कोशी प्रदेशको बेरुजु यस वर्षमात्रै १ अर्ब ६४ करोड, मुख्यमन्त्री भन्छन्- वित्तीय अनुशासन कायम गर्न ढुङ्गाको मुटु बनाएको छु – Nepal Press

कोशी प्रदेशको बेरुजु यस वर्षमात्रै १ अर्ब ६४ करोड, मुख्यमन्त्री भन्छन्- वित्तीय अनुशासन कायम गर्न ढुङ्गाको मुटु बनाएको छु

विराटनगर । यस आर्थिक वर्षमा कोशी प्रदेश सरकारको बेरुजु १ अर्ब ६४ करोड ६३ लाख १२ हजार रुपैयाँ देखिएको छ ।

कोशी प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले बिहीबार आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्योट तथा सम्परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

उनका अनुसार कुल बेरुजुमा असुल गर्नुपर्ने २० र नियमित गर्नुपर्ने ७२ प्रतिशत छ । यसमा पनि प्रमाण कागजात पेस गर्नुपर्ने बेरुजु ४६ प्रतिशत रहेको छ ।

प्रदेश लेखा नियन्त्रक खत्रीले कोशीमा लेखापरीक्षक कार्यालय मातहत कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नहुँदा समस्या भएको बताए । अहिले २२१ कर्मचारीको दरबन्दीमा ८० जना रिक्त रहेको उनको भनाइ छ ।

‘बेरुजु जुन शाखाको काममा भएको छ, त्यसले फर्छ्योट गर्नुपर्ने हुन्छ, यहाँ त बेरुजु आएपछि लेखालाई मात्रै जिम्मेवार बनाइन्छ’, लेखा नियन्त्रक खत्रीले भने, ‘बेरुजु फर्छ्योटमा जुनसुकै कार्यालयको सबै जिम्मेवार शाखाले आआफ्ना दायित्व निर्वाह गर्नुपर्छ ।’

कार्यक्रममा कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा देखिएको बेरुजु कसैले खाएर भागेको नभई बेवास्ता गरेर भएको बताए । उनले नियम-कानून मानेर काम नगर्ने हो भने वित्तीय अनुशासन कायम नहुने बताए ।

‘प्रदेशमा वित्तीय अनुशासन कायम गर्न ढुङ्गाको मुटु बनाएको छु । सबैले यसरी नै काम गर्नुको विकल्प छैन’, मुख्यमन्त्री कार्कीले भने, ‘ऋण मुक्त प्रदेश बनाउन हिम्मतका साथ प्रदेशको नेतृत्व लिएको छु । वित्तीय उत्तरदायित्व निर्वाह गर्ने गरी काम गर्न हरेक मन्त्रालयमा निर्देशन दिएको छु । यो विषयमा कसैले कुनै प्रश्न उठाएर कुनै किसिमको बहानाबाजी गर्ने छुट पाउँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *