना आकाङ्क्षी देखिएको बताए ।
दार्चुलाबाट ३ जनाको नाम सिफारिस गरिएको छ । माओवादी दार्चुला जिल्ला संयोजक प्रेम पन्तका अनुसार लक्ष्मणदत्त जोशी, गीता ठगुन्ना, लीला कुँवरको नाम सिफारिस गरिएको छ । लक्ष्मणदत्त जोशीको नाम डोटीबाट पनि सिफारिस भएको छ ।
पुस २३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम छ ।
खुलातर्फबाट निर्वाचित माओवादीका हरिराम चौधरी उत्सव, महिला तर्फबाट निर्वाचित भएकी एमालेकी ईन्दु कडरिया र अपाङ्गगतातर्फबाट निर्वाचित माओवादीकै महेश महराको पद रिक्त हुँदा अहिले गठबन्धनभित्रका दुई दलले यी तीन कोटामा नाम सिफारिस गरेका छन् ।
गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाएका छैनन् । गठबन्धनको सीट बाँडफाँटमा आफ्नो पार्टीले सुदूरपश्चिममा सीट पाएपछि मात्रै उम्मेदवारको टुङ्गो लगाउने मनस्थितिमा नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेको देखिन्छ ।
तीन पदमा चार दलको दाबी
रिक्त हुने तीन सीटमा चार दलले दाबी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन् । ३ सीटमध्ये कांग्रेस र माओवादी केन्द्रले २–२ सीट दाबी गरेका छन् । नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले १-१ सीटमा दाबी गरेका छन् ।
‘हामीले पाउने २ सीट हो, त्यही दाबी गरिरहेका छौं’, कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले भने, ‘हामीले त्यही विषयमा केन्द्रीय नेतृत्वसँग छलफल गरिरहेका छौं ।’
अहिले गठबन्धनका नेताहरूबीच कुन प्रदेशका कुन कलस्टर कुन दललाई दिने भन्ने विषयमा सहमति भएको छैन । त्योभन्दा पहिले आ–आफ्नो पार्टीमा दाबी पेस गरिरहेका छन् ।
कांग्रेससँगै माओवादीले पनि दुई सीटमा दाबी गरेको छ । माओवादीले आफ्नो दुई सीट गुम्ने भएकाले दुइटै सीट पाउनुपर्ने नेताहरूले लबिङ गरिरहेका छन् ।
‘हामीले दुई सीट गुमाउँदै छौं भने दुई सीट नै पाउँछौं र पाउनुपर्छ’, माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी उत्सवले भने, ‘को उम्मेदवारलाई अन्तिममा लडाउने भन्ने कुरा कुन कलस्टर हाम्रो भागमा पर्छ, त्यसले निर्धारण गर्छ । अहिले हामीले २ सीटमै दाबी गरिरहेका छौं ।’
नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले अहिले आफूहरूले आकांक्षीहरुको नाम सिफारिस नगरेको बताए । उनले केन्द्रमा सुदूरपश्चिममा एक सीट पाउने गरी गठबन्धनमा कुरा गरिरहन आग्रह गरिएको र गठबन्धनको निर्णयपछि मात्रै आफूहरूले उम्मेदवारको टुङ्गो लगाउने बताए ।
नागरिक उन्मुक्तिका केन्द्रीय प्रवक्ता दामोदर पण्डितले आफ्नो पार्टीले पनि सुदूरपश्चिममा एक सीट दाबी गरेको बताए ।
‘हाम्रो मतभार सुदूरपश्चिममा राम्रो छ । हामीलाई यहाँ एक सीट चाहिन्छ भनेका छौं’, उनले भने, ‘जहाँ पाए पनि हामी एक सीट पाउँछौं । तर, सुदूरपश्चिममै हाम्रो प्राथमिकता रहेको छ ।’
यस्तो छ एमाले र राप्रपाको तयारी
सत्ता गठबन्धनका चार दलले तालमेल गरेर निर्वाचनमा होमिने तयारी गरिरहेका बेला नेकपा एमाले र राप्रपाले भने अहिलेसम्म एकल लड्ने गरी तयारी गरेका छन् ।
राप्रपाले प्रत्येक क्लस्टरबाट तीन-तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । महिलामा कैलालीबाट जानकीकुमारी कुँवर, कैलालीकै माधवी चन्द र दार्चुलाकी इन्द्रा बोहराको नाम केन्द्रमा सिफारिस गरिएको छ । अन्यबाट कैलालीका ऐर स्वार, कैलालीकै लीलाराज भण्डारी र अछामका तेजबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।
अपाङ्ग तथा अल्पसङ्ख्यकबाट कञ्चनपुरका जयकृष्ण बोहरा, कञ्चनपुरकै जानकीकुमारी महरा र कैलालीका शेरबहादुर बोहरा रहेका छन् । केन्द्रको निर्देशनअनुसार तीन-तीन जनाको नाम पठाइएको प्रदेश सचिवालय सदस्य तथा प्रवक्ता छत्र शाहीले जानकारी दिए ।
उनले अहिले केन्द्रले कसैसँग तालमेल गरेर निर्वाचनमा होमिने भन्ने कुनै निर्देशन नदिएको हुँदा एक्लै होमिनुपर्ने पनि हुनसक्ने बताए ।
यता एमालेले बुधबारसम्म उम्मेदवारको नाम प्रदेशबाट टुङ्गो लगाउने जनाएको छ ।
‘हामीलाई १८ गतेसम्म नाम पठाउन भनिएको छ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौं’, एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘अन्य, महिला र अपाङ्ग तथा अल्पसङ्ख्यकमा हामीले तीन-तीन जनाको नाम पठाउने तयारी गरेका छौं ।’