नयाँ पेट्रोल पम्पमा विद्युतीय गाडी चार्ज स्टेशन अनिवार्य, पुरानामा पनि राख्न लगाउने कार्यविधि बन्दै – Nepal Press

नयाँ पेट्रोल पम्पमा विद्युतीय गाडी चार्ज स्टेशन अनिवार्य, पुरानामा पनि राख्न लगाउने कार्यविधि बन्दै

काठमाडौं । नेपालमा विद्युतीय गाडी आयात वृद्धि भए पनि चार्जिङ स्टेसन नभएर यात्राको क्रममा समस्या हुने गरेको छ । उक्त समस्या समाधान गर्न सरकारले नयाँ पेट्रोल पम्पको लाइसेन्स दिँदा र नमुना पम्प निर्माण गर्दा अनिवार्य चार्जिङ स्टेसन राख्नुपर्ने गरी काम अगाडि बढाएको छ ।

नेपालमा अहिले नयाँ पेट्रोल पम्पको लाइसेन्स खुलेको छैन । स्मार्ट अर्थात् नमुना पेट्रोल पम्प बनाउन भने नेपाल आयल निगमले अनुमति दिँदै आएको छ । अब ती सबै पम्पमा अनिवार्य चार्जिङ स्टेसन बनाउनुपर्ने भएको छ । हाल सञ्चालनमा रहेका पम्पको नवीकरण गर्दा पनि सम्भव भएसम्म चार्जिङ स्टेसन राख्नुपर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजनामार्फत नयाँ र नमुना पेट्रोल पम्पमा अनिवार्य चार्जिङ स्टेसन राख्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

उक्त कार्ययोजनामा पुराना पम्पलाई पनि नवीकरणको बेला सम्भव भएसम्म चार्जिङ स्टेसन राख्न लगाउने व्यवस्था रहेको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

उनका अनुसार मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उक्त कार्ययोजना कार्यान्वयनमा आउनेछ ।

नेपालमा सानाठूला गरेर करिब १० हजार विद्युतीय गाडी छन् । निजी क्षेत्रले बनाएको ८०, नेपाल विद्युत प्राधिकरणले बनाएको ५१ र सिंहदरबारभित्र ५ गरी १३६ वटामात्रै चार्जिङ स्टेसन रहेका छन् । प्राधिकरणले १४ वटा थप चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

चार्जिङ स्टेसनको अभावमा विद्युतीय गाडीका उपभोक्ताले घरमै गाडी चार्ज गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *