क्यानडा र हङकङको चेम्बरसँग जोडियो लुम्बिनी प्रदेश चेम्बर – Nepal Press

क्यानडा र हङकङको चेम्बरसँग जोडियो लुम्बिनी प्रदेश चेम्बर

रूपन्देही । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखाहरूसँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ ।

हङकङ स्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्विनीका अध्यक्ष टंकप्रसाद पोखरेलले जानकारी दिए ।

नेपाल भ्रमणका क्रममा बुधवार लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल(क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधि बीच समझदारी पत्रमा हस्ताक्षर भयो ।

भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सभाकक्षमा भएको भेटवार्तामा लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष टंक प्रसाद पोखरेल र नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्बर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यसअघि गत महिना नेपाल चेम्बर अपकमर्स हङ्कङका प्रतिनिधिसँग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गराएका थिए । उक्त समझदारी पत्रमा हङ्कङ चेम्बरका तर्फबाट सभापति लालबहादुर गुरुङले हस्ताक्षर गरेका थिए ।

तीन वटै चेम्बरसँग भएका समझदारीमा एक अर्का बीच सहकार्य गर्ने, अन्तर्राष्ट्रिय फोरमहरूमा लुम्बिनी चेम्बरलाई सहभागी गराउन पहल गर्ने, तालिम, छलफल, गोष्ठी र अन्तरक्रियाहरूलाई नियमित बनाउने, अनुभवहरूको आदान प्रदान गर्ने तथा व्यावसायिक भ्रमणहरू गर्ने समझदारी छ ।

समझदारीमा लुम्बिनी प्रदेशमा रहेका व्यावसायिक सम्भावनाहरूको प्रवर्द्धनका लागि सहयोग गर्ने सहमति समेत भएको छ । त्यस्तै एक अर्काका आधिकारिक सामाजिक सञ्जालहरूमा चेम्बरले गरेका गतिविधि, घटना, समाचार लगायतका सामग्री सेयर गर्ने सम्झौता समेत भएको छ ।

समझदारीपछि अनुभव आदान प्रदान गर्दै लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेलले यहाँ पर्यटन, कृषि लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउँदै आफूहरू यहाँको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।

कार्यक्रममा उपस्थित लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले क्यानडाबाट लुम्बिनी भ्रमणमा आएका पाहुनाहरूलाई लुम्बिनीको महत्त्व र पर्यटकीय सम्भावनाका विषयमा जानकारी दिए ।

कार्यक्रममा उपस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका नायव महाप्रबन्धक छवि खनालले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर क्यानेडियन पर्यटकलाई लुम्बिनी ल्याउने वातावरण बनाउन आह्वान गरे ।

क्यानडाका तर्फबाट सहभागी प्रतिनिधिहरूले पनि बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा प्रचुर पर्यटकीय सम्भावना रहेको विश्लेषण गर्दै यसको प्रवर्द्धनका लागि आफूहरू सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिए ।

नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेलले नेपालमा रहेको पर्यटकीय सम्भावनालाई सबै मिलेर प्रवर्द्धन गर्न र लाभ लिन सकिने बताए ।

हिन्दू चेम्बर अपकमर्स क्यानडाका अध्यक्ष नरेश चावडाले लुम्बिनीमा पाएको स्वागत, सत्कार र आतिथ्यताले आफूलाई लोभ लागेको बताए ।

चेम्बर लुम्बिनीसँगको समझदारीलाई नयाँ उचाइमा पुर्‍याउन आफू तत्पर रहने प्रतिक्रिया दिए ।

आगामी दिनमा लुम्बिनी क्षेत्रको विस्तृत भ्रमणको कार्यक्रम बनाउने आफूहरूको चाहना रहेको बताउँदै गौतमबुद्ध विमानस्थलमा नियमित उडान भए क्यानेडियन नागरिकहरूलाई सिधै लुम्बिनी भ्रमणका लागि आह्वान गर्न सजिलो हुने धारणा राखे ।

लुम्बिनी चेम्बर अफ कमर्सका महासचिव जे.पी कँडेल, तिलोत्तमा चेम्बर अफ कमर्स, भैरहवा चेम्बर, परासी चेम्बर र पाल्पा चेम्बरका प्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी थिए ।

क्यानेडियन चेम्बरको टोली लुम्बिनी भ्रमण पश्चात् भारत प्रस्थान गरेको छ । टोलीले भारतपछि बङ्गलादेश र श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *