८४ लाख पेस्की लिएर ठेकेदार टाप, डोटीको सायल अस्पताल निर्माण अढाई वर्षदेखि ठप्प – Nepal Press

८४ लाख पेस्की लिएर ठेकेदार टाप, डोटीको सायल अस्पताल निर्माण अढाई वर्षदेखि ठप्प

डोटी । ठेकेदारले ८४ लाख रूपैयाँ पेश्की लिएर फरार भएपछि डोटीको सायल गाउँपालिकाको भवन निर्माण कार्य अलपत्र परेको छ ।

नयाँ भवन निर्माण गर्ने भन्दै साविकको डौड स्वास्थ्य चौकीको भवनसमेत भत्याइएको छ । अहिले टिनको टहराबाट दिइँदै आएको सेवा अस्तव्यस्त छ । १० शय्याको अस्पताल भवन निर्माणको लागि गाउँपालिका र टीबीआर कन्ट्रक्सन प्रालिका सञ्चालक गोकर्ण शाहबीच २०७८ साल साउन २० गते ९ करोडको ठेक्का सम्झौता भएको थियो ।

३ वर्षभित्र काम सक्नुपर्ने शर्तनामा गरिए पनि प्रगति शून्य छ । आफूले पटकपटक ताकेता गरेपनि ठेकेदार सम्पर्कमै नआएको गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताए ।

‘म आएपछि तीन पटक पत्राचार गरिसकेँ हजार पटकभन्दा बढी फोन गरेका छौं’, अध्यक्ष जोशी भन्छन् ‘आउँछु भन्दै बाहाना बनाउँछन् तर आउँदैनन् ।’

आफूले स्थानीयवासीलाई राखेर यस विषयमा छलफल गरिसकेको जोशीले बताए । सम्झौताको डेडलाइन थोरै समय रहेकाले कारबाहीका लागि अन्तिमपटक अल्टिमेटम दिएको भन्दै उनले पुस २० मा आउने बताएको जानकारी दिए ।

केही व्यक्तिहरूले बजेट अभावका कारण अस्पताल भवन निर्माणको काम रोकियो भनेर प्रचार गरेको उनको गुनासो छ ।

‘यो संघीय सरकारको बजेट हो, कामको प्रगति विवरण बुझाएपछि मात्र भुक्तानी हुने हो । ठेकेदारले लिएको ८४ लाख पेस्कीको कुनै कामै भएको छैन, त्यसकारण संघीय सरकारबाट थप पैसा आउन सकेको छैन ।’

यस विषयमा जानकारी लिन ठेकेदार गोकर्ण शाहलाई फोन सम्पर्क गर्दा उनले आफू बिरामी भएको बताए ।

अस्पताल भवनको विषयमा जिज्ञासा राख्दा शाहले भने ‘म बिरामी भएर अस्पतालमा छु, तपाईं के कुरा सोध्दै हुनुहुन्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर