सेनाले पुनर्निर्माण गरेको जितगढी किल्ला हस्तान्तरण गर्न बुटवल आउँदै राष्ट्रपति – Nepal Press

सेनाले पुनर्निर्माण गरेको जितगढी किल्ला हस्तान्तरण गर्न बुटवल आउँदै राष्ट्रपति

रुपन्देही । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउने भएका छन् । बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण र मुक्तिनाथ धामको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल बुटवल आउन लागेका हुन् ।

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्नेछन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्लाको पुनर्निर्माण तथा संरक्षणमा नेपाली सेनाको गरुड दल गण परिचालन भएको थियो । हस्तान्तरणपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउनेछ ।

हस्तान्तरण कार्यक्रमको सबै तयारी पूरा भएको बुटवल उपमहानगरका मेयर पाण्डेयले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

हस्तान्तरणपछि किल्लामा बुटवल उपमहानगरले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने मेयर पाण्डेयले बताए ।

‘हामी मातहतमा आएपछि किल्लाको संरक्षणका साथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल-अंग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौं’, उनले भने, ‘यहाँ युद्ध संग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।’

किल्ला क्षेत्रमा नेपाली सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्न आवश्यक काम पूरा गरेको नेपाली सेना गरुड दल गणका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिए ।

यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ। जितगढीमा विसं १८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *