जितगढी राष्ट्रिय स्वाभीमान र पहिचानको महत्वपूर्ण स्थल हो : राष्ट्रपति पौडेल
रूपन्देही । राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा विकास गरी यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताएका छन् ।
ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान दिने बताए ।
उनले जितगढी राष्ट्रिय स्वाभीमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले जितगढी किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कूटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताए ।
‘आगामी दिनमा यस किल्लालाई नेपाल-अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवर्द्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु’, उनले भने ।
सो अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वाभीमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा गरे । उनले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि स्पष्ट पारे ।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्नुपर्ने बताए ।
संघ सरकारले आवश्यक कानून र अधिकार प्रदेशलाई नदिँदा समस्या भइरहेको गुनासो गर्दै मुख्यमन्त्री चौधरीले सघीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि संघ सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गरे ।
बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूर्णकदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्न संघ सरकारसँग माग गरे ।
उनले यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनर्निर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनु राष्ट्रपतिसमक्ष आग्रह गरे ।
बुटवलकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता, स्वाभीमान र अवसरसहितको बस्नयोग्य शहर’ बनाउने दीर्घकालीन सोचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताइन् ।
इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने र इतिहासको संरक्षणमा समेत विशेष चासो दिनुपर्ने बताए ।
बुटवल उपमहानगरको वडा नं १ मा पर्ने जितगढीमा विसं. १८७२ बैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । सोही दिनमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सवका मनाउँदै आएको छ ।