माओवादीमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउन विधान मस्यौदा समितिको प्रस्ताव – Nepal Press

माओवादीमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउन विधान मस्यौदा समितिको प्रस्ताव

प्रदेश, जिल्ला र पालिकालाई अधिकार सम्पन्न बनाउन सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान मस्यौदा समितिले मस्यौदा निर्माणको कामलाई अन्मित चरणमा पुर्‍याएको छ । मस्यौदालाई अन्तिम रुप दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी गरेको हो ।

सचिव तथा मस्यौदा समितिका सदस्य गणेश शाहले मस्यौदा समितिले पार्टी अध्यक्षलाई भोलि नभए आइतबारसम्ममा प्रतिवेदन बुझाउने बताए ।

उनले भने, ‘हामीले समितिमा छलफल गरिसकेका छौं । आजै वा भोलि बिहानसम्म महासचिवज्यूले त्यसलाई मूर्त रुप दिनुहुन्छ । हामीले अध्यक्षज्यूलाई बुझाउन समय मागेका छौं । भोलि या पर्सिसम्ममा हामीले बुझाएपछि छलफलको लागि पार्टी कमिटीमा जान्छ ।’

अर्का एक सदस्यका अनुसार पार्टी कमिटीलाई अहिले जस्तो भद्दा नबनाउन भन्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको छ ।

ती सदस्यले भने, ‘हामीले संगठनलाई सानो बनाउने केन्द्रीय समिति पोलिटब्युरो, स्थायी कमिटी सबैलाई अहिलेको जस्तो ठूलो नबनाउने सुझाव दिएका छौं । प्रदेश, जिल्ला र पालिकालाई अधिकार सम्पन्न गराउनुपर्छ भन्ने हाम्रो सुझाव छ ।’

पदाधिकारी र स्थायी कमिटीकाे आकार केन्द्रीय सदस्यहरुको अनुपातले नियमावलीमा तोकिने ती नेताले बताए । माओवादीले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने गरी मस्यौदा समिति गठन गरेको थियो ।

माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ रहेका छन् । केन्द्रीय कमिटीबारे प्रश्न उठेपछि विधान समितिले व्यवस्थित बनाउने गरी मस्यौदा तयार पारेको हो ।
समितिले तयार पारेको मस्यौदालाई जिल्ला तहमा एक महिनासम्म छलफल गरेर फागुनमा हुने सम्मेलनबाट पूर्णता दिने माओवादीको तयारी छ ।

उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित समितिमा महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल, सचिवद्वय गणेश साह र राम कार्की छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर