एक सातामै फेरिए सात प्रदेशका राष्ट्रियसभा निर्वाचन अधिकृत – Nepal Press

एक सातामै फेरिए सात प्रदेशका राष्ट्रियसभा निर्वाचन अधिकृत

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका सात प्रदेशका निर्वाचन अधिकृत एक सातामै फेरिएका छन् । न्याय परिषद्को बुधबारको निर्णयबाट निर्वाचन अधिकृत तोकिएका न्यायाधीशहरु उच्च अदालतमा नियुक्त भएपछि निर्वाचन आयोगले निर्वाचन अधिकृत हेरफेर गरेको हो ।

त्यस्तै बागमती प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यसम्पादन गर्न आयोगबाट नियुक्त गरेका निर्वाचन अधिकृतले स्वास्थ्य समस्याका कारण काम गर्न नसक्ने बताएका छन् । आयोगले उनको ठाउँमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्रअनुसार जगेडा सूचीमा रहेका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको बिहीबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

उनका अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङ, बागमतीमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेल र गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्य नियुक्त भएका छन् ।

यस्तै लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ र सुदूरपश्‍चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थी निर्वाचन अधिकृत तोकिएका छन् ।

यसअघि आयोगले कोशीमा दुर्गाप्रसाद ढुङ्‍गेल, मधेशमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र सुदूरपश्‍चिममा ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृत नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर