राष्ट्रियसभा निर्वाचन : लुम्बिनीको दुई सीटमा यस्तो छ दलहरूको जोड-घटाउ – Nepal Press

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीको दुई सीटमा यस्तो छ दलहरूको जोड-घटाउ

एक सीटमा कांग्रेस सुरक्षित, एमालेको एक सीटमा ६ दलको दाबेदारी

रुपन्देही । राष्ट्रियसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै लुम्बिनीबाट २ सीटका लागि सत्तारुढ दल आफ्नो पोल्टामा पार्न दौडधुपमा छन् भने विपक्षी नेकपा एमाले साबिकको आफ्नो सीट संख्या जोगाउने रणनीतिमा लागेको छ ।

सत्तारुढ दलको गठबन्धन कायम रहेमा अहिलेका मतभारमा एमालेको सीट स्वतः गुम्नेछ । यहाँबाट प्रमुख विपक्षी दल नेकपा एमालेका कुमार दशौदी र सत्तारुढ नेपाली कांग्रेसकी अनिता देवकोटा कार्यकाल पूरा गरी बिदा हुँदैछन् ।

माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते मनोनयनको समय निर्वाचन आयोगले तोकेर आफ्नो प्रक्रिया अगाडि बढाइसकेको छ ।

ती दुई सिटमध्ये कांग्रेसले आफ्नोतर्फबाट रिक्त हुने सीटमा स्वाभाविक दाबी गर्दै अर्को सीटमा कसरी व्यवस्थापन गर्ने भन्ने योजनामा छ तर सत्तारुढ सबै दलबाट एमालेबाट खाली हुने सीटमा जोडतोडका साथ दाबेदारी पेश गरिरहेका छन् ।

सत्तारुढ दलहरुबीच जुन पार्टीको सीट रिक्त रहन्छ उसको दाबेदारी स्वभाविक भएको अनौपचारिक सहमति भएकाले कांग्रेस नेताहरूको दाबी छ ।

कांग्रेसको त्यही दाबीका कारण पनि अन्य दलहरूको एमालेबाट रिक्त हुने एक सीटका लागि माथापच्छी गरिरहेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले महिलातर्फको एक सीट आफ्नो पार्टीबाट स्वभाविक भएको र मतभारका हिसाबले अर्को सीटमा पनि कांग्रेसको दाबी रहने बताएपछि सत्तारुढ अन्य दलहरू आश्चर्यमा परेका छन् ।

तर यही एक वा दुई सीटमा कांग्रेसबाट सिफारिस १२४ जनाको नामले नेतृत्वलाई हैरानी भएको छ । प्रदेश समितिले जिल्लाबाट आएका १२१ जना र प्रदेशबाट तीन जना थप गरी १२४ जनाको नाम केन्द्रमा पठाएपछि सिफारिस भएका नेताहरू आफ्नो नाम सुरक्षित बनाउन दौडधुपमा लागेका छन् ।

उता कुनै सीटको ग्यारेन्टी नभएको सत्तारुढ नेकपा माओवादी केन्द्रमा पनि दुई दर्जनको नाम सिफारिस गरी केन्द्रमा पठाएर आकांक्षीलाई थामथुम पारिएको छ ।

माओवादी लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले यहाँबाट राष्ट्रिय सभा सदस्यमा दाबी स्वभाविक मानेर नै केन्द्रले नाम माग गरेअनुसार सिफारिस गरेर पठाएको जनाए ।

उता एमालेबाट खाली हुने सीटमा एमालेबाट विद्रोह गरेकाले आफ्नो हक लाग्ने दाबी अर्को सत्तारुढ दल नेकपा एसले गर्दै आएको छ । सो पार्टीका लुम्बिनी अध्यक्ष सोमप्रसाद पाण्डेयले केन्द्रमा भएको सहमतिअनुसार नै यहाँ आफूहरूले पाउने तर्क गर्छन् ।

राष्ट्रियसभा सदस्यमा रिक्त हुने २० सीटमध्ये आफ्नो पार्टीले पाँच सिट पाउने केन्द्रमा अनौपचारिक सहमतिले एउटा लुम्बिनीबाट रहने भएकाले त्यहीअनुसारको तयारी गरेको बताए ।

उता सत्तारुढ साना दललाई पनि यसको भागबन्डामा माग गरे अन्त कतै व्यवस्थापन हुनसक्ने भएकाले पनि दावेदारी गरिरहेका छन् । जसपा, लोसपा, जनमत पार्टीले आफ्नो दावेदारी रहेको जनाएका छन् । उनीहरूले पनि कांग्रेसको सीट उसैले राखेपनि एमालेबाट खाली हुने सीटमा आफ्नो दलको दावेदारी स्वभाविक रहेको जनाएका छन् ।

जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, लोसपा प्रदेश अध्यक्ष सन्तोष पाण्डेयले एक सीटमा आफ्नो दलको तर्फबाट दावेदारी रहने जनाएका छन् । तर सरकारलाई समर्थन गरेको जनमतले अहिले कसलाई समर्थन गर्ने भन्ने विषयमा निचोडमा नपुगेको जनाएको छ ।

सरकार बाहिर रहेको राप्रपाले भने आफ्नो अलग्गै उम्मेदवार नउठाउने भएकाले एमालेसँग सहकार्य गर्ने सम्भावना छ ।

एमालेबाट ६ जनाको नाम सिफारिस

यस्तै नेकपा एमालेले दुवै सीटमा उम्मेदवारी दिने तयारी गरेको छ । पार्टी केन्द्रलाई लुम्बिनीबाट ६ जनाको नाम सिफारिस गरेर पठाइएको प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

‘पार्टी केन्द्रको निर्देशनअनुरूप अन्यबाट तीन जना झपेन्द्र जीसी, सफर अली मिया, कृष्णकुमारी गुरुङ र महिलातर्फ तुलसाकुमारी केसी, एकमाया विश्वकर्मा, शारदा शर्माको नाम प्रदेश कार्यालय बैठकले निर्णय गरेर केन्द्रमा पठाइएको छ, यी नामबाट दुई जना उम्मेदवार बन्नुहुनेछ’ कँडेलले भने ।

अध्यक्ष कँडेलले अहिलेसम्म सहकार्यका लागि कुनै दलसँग सहमति नभएको तर केही दलसँग अनौपचारिक कुराकानी भएको बताए ।

एमाले नेताहरूले यो निर्वाचनका लागि केन्द्रबाट सहमतिको कुनै प्रस्ताव आउन सक्ने अपेक्षा पनि गरेका छन् । सकेसम्म प्रदेशबाट राष्ट्रिय सभामा कायम रहेको सीट राखेर सहकार्य गर्ने योजनामा रहे पनि अहिलेसम्म ठोस निचोड केही देखिएको छैन ।

सत्ता गठबन्धन दलहरू मिलेर जाने सहमति बनेको हुँदा राष्ट्रियसभा निर्वाचनमा एमालेले कुनै सीट जित्न सक्ने अवस्था छैन ।

तर केन्द्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग सहमतिको लागि छलफल गरेको सूचना पाएका एमाले नेताहरू केही आशावादी बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर