लगानी सम्मेलनको मिति सर्‍यो – Nepal Press

लगानी सम्मेलनको मिति सर्‍यो

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौंमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदस्य सचिव सुशील भट्टका अनुसार सम्मेलन आयोजना गर्न गठित निर्देशक समितिको दोस्रो बैठक आज बसेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित निर्देशक समितिले सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गरेको छ, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने तथा सम्मेलनको समग्र पक्ष हेर्ने जिम्मेवारी पाएको छ ।

परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति, पर्यटन, उद्योग, कृषि, सहरी, सङ्घीय मामिलालगायत विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव र निजी क्षेत्रका तीन छाता संस्थाका अध्यक्ष निर्देशक समितिमा छन् ।

निर्देशक समितिको पहिलो बैठक गत मङ्सिर १० गते बसेको थियो । उक्त बैठकले सम्मेलनअघि सम्भावित लगानीकर्तासँग द्विपक्षीय छलफल गरी वास्तविक लगानीकर्ता पहिचान गर्ने र आयोजनामा प्रस्ताव आह्वानदेखि लगानी स्वीकृतसम्मको प्रक्रियामा सरकारले सहजीकरण गर्ने गरी तयारी थाल्न निर्देशन दिएको थियो ।

लगानी सम्मेलनका लागि आवश्यक कानूनी तथा संरचनागत सुधार, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत् भइरहेको छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’ मा लैजाने भनेर छनोटको काम पनि अहिले चलिरहेको छ ।

मुख्यसचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यान्वयन समितिको अघिल्लो बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै लगानी सम्मेलनमा सोकेसमा लैजान सकिने सम्भाव्य आयोजनाको विवरण पठाउन निर्देश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर