मैनहिया-सम्पत्तिया अन्तरदेशीय प्रसारण लाइन शुरु, २०० मेगावाटसम्म विद्युत खरिद-बिक्री गर्न सकिने – Nepal Press

मैनहिया-सम्पत्तिया अन्तरदेशीय प्रसारण लाइन शुरु, २०० मेगावाटसम्म विद्युत खरिद-बिक्री गर्न सकिने

रुपन्देही । रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन बिहीबार शुभारम्भ गरिएको छ । बिहीबार नेपाल तथा भारतका विदेशमन्त्रीले यसको भर्चुअल माध्यमबाट औपचारिक शुभारम्भ गरेका हुन् ।

मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी प्रसारण लाइन चार्ज गरी सफल परीक्षणसमेत गरिएको छ । परीक्षण सफल भएसँगै अब यो प्रसारण लाइनबाट भारतमा विद्युत निर्यात गर्ने बाटो खुलेको आयोजनाका प्रमुख हरिप्रसाद भण्डारीले बताए ।

भारतको ठूलो राज्य उत्तर प्रदेशसँग पहिलो तथा छोटो १३२ केभीको लाइन रहेकोले यो लाइनबाट नेपालले अधिकतम विद्युत निर्यात गर्न सक्ने उनले बताए ।

यो प्रसारण लाइनका लागि आवश्यक पर्ने सबस्टेसनसमेत सियारी गाउँपालिकाको मैनहियामा निर्माण गरिएको छ । यहाँ निर्माण भएको सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनवा) सबस्टेसन जोडेर प्रसारण लाइन बनाइएको हो ।

मुलुकमा उत्पादित विद्युत भारत निर्यात गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण गरिएको हो ।

‘भारतसँग विद्युत व्यापारका लागि महत्वपूर्ण मानिएको यो प्रसारण लाइन तयार भएर सफल परीक्षण भएको छ’, पाण्डेले भने ।

मुआब्जा र क्षतिपूर्तिसहित १ अर्ब २५ करोड रुपैयाँ लागतको यो आयोजनाबाट २०० मेगावाटसम्म विद्युत खरिद-बिक्री गर्न सकिने उनले जानकारी दिए ।

अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण लाइनको संरचना छ । मैनहिया-सम्पत्तिया प्रसारण लाइन तयार भएपछि नेपाल-भारतबीचको अन्तरदेशीय विद्युत व्यापार थप सहज हुनेछ । २८.५ किलोमिटर लामो आयोजनामा ९५ वटा टावर निर्माण गरिएको छ ।

‘यो आयोजनाअन्तर्गत नेपालतर्फ २८ किलोमिटर लाइन निर्माण गरिएको छ । बाँकी ५०० मिटर भारततर्फ पर्छ । नेपालतर्फको लाइन ६ महिनाअघि नै चार्ज गरिएको थियो, भारतसँग जोडेर पुस १७ गतेमात्रै चार्ज भयो’, उनले भने ।

मैनहिया सबस्टेसनबाट सुरु प्रसारण लाइन भारतसँगको सीमा बिन्दु मर्चवार (श्रीरामपुर)सम्म निर्माण भएको छ ।

नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौं बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनवा-मैनहिया लाइन निर्माण गर्ने सहमति गरेको थियो ।

यसपछि २०७६ कात्तिकमा भारतको बैङ्लोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू-नौतनवा (सम्पत्तिया, भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

२०७६ मा निर्माण भएर २०७९ मा तयार भएको यो आयोजना ४ महिनाअघि सञ्चालनमा आए पनि यसको औपचारिक शुरुवात बिहीबार गरिएको हो । आयोजनाले जग्गाको मुआब्जा दिए पनि क्षतिपूर्तिको काम अझै बाँकी रहेको आयोजनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर