एमालेको झुलाघाट-चिवा भञ्ज्याङ अभियानका आयामहरु – Nepal Press
ब्लग

एमालेको झुलाघाट-चिवा भञ्ज्याङ अभियानका आयामहरु

नेपाल कम्युनिष्ट पार्टी एमालेले भर्खर मात्र नेपालको सुदूरपश्चिम झूलाघाटदेखि सुदूरपूर्व चिवा भञ्ज्याङसम्मको राजनैतिक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानमा पार्टीका अध्यक्षलगायतका नेताहरुले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको करिब १८०० किलोमिटर लामो यात्रा १८ दिनमा सम्पन्न गरे । यो पार्टीले पछिल्लो चरणमा गरेको सबैभन्दा महत्वपूर्ण र सफल अभियान मानिएको छ । अभियानको सफलताले एमाले नेतृत्वलाई यस्तै प्रकृतिको हुलाकी मार्गको यात्राको अभियान सञ्चालन गर्ने उत्साह प्रदान गरेको छ । एमालेको समग्र नेतृत्व सहभागी भएको र लाखौं कार्यकर्ता परिचालित भएको यस अभियानका विभिन्न आयामहरु रहेका छन् । यस लेखमा अभियानले समग्र नेपाल र त्यस भूगोलमा पारेका विभिन्न प्रभावहरुको चर्चा गरिएको छ ।

नेकपा एमाले नेपालको प्रमुख प्रतिपक्ष दल हो । पछिल्लो राजनैतिक अवस्थामा देशमा प्रतिपक्षको भूमिका कमजोर देखियो भन्ने विश्लेषण विभिन्न पक्षहरुबाट हुन थालेको थियो । संसद नरहेको अवस्थामा प्रमुख प्रतिपक्षले प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण मञ्चहरु भनेका सडक र सञ्चार हुन् । एमालेको यस अभियानले प्रमुख प्रतिपक्षको भूमिकामा एमालेलाई सशक्त रुपमा उभ्याएको छ । पछिल्लो चरणमा कुनै पनि राजनैतिक दलले गरेको सबैभन्दा ठूलो राजनैतिक अभियान भनेको एमालेको यही अभियान हो । यस अभियानलाई एमालेका नेताहरुले सरकारका गलत कार्यहरुको आलोचना गर्न र जनपक्षीय कार्यहरु अगाडि बढाउन जनदबाब सृजना गर्ने मञ्चको रुपमा सफल प्रयोग गरे ।

यस अभियानमा एमालेले मूलधारका सञ्चार र सामाजिक सञ्जालहरुको पर्याप्त परिचालन गर्‍यो । यसले देशभरका एमालेका कार्यकर्ता र राजनीतिमा चासो राख्ने हरेकलाई राजनैतिक अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने अवसर प्रदान गर्‍यो । सहभागी हुने त प्रत्यक्ष रुपमा सहभागी भए, प्रत्यक्ष रुपमा सहभागी हुन नसक्नेहरु पनि सञ्चारमाध्यममा प्रकाशित/प्रशारित सामग्री र सामाजिक सञ्जालमा प्रक्षेपण गरिएका सामग्रीहरुमार्फत अप्रत्यक्ष रुपमा सहभागी हुने अवसर प्राप्त गरे ।

नेपालमा मूलधारका राजनैतिक दलहरुका राजनैतिक अभियानहरु कमजोर बनेको र नयाँ खुलेका दलहरु तथा बैकल्पिक राजनैतिक दलहरुका अभियानहरु सक्रिय रहेको भाष्य सृजना गरिएको थियो । आमनागरिकमा मूलधारका राजनैतिक दलहरुप्रति ठूलो वितृष्णा रहेको र आमनागरिकले सबै मूलधारका दलहरुको विकल्प खोजिरहेको भ्रम सृजना गरिँदै थियो । तर, एमालेको यस अभियानमा आमनागरिकहरुमा मूलधारका सबै दलप्रति होइन, मुख्य रुपमा सत्ता गठबन्धनका दलहरुप्रति वितृष्णा रहेको देखियो । एमालेको अभियानमा सहभागी हुन आएका र नेताहरुसँग अन्तरक्रियामा सामेल भएका नागरिकहरुको उत्साहले एमाले पार्टीप्रति अझै पनि आमजनताको ठूलो विश्वास र भरोसा रहेको देखियो । यसैगरी मूलधारका राजनैतिक दलहरुलाई समाजमा अब राजनैतिक अभियान सञ्चालन गर्न कठिन छ भन्ने भाष्य सृजना गरिएको थियो । तर, एमालेको यस अभियानले अझै पनि नेपालका हरेका क्षेत्रहरुमा एमालेका संगठनहरु क्रियाशील छन् र कुनै पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न सक्षम छन् भन्ने तथ्य पुनः प्रकाशमा ल्याएको छ । यसले नेपाली समाजमा एमालेको उपस्थिति उत्साहजनक छ भन्ने सन्देश दिएको छ ।

नेकपा एमाले नेपालको प्रमुख प्रतिपक्ष दल हो । पछिल्लो राजनैतिक अवस्थामा देशमा प्रतिपक्षको भूमिका कमजोर देखियो भन्ने विश्लेषण विभिन्न पक्षहरुबाट हुन थालेको थियो । संसद नरहेको अवस्थामा प्रमुख प्रतिपक्षले प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण मञ्चहरु भनेका सडक र सञ्चार हुन् । एमालेको यस अभियानले प्रमुख प्रतिपक्षको भूमिकामा एमालेलाई सशक्त रुपमा उभ्याएको छ ।

त्यस्तै पूर्वी नेपालमा कथित पहिचानको आन्दोलनले एमालेलाई ठूलो क्षति पुर्‍याएको भ्रम प्रशारण गरिँदै थियो । र, त्यस भूगोलमा एमालेले कुनै पनि अभियान सञ्चालन गर्न कठिन छ भन्ने भ्रमलाई प्रशारण गरिँदै थियो । तर, एमालेको यस अभियानले कथित पहिचानको आन्दोलनको सांगठनिक जग कमजोर भएको र त्यस भूगोलमा त्यस आन्दोलनको कुनै ठूलो प्रभाव नभएको प्रस्ट पारेको छ । एमालेले सहज रुपमा भव्यताका साथ त्यस क्षेत्रमा आफ्नो अभियान सञ्चालन गरेको छ । पहिचानवादीहरुले अवरोध गर्न प्रयत्न गर्न खोज्दा पनि त्यसको कुनै पनि प्रभाव एमालेको यस अभियानलाई परेन । यसरी त्यस भूगोलमा एमालेको उपस्थिति सशक्त रहेको र पहिचानको आन्दोलनलाई आमनागरिकले तिरस्कार गरेको सन्देश दिएको छ । यसरी एमालेको अभियानले जातीय सद्भाव भड्काउने प्रयत्नहरुलाई निरुत्साहित पार्ने कार्य गरेको छ ।

त्यस्तै पछिल्लो चरणमा वर्तमान धर्म निरपेक्ष संघीय गणतान्त्रिक व्यवस्थाप्रति आमनागरिकहरुमा असन्तुष्टि रहेको र उनीहरु व्यवस्थाको विकल्प खोजिरहेको भ्रम सृजना गर्न खोजिएको थियो । त्यसै भ्रमको आडमा केही प्रतिगामी शक्तिहरुले राजनैतिक स्थान प्राप्त गर्न खोजिरहेका पनि थिए । तर, अभियानभर आमनागरिकको यस व्यवस्थाका निर्माता एमालेका नेताहरुसँगको अन्तरक्रियामा व्यवस्थाभन्दा पनि वर्तमान राज्यसत्ताले सृजना गरेका अवस्थाप्रति आमनागरिकको बितृष्णा रहेको पाइयो । वर्तमान सत्ता गठबन्धनले चलाइरहेको लुटतन्त्र, कुशासन र दिशाविहीनताका कारण आमनेपालीमा चरम असन्तुष्टि सृजना भएको देखियो । यदि वर्तमान सत्ता गठबन्धनले यस्तै धुन्धुकारी र जनविरोधी राज्यसत्ता सञ्चालनलाई निरन्तरता दिने हो भने नागरिकको सत्ताप्रतिको असन्तुष्टिलाई व्यवस्था विरोधीहरुले आफ्नो पक्षमा केन्द्रित गर्नसक्ने खतराका संकेतहरु भने देखिन थालेका छन् । एमालेका नेताहरुले जनताको सत्ता गठबन्धनप्रति रहेको नागरिकको असन्तुष्टिका बारेमा उनीहरुसँग नै अन्तरक्रिया गर्न पाए । त्यसले सत्ता गठबन्धनप्रतिको असन्तुष्टिलाई व्यवस्थाप्रतिको असन्तुष्टि हुनबाट कसरी बचाउने भन्नेमा एमाले नेतृत्वलाई अझ बढी जिम्मेवार बनाएको छ ।

एमालेको अभियानको दौरानमा एमालेका नेता स्थानीय वासिन्दाहरुको बीचको निकटतामा वृद्धि भएको छ । एमालेले अभियानको दौरानमा नापेको क्षेत्र भौगोलिक, आर्थिक, सामाजिक र विकासको दृष्टिकोणले पिछडिएका क्षेत्रहरु हुन् । त्यस क्षेत्रमा केन्द्रीय नेताहरुको उपस्थिति अत्यन्त कम हुने गर्छ । केन्द्रीय नेताहरुको उपस्थिति हुँदा पनि नेताहरु हेलिकप्टरबाट जाने, कार्यकर्ताको बीचमा घेरिने र सभा सकेर फर्कने प्रचलन रहेको छ । एमालेको यस अभियानमा एमालेको शीर्ष नेतृत्व सडक यात्रामा निस्कियो । आमनागरिकहरुले केन्द्रीय नेताहरुलाई भेट्ने, छुने, सम्मान गर्ने, स्थानीय परिकार खुवाउने, बास बसाउने, सांस्कृतिक कार्यक्रम देखाउने, नेतासँगै फोटो खिच्ने, सँगसँगै गीत गाउने र नाच्ने गर्न थाले । लोकतन्त्रमा नेतृत्व आमजनताको बीचमा रहन्छ । लोकतन्त्रको वास्तविक चरित्र एमालेको यो अभियानमा देखियो । यसले आमनागरिकहरुमा नेताहरु हाम्रो पहुँचभन्दा बाहिर छैनन् भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ ।

नेपालमा नेतृत्वलाई देवत्वकरण गर्ने प्रचलन स्थानीयस्तरमा अहिले पनि पाइन्छ । नेताहरुसँग फोटो र भिडिओ खिच्न लामबद्ध बालबालिका र युवायुवतीहरुको जमातले पनि नेताहरु आमनागरिक जस्तै भएको र उनीहरुसम्म आफ्नो पहुँच रहेको अनुभव गर्न पाएको छ । यो लोकतन्त्रको सुदृढीकरणको लागि अत्यन्त महत्वपूर्ण कुरा हो । एमालेको यस अभियानले आमनागरिकसँगको पहुँच वृद्धि गर्न अन्य पार्टी तथा नेताहरुलाई पनि प्रेरित गर्नेछ । हालैमात्र राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनदेखि बुटवलसम्मको सडक यात्रा गर्‍यो । यस्तै कार्यक्रम अन्य पार्टीहरुले पनि गर्ने अपेक्षा गर्न सकिन्छ । यसले पार्टी, नेतृत्व र आम नागरिकबीचको प्रत्यक्ष सम्बन्धले लोकतन्त्रलाई मजबुत बनाउने र व्यवस्था र नेतृत्वप्रति सृजना गरिएको अनावश्यक भ्रम हटाउन सहयोग मिल्नेछ ।

मूलधारका राजनैतिक दलहरुलाई समाजमा अब राजनैतिक अभियान सञ्चालन गर्न कठिन छ भन्ने भाष्य सृजना गरिएको थियो । तर, एमालेको यस अभियानले अझै पनि नेपालका हरेका क्षेत्रहरुमा एमालेका संगठनहरु क्रियाशील छन् र कुनै पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न सक्षम छन् भन्ने तथ्य पुनः प्रकाशमा ल्याएको छ । यसले नेपाली समाजमा एमालेको उपस्थिति उत्साहजनक छ भन्ने सन्देश दिएको छ ।

यस अभियानको दौरानमा एमालेको शीर्ष नेतृत्व र स्थानीय आम कार्यकर्ताबीच पहुँच र सम्बन्ध विस्तार भएको छ । एमालेको समग्र शीर्ष नेतृत्व अभियानमा सहभागी भयो । त्यस्तै प्रदेश, जिल्ला र स्थानीय तहका कार्यकर्ताहरु पनि अभियानमा सहभागी थिए । यसले विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको बीचको पहुँच विस्तार गर्नुका साथै सम्बन्ध पनि विस्तार गरेको छ । यसमा नेता तथा कार्यकर्ताले एक-अर्काका कुराहरु सुन्ने, भन्ने र सम्बन्ध विस्तार गर्ने कार्य भएको छ । यस अभियानको दौरानमा यस क्षेत्रको एमालेको संगठन पूर्ण रुपमा क्रियाशील भयो । यसले स्थानीय नेतृत्व, संगठन र पार्टी कमिटीहरुलाई परिचालन गर्ने र जीवन्तता दिने सफलता एमालेलाई प्राप्त भएको छ । अब यही क्रियाशीलताको आधारमा स्थानीयस्तरमा एमालेको नेतृत्व स्थापित हुँदै जानेछ ।

एमालेको यस अभियानको अर्को मुख्य उद्देश्य भनेको यस क्षेत्रमा बढिरहेको बसाइसराइको समस्याको कारण पहिचान गर्ने र त्यसको समाधानका उपायहरुको पहिचान गर्ने रहेको थियो । नेपालको मध्यपहाडी क्षेत्र आर्थिक र सामाजिक विकासको मेरुदण्ड हो । यो क्षेत्र प्राकृतिक स्रोत र साधनको हिसाबले अत्यन्त समृद्ध छ । त्यस्तै यहाँको जातीय, भाषिक र जैविक विविधताले प्रशस्त विकासका सम्भावनाहरु रहेका छन् । पर्यटकीय दृिष्टकोणको हिसाबले यो ठूलो सम्भावना भएको क्षेत्र हो । तर, भौगोलिक विकटता, विकासका पूर्वाधारको अभाव, शिक्षा, स्वास्थ्य, सञ्चार र रोजगारीका अवसरहरुको अभावको कारणले यस क्षेत्रबाट नागरिकहरुको बसाइसराइ तीव्र रुपमा बढ्दैछ । यस क्षेत्रका नागरिकहरु मुख्य रुपमा तराई, शहर, समतल भूमिहरु तथा विदेशमा बसाइ सर्दैछन् । यो बसाइसराइको कारणले यस क्षेत्रका कतिपय गाउँहरु मानवविहीन भूगोलमा रुपान्तरित हुँदैछन् । स्थानीयको अभावमा राज्यले यस क्षेत्रबाट लिन सक्ने लाभ पनि कमजोर बन्दै गएको छ । यसै समस्याको पहिचान गरी एमालेको सरकारले यस क्षेत्रमा पुष्पलाल लोकमार्ग र यसका सहायक मार्गहरुको निर्माण गर्ने र पूर्वाधारले सम्पन्न शहरहरु निर्माण गर्ने योजना अगाडि सारेर त्यसलाई कार्यान्वयन गरेको थियो । तर, एमाले सरकारबाट हटेपछि त्यस दिशामा विकासले तीव्रता पाउन सकेको छैन । जसको कारण स्थानीयस्तरमा निराशा बढ्दैछ, जसले बसाइसराइ बढाउँदैछ ।

नेकपा एमालेले अभियान सञ्चालन गरेको क्षेत्र आर्थिक दृष्टिकोणले अवसरहरुको खानी हो । यस क्षेत्रलाई आर्थिक दृष्टिकोणले सम्पन्न बनाउन सके मात्र समग्र नेपालको आर्थिक अवस्थामा सुधार आउनसक्छ । अभियानको दौरानमा एमालेका नेताहरुले स्थानीयस्तरमा रहेका विकासका सम्भावनाहरुको अवलोकन गर्ने अवसर प्राप्त गरे । यो क्षेत्र जलविद्युत, कृषि, पशुपालन, वन सम्पदा, जडिबुटी, पर्यटन आदि सम्भावनाले युक्त क्षेत्र हो । यहाँको जैविक विविधताले आर्थिक सम्मुन्नतिको ठूलो सम्भावनालाई संग्रह गरेर बसेको छ । त्यस्तै ऐतिहासिक रुपमा पनि यो क्षेत्र हजारौं वर्षदेखि मानिसहरुले आवाद गरेर जीवन निर्वाह गरेको क्षेत्र हो । यति सम्भावनायुक्त क्षेत्र पनि किन आज बसाइसराइको कारण उजाड बन्दैछ ? एमालेका नेताहरुले अभियानको दौरानमा खोजी गरेको मुख्य प्रश्न यही नै हो । यही प्रश्नमा केन्द्रित रहेर नेताहरुले स्थानीय नागरिक तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरे र उनीहरुका लिखित धारणा तथा मागहरु पनि संकलन गरे ।

सामान्य रुपमा हेर्दा भौगोगिक विकटता, पूर्वाधारको कमी, बजारको अभाव, कृषिमा यान्त्रीकरणको अभाव, प्राविधिक शिक्षाको कमी, दक्ष जनशक्तिको अभाव आदि नै यस क्षेत्रका स्रोत र साधनलाई अधिकतम रुपमा उपयोग गर्न नसक्नुका कारणको रुपमा देखिए । यस्ता समस्याको समाधान गर्न विगतमा पनि एमाले नेतृत्वको सरकारले यस क्षेत्रमा पूर्वाधारयुक्त शहरहरुको निर्माण, एकीकृत बस्ती निर्माणमा प्रोत्साहन, विद्युतीकरणमा तीव्रता तथा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण जस्ता विकासका कार्यहरु सञ्चालनमा ल्याएको थियो । तर, एमाले सरकारबाट हटेपछि ती विकास योजनाहरु अत्यन्त सुस्त गतिमा अगाडि बढ्दैछन् । जसको कारण त्यस क्षेत्रको निराशालाई रोक्न सकिएको छैन ।

वर्तमान सत्ता गठबन्धनले चलाइरहेको लुटतन्त्र, कुशासन र दिशाविहीनताका कारण आमनेपालीमा चरम असन्तुष्टि सृजना भएको देखियो । यदि वर्तमान सत्ता गठबन्धनले यस्तै धुन्धुकारी र जनविरोधी राज्यसत्ता सञ्चालनलाई निरन्तरता दिने हो भने नागरिकको सत्ताप्रतिको असन्तुष्टिलाई व्यवस्था विरोधीहरुले आफ्नो पक्षमा केन्द्रित गर्नसक्ने खतराका संकेतहरु भने देखिन थालेका छन् ।

यस क्षेत्रमा तत्काल पक्की सडक, विद्युत, खानेपानी, सिंचाइ, अस्पताल जस्ता आधारभूत विकासका पूर्वाधारहरुको तीव्रत्तर विस्तार गर्ने, प्राविधिक शिक्षालयको विस्तार, बीउबिजन केन्द्रहरु तथा चिस्यान केन्द्रहरुको स्थापना गर्ने, बजारमा सहज पहुँचको व्यवस्था गर्ने, जलविद्युत केन्द्रहरु स्थापना नभएका क्षेत्रहरुमा प्रशारण लाइन पुर्‍याउने र जलविद्युतका केन्द्रहरुको स्थापना गर्ने, पर्यटकको लागि चाहिने आवश्यक पूर्वाधारहरु स्थापना गर्ने, जडिबुटी प्रशोधन केन्द्रहरुको स्थापना गर्ने, कृषि तथा फलफूल उत्पादकहरुलाई प्रोत्साहनको व्यवस्था गर्ने, वन सम्पदाको उचित प्रयोगमार्फत स्थानीय जनजीविकालाई सुदृढ बनाउने दिशामा अगाडि बढ्ने हो भने विगतमा जस्तै यो क्षेत्र आवाद र जीवन्त रहने र त्यसले नेपालको समग्र आर्थिक विकासमा मेरुदण्डको रुपमा कार्य गर्ने सम्भावना पनि एमालेको अभियानको दौरानमा देखियो ।

समग्र नेपाल नै युवा पलायनको विकराल अवस्थाबाट गुज्रिरहेको छ । भर्खरै एमालेले अभियान सञ्चालन गरेको मध्यपहाडी क्षेत्रमा पनि यो समस्या भयावह अवस्थामा रहेको छ । युवाहरु गाउँ छाडेर मधेश, शहर तथा विदेशमा बसाइ सर्ने र पलायन हुने प्रवृत्ति बढ्दैछ । एमालेको शीर्ष नेतृत्वले त्यसको वास्तविक अवस्था पहिचान गर्ने अवसर प्राप्त गरेको छ । विकासका पूर्वाधारको अभाव, उपलब्ध स्रोत र साधनको परिचालनको अभाव, प्राविधिक शिक्षाको अभाव र रोजगारीका अवसरहरुको अभाव नै बसाइसराइ र युवा पलायनका मुख्य कारकको रुपमा देखिएका छन् । एमालेको नेतृत्वले अभियानका क्रममा प्राप्त सुझावहरु र आफूले अवलोकन गरेको परिस्थितिको संश्लेषण गरेर यस क्षेत्रमा देखिएको बसाइसराइ र युवा पलायनको कारण र समाधानको वैज्ञानिक दस्तावेजीकरण गर्नुपर्छ । त्यही दस्तावेजमा आधारित रहेर विकासको भावी मार्गचित्र तयार गर्नुपर्छ ।

नेकपा एमालेले अभियान सञ्चालन गरेको मध्यपहाडी क्षेत्र सामाजिक र सांस्कृतिक दृष्टिकोणले नेपालको आधारभूमि हो । यो क्षेत्र नेपाली भाषा र संस्कृतिको जननी क्षेत्र हो । हिमालमा बसोबासको अवस्था सृजना नहुँदै र तपाईंमा आवादको सुरुवात नहुँदै पनि यस क्षेत्रमा मानव बस्ती रहेको तथ्य विभिन्न प्राग ऐतिहासिक तथ्यहरुले उजागर गरेका छन् । नेपालका मुख्य मठमन्दिरहरु, थानहरु, धामहरु, मस्टोहरु, घाटहरु यसै क्षेत्रमा रहेका छन् । यो क्षेत्र मठमन्दिरको लागि मात्र होइन, पर्व, जात्रा र सांस्कृतिक महोत्सवको दृष्टिकोणले पनि महत्वपूर्ण छ । यस क्षेत्रमा जातीय तथा भाषिक विविधताहरु रहेका छन् । विभिन्न भेषभुषा, बाजागाजा, नृत्य आदिले यो क्षेत्रलाई जीवन्त बनाएका छन् । नेकपा एमालेको नेतृत्वले आफ्नो अभियानको दौरानमा यस क्षेत्रमा रहेका मुख्य देवस्थलहरुको जानकारी लिने अवसर प्राप्त गरे सँगसँगै यहाँको जातीय र भाषिक विविधतासँग पनि आफूलाई परिचित बनाउने अवसर प्राप्त गरे । स्थानीय रहनसहन, खानपिन, भेषभुषाको ग्रहण, लोक नृत्य र लोक संगीत प्रदर्शनीमा सहभागी हुने अवसर पनि नेतृत्वलाई प्राप्त भयो ।

यसरी नेपालको स्थानीयस्तरमा रहेको सामाजिक अवस्था र सांस्कृतिक सम्पदाहरुसँग पनि नेतृत्व परिचित हुने अवसर प्राप्त भयो । बसाइसराइ र युवा पलायनको कारणले सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रका विविध सांस्कृतिक सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन् । जात्रा, पर्व, नृत्य, संगीतलाई निरन्तरता दिने युवाहरुको अभाव हुन थालेको छ । मठमन्दिरको पुनर्निर्माण र मर्मतमा लाग्ने युवा शक्ति र आवश्यक स्रोत र साधनको अभाव हुँदै गएको छ । यो समस्या मध्यपहाडी क्षेत्रको मात्र होइन, समग्र नेपालको हो । नेपालका ग्रामीण इलाकाहरु संक्रमणको अवस्थाबाट गुज्रँदैछन् ।

कार्यक्रमको दौरानमा एमालेले स्थानीय मुद्दाहरुको संकलन गर्ने कार्य गरेको छ । आमनागरिक र स्थानीयस्तरमा कार्यरत नेता तथा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा ती मुद्दाहरु संकलन गरिएका हुन् । अभियानको दौरानमा संकलन गरिएका मुद्दाहरु ‘अर्गानिक’ र सान्दर्भिक मुद्दाहरु हुन् । अब पार्टीले ती मुद्दाहरुलाई लिपिबद्ध गर्नेछ । तिनै मुद्दाहरुको आधारमा आगामी राजनैतिक कार्यदिशा तय गर्नेछ र आफ्नो राजनैतिक संघर्षलाई दिशा प्रदान गर्नेछ । यसले एमालेलाई जनपक्षीय बनाउँदै लानेछ । सत्ता बाहिर हुँदा एमालेको प्रतिपक्षको भूमिका र सत्तामा हुँदा एमाले सरकारको प्रदर्शन जनपक्षीय, प्रगतिशील र सुदृढ हुनेछ । जनपक्षीय सान्दर्भिक मुद्दाहरुको उठानले एमाले पार्टीलाई जीवन्त बनाउँदै जानेछ । मूलधारमा राजनैतिक दलहरु राजनैतिक मुद्दामा कमजोर बने भन्ने भ्रम चिर्न पनि यस अभियानले सहयोग पु¥याएको छ ।

मध्यपहाडी क्षेत्र आर्थिक र सामाजिक विकासको मेरुदण्ड हो । यो क्षेत्र प्राकृतिक स्रोत र साधनको हिसाबले अत्यन्त समृद्ध छ । त्यस्तै यहाँको जातीय, भाषिक र जैविक विविधताले प्रशस्त विकासका सम्भावनाहरु रहेका छन् । पर्यटकीय दृिष्टकोणको हिसाबले यो ठूलो सम्भावना भएको क्षेत्र हो । तर, भौगोलिक विकटता, विकासका पूर्वाधारको अभाव, शिक्षा, स्वास्थ्य, सञ्चार र रोजगारीका अवसरहरुको अभावको कारणले यस क्षेत्रबाट नागरिकहरुको बसाइसराइ तीव्र रुपमा बढ्दैछ ।

एमालेको यस अभियानले नेपालको राजनीतिको मियोको रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुनःस्थापित गराउने परिस्थितिको सृजना हुँदै गएको छ । ओलीको स्वास्थ्य तथा राजनैतिक क्रियाशीलताको बारेमा विरोधीहरुले निरन्तर प्रश्न उठाउने गरेका थिए । तर, यस अभियानले नेपालको राजनीतिमा ओलीको नेतृत्वको सान्दर्भिकता पुनः पुष्टि गरेको छ । यो जाडो मौसममा १८ दिनको सडक यात्रा उहाँले सहज रुपमा पूरा गर्नुभयो । यसले उहाँ शारीरिक रुपमा नेतृत्व गर्न सक्षम हुनुहुन्छ भन्ने प्रमाणित गरेको छ । त्यस्तै उहाँले प्रत्येक दिन सभाहरुमा दिनुभएको राजनैतिक मन्तव्य र त्यो सुन्न लालायित जनताको संख्याले आमनागरिकको आशाको नेता ओली नै हो भन्ने प्रमाणित गरेको छ । आमनागरिकसँग उहाँले गरेका अन्तरक्रिया, उठबस, नाचगान आदिले उहाँलाई जनताको बीचमा बसेर कार्य गर्न रुचाउने नेताको रुपमा स्थापित गरेको छ । उहासँग फोटो तथा भिडिओ लिन उत्सुक बालबालिका तथा युवायुवतीको संख्याले ओलीको ‘क्रेज’ आमनागरिकसँगै युवाहरुमा अझ बढी रहेको देखियो । यसले नेपालको राजनीतिमा ओलीको नेतृत्वको सान्दर्भिकता कमजोर हुँदैछ भन्ने भ्रामक भाष्यलाई गलत प्रमाणित गरेको छ ।

विकासको दृष्टिकोण र मार्गचित्र निर्माणमा राजनैतिक नेतृत्वको अग्रसरता हुनुपर्ने हो । राजनैतिक नेतृत्वले तय गरेको विकासको अवधारणा, दृष्टिकोण र मार्गचित्रमा कर्मचारीतन्त्रले कार्य गर्नुपर्ने हो । तर, अहिले विकास अवधारणाको निर्माणमा कर्मचारीतन्त्र हावी भएको छ । जसको कारण नेपालको विकास अवधारणा अत्यन्त अदूरदर्शी, आयातित, अस्थायी, स्थानीय आवश्यकताबोध गर्न असफल हुँदै जान थालेका छन् । विकासका अवधारणालाई जीवन्त, सान्दर्भिक, दिगो र स्थायी बनाउन त्यसमा राजनैतिक नेतृत्वको पहलकदमी र नेतृत्व अपरिहार्य छ । पहिल्लो चरणमा नेपालमा विकास कार्यदिशा तय गर्ने कार्यमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र विषयगत मन्त्रालयको मात्र भूमिका रहेको देखिन्छ । राजनैतिक दलहरुको नेतृत्व आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पारिदेउ भन्दै यिनै निकायहरुमा विन्ती बिसाउँदै गरेको देखिन्छ । राजनैतिक दलहरुमा पनि आफूले अंगीकार गरेको विकासको अवधारणामा कन्फिडेन्स रहेको पाइँदैन । जसको कारण विकासमा कर्मचारीतन्त्र हावी हुँदै गएको छ । जसको कारण नेपालमा लागू गरिएका विकासका अवधारणाले अपेक्षित लाभ दिन सकेका छैनन् र विकासका पूर्वाधार बन्ने प्रक्रिया पनि अत्यन्त ढिला हुने गरेको छ ।

एमालेको नेतृत्वले नेपालमा स्थानीय रुपमा रहेका आर्थिक विकासका स्रोतहरु र ती स्रोतहरुलाई परिचालन गर्नु पनि उपायहरुको बारेमा प्रत्यक्ष ज्ञान हासिल गरेको छ । प्राप्त ज्ञानलाई एमालेले समग्र नेपालको विकासको मार्गचित्र तय गर्न प्रयोग गर्नुपर्नेछ । राजनैतिक नेतृत्वको अग्रसरतामा सृजना हुने नेपालको विकासको उक्त दस्तावेजले समग्र नेपालको विकासको दिशालाई तय गर्ने नै छ, सँगसँगै अन्य राजनैतिक दलहरु तथा कर्मचारीतन्त्रलाई पनि नेपालले अंगीकार गर्ने विकासको बारेमा दिशा निर्देश गर्नेछ । त्यसको लागि एमालेको नेतृत्वले आफूले देखेको परिस्थिति, आमनागरिक तथा कार्यकर्तासँगको अन्तरक्रियामा प्राप्त सुझाव तथा संकलन गरिएका लिखित सुझावलाई निश्चित प्राविधिक ढाँचामा तयार गरेर सार्वजनिक गर्नुपर्छ । त्यसलाई पूर्णता दिनुपूर्व नेतृत्वले विज्ञहरु, कर्मचारीहरु, सरोवारवालाहरु तथा स्थानीय नेतृत्वसँग आवश्यक अन्तरक्रिया गर्नसक्छ । यसरी तयार गरिएको दस्तावेजले विकासको राष्ट्रिय अवधारणा निर्माण गर्न सहयोग पुर्‍याउने छ ।

विकास र समृद्धिमार्फत नै उजाड बन्दै गएका नेपाली बस्तीहरुमा फेरि जीवन्तता सृजना गर्न सकिन्छ । नेकपा एमाले नेपालको प्रमुख राजनैतिक शक्ति हो । यस दलले जनस्तरबाट प्राप्त सुझावलाई संश्लेषण गरेर विकासको आगामी मार्गचित्र प्रकाशित गर्ने नै छ, सँगसँगै विकासको त्यो लक्ष्य प्राप्त गर्न आवश्यक राजनैतिक नेतृत्व पनि लिनेछ । एमालेको शासनकालमा नै नेपालले विकासको दृष्टिकोणले फड्को मार्दै आएको छ । आगामी दिनमा पनि एमालेले निर्माण गरेको विकासको दिशामा राज्यसत्तालाई अगाडि बढाउन आफू प्रतिपक्षमा भएको बेला सदन र सडकमार्फत र आफू सरकारमा भएको बेला सरकारमार्फत जनजीवनमा सकारात्मक प्रभाव पार्ने गरी विकास र समृद्धिका लागि पहलकदमी लिनुपर्छ ।

यसरी नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट चिवा भञ्ज्याङ अभियानले नेपालको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षमा अत्यन्त सकारात्मक सन्देश प्रवाह गरेको छ । यस क्षेत्रको विकासमा एमालेले ठोस दृष्टिकोण र पहलकदमी लिनेछ भन्ने आशाको सञ्चार गरेको छ ।

(बडाल नेकपा एमाले समर्थित अनेरास्ववियुका अध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *