बरहथवामा मेयरविरुद्ध उत्तेजक आन्दोलन, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु
शव आन्दोलनकारीको नियन्त्रणमा
जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि अवस्था तनावग्रस्त बनेको छ ।
बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर शाहको मृत्यु भएको बताइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘मृतक अहिले आन्दोलनकारीकै नियन्त्रणमा छ । गोली लागेरै मृत्यु भएको पनि अहिले भन्न सक्दिनँ ।’
उनका अनुसार आन्दोलनकारीले नगरप्रमुखको घरमा तोडफोड र एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् । अहिले त्यहांको अबस्था तनावग्रस्त छ । प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।