बुढासुब्बाले यसरी पाएको थियो सन्ध्या आरतीको प्रसारण अधिकार, भाइरल सूचना ‘भारतीय लक्षित’
बुढासुब्बाका सञ्चालक नवराज गिरी भन्छन्- घरजग्गा धितो राखेर १ करोड १४ लाख बैंक ग्यारेन्टी कोषलाई बुझाएको छु


काठमाडौं । पशुपतिनाथ मन्दिरभित्र दैनिक हुने सन्ध्या आरतीलाई डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने विषयमा ६ महिना अगाडि भएको सम्झौता अहिले चर्चामा आएको छ । बुढासुब्बा डिजिटलले गत जेठमा नै टेन्डर प्रक्रियाबाट सन्ध्या आरतीको प्रत्यक्ष प्रशारण अधिकार हासिल गरेको थियो ।
सम्झौतापश्चात पशुपति मन्दिर परिसरमा राखिएको एउटा सूचना बोर्डको तस्बिर सामाजिक सञ्जालमा कसैले पोस्ट गरेपछि हिजो एकाएक भाइरल भएको हो ।
सूचना बोर्डमा ‘पशुपतिनाथ आर्यघाट क्षेत्रको नदी किनारामा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न मनाही गरिएको छ । यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्यूवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तरगत कारवाही हुने जानकारी गराउँछौं’, सूचनामा भनिएको छ ।
सूचनाको मुनि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटलका लोगोसहित ‘पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्बा डिजिटल प्रालि’ लेखिएको छ ।
धेरैले यसलाई आपत्तिजनक मानिरहेका छन् । पशुपतिजस्तो धार्मिक स्थलको व्यापारीकरण गरिएको भन्दै आलोचना भएपछि कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले आज ‘अत्यन्त जरुरी सूचना’ निकालेर टक्टकिन खोजेकी छन् ।
उनको सूचनामा भनिएको छ, ‘कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँछौं ।’
यो सूचना निकालेर कोषले पानीमाथिको ओभानो बन्न सक्ने ठाउँ भने छैन । किनकी बुढासुब्बा डिजिटललाई पशुपति मन्दिरमा हुने सन्ध्या आरतीको डिजिटल माध्यमबाट प्रशारण गर्ने एकाधिकार सम्झौता गरेरै दिएको हो ।
एउटा कम्पनीलाई प्रसारण अधिकार दिइएको इभेन्टमा अरु कसैलाई फोटो/भिडियो खिच्न दिइँदैन । उदाहरणका लागि कुनै खेलको प्रसारण अधिकार एउटा टेलिभिजनले खरिद गर्यो भने अरुलाई त्यहाँ भिडियो खिचेर आफूखुशी प्रसारण गर्न रोक लगाइन्छ ।
पशुपति विकास कोषले प्रशारण अधिकार बिक्री गरेवापत बुढासुब्बासँग प्रत्येक महिना एक लाख ६० हजार रुपैयाँ असुलिरहेको छ । यो मात्र नभएर बुढासुब्बाका सञ्चालक नवराज गिरीले सम्झौता अगाडि नै १ करोड १३ लाख ९० हजार ४०० रुपैयाँको बैंक ग्यारेन्टी कोषमा बुझाएका छन् ।
गएको जेठमा कोष र बुढासुब्बाबीच सम्झौतामा हस्ताक्षर भएको थियो । त्यस बमोजिम बुढासुब्बाले आफ्नो फेसबुक तथा युट्यूव पेजमा सन्ध्या आरतीको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । यद्यपि, यसबाट उसले कुनै मुनाफा कमाउन भने सकेको छैन ।
टेन्डर प्रक्रियाबाट पाएको थियो प्रसारण अधिकार
मन्दिर भित्रको पूजा र आरतीको विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने अभ्यास भारतमा छ । त्यहाँका प्रख्यात मन्दिरहरुमा भक्तजनहरुलाई मोबाइलसमेत लैजान अनुमति दिईंदैन । त्यसैको सिको गरेर पशुपति क्षेत्र विकास कोषले पनि लोकप्रिय सन्ध्या आरतीको ‘व्यवसायीकरण’ गर्ने अवधारणा अघि सारेको थियो ।
प्रत्यक्ष प्रशारण सम्बन्धी प्राविधिक अवधारणा पत्रमा भनिएको छ, ‘पशुपति मन्दिरभित्र फोटो/भिडियो सुट स्टल’ जडान गर्नु उचित देखिन्छ किनभने यसबाट विश्वव्यापीरुपमा मन्दिरको ख्याति र महत्व उजागर हुन सक्छ ।’
यो परियोजनाको उद्देश्यमा विभिन्न बुँदाहरु उल्लेख गरिएको छ । जसमध्ये पाचौं बुँदामा भनिएको छ, ‘बागमती पारिपट्टि हुने बागमती आरती संस्थासँग कोषले सहकार्य गरी दैनिकरुपमा हुने आरतीको कार्यक्रमलाई अझ व्यवस्थित र देश विदेशमा रहेका भक्तजनहरुको सहज पहुँच पुर्याउने, त्यसका लागि लागि कोष र बाग्मती गंगा आरती सञ्चालन गर्ने संस्थासँग सम्झौता गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ । उक्त आरतीलाई डिजिटल सञ्चारको माध्यमबाट प्रत्यक्ष प्रसारण गराउनुपर्ने अनलाइन आरतीको लागि तेस्रो पक्षलाई बोलपत्रको माध्यमबाट कार्यगर्न दिन सकिने । आरतीमा हुने कार्यक्रम पश्चात सेवाग्राहीलाई भिडिओ उपलब्ध गराउने, युट्यूब लगायतका अन्य सामाजिक सञ्जालमार्फत सञ्चार प्रविधिको प्रयोग गरी प्रचारप्रसार गर्ने ।’
यही अवधारणा बमोजिम गत वर्ष ११ फागुन ३ गते पहिलोपटक कोषले यसका लागि बोलपत्र आह्वान गर्यो । उक्त बोलपत्रमा प्रतिस्पर्धामा आउने कम्पनीले दुईवटा कार्य गर्नुपर्ने उल्लेख छ । पहिलो कार्यमा भनिएको छ- पशुपति क्षेत्रको घाट, ब्युटीपुल, गोरखनाथ विश्वरुपा र गुह्यश्वरी क्षेत्रको निषेधित स्थान बाहेकको स्थानका लागि स्थिर छायाँचित्र खिच्ने ।
दोस्रो कार्यमा भनिएको छ- पशुपति मन्दिरको कोर एरियालगायत बागमती नदीको पूर्वी किनारामा डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने ।
यो बोलपत्रमा दरखास्त दिनेमध्ये बुढासुब्बालाई छनोट गरियो । बुढासुब्बाले मासिक १ लाख ६० हजार रुपैयाँ दिने कबोल गरेको थियो । कोषले गत जेठ २२ गते सूचना निकालेर बुढासुब्बा छनोट भएको सार्वजनिक जानकारी गरायो ।
हेर्नुस् दुवै सूचना
सोही महिनाको २९ गते बुढासुब्बालाई कोषको सञ्चालक परिषदले पत्र पठाएर सम्झौता गर्न आउन भनेको थियो ।
हेर्नुस् पत्र
उक्त पत्रमा पशुपतिनाथ मन्दिरको कोर एरिया लगायत बागमती नदीको पूर्वी किनाराबाट डिजिटल माध्यममा प्रत्यक्ष प्रशारणका लागि बुढासुब्बाको दरखास्त स्वीकृत भएकाले कार्यसम्पादन जमानत वापत १,१३,९०,४०० रुपैयाँ नेपाल सरकारको इजाजत प्राप्त क बर्गको वाणिज्य बैंकबाट कोषका नाममा जारी गरेको ६३ महिना म्याद भएको सक्कल बैंक जमानतपत्र ककोषको धरौटी खातामा नगद जम्मा गरेको सक्कल बैंक भौचरसहित सम्झौताका लागि आउन भनियो । त्यसै बमोजिम बुढासुब्बाका सञ्चालक गिरीले तोकिएको रकमको बैंक ग्यारेन्टी जम्मा गरेपछि दुई पक्षबीच सम्झौता भएको हो ।
नेपाल प्रेससँगको कुराकानीमा गिरीले आफ्नो कम्पनीबाट अवैधरुपमा कुनै पनि काम नभएको बताए । भारतका मन्दीरमा कायम रहेको अभ्यासलाई हेरेर पशुपति मन्दीरको आरती प्रत्यक्ष प्रसारण गर्ने सोच आएको उनको भनाइ छ ।
‘हामीले व्यवसायको हिसाबले भन्दा पनि पशुपति मन्दिरको महत्व र ख्याति विश्वभर फैलाउन योगदान गरौं भन्ने पवित्र उद्देश्य लिएका हौं’, गिरीले भने, ‘व्यवसायको कुरा गर्नु हुन्छ भने त अहिलेसम्म यसबाट उल्लेख्य आम्दानी भएकै छैन । कोषलाई मासिक १ लाख ६० हजार पनि आफ्नो खल्तिबाट बुझाइरहेको छु ।’
पशुपति मन्दिरजस्तो धार्मिक स्थलमा पनि कपिराइट लाग्ने सूचना किन टाँस्यो त बुढासुब्बाले ?
गिरीले यो सूचना आम भक्तजनका लागि नभएर भारतीयहरु लक्ष्यित रहेको बताए ।
उनी भन्छन्, ‘हामीले पशुपति मन्दिरमा हुने आरती र भजनको फुटेजहरु युट्यूवमा राख्दा भारतीयले कपिराइट लगाइदिन्छन् । उनीहरुले लुकेर पशुपति भित्रको कोर एरियाभित्रको फोटो र भिडियो मोबाइलबाट खिच्ने र नेपालभित्र नदेखिने गरी युट्यूवमा हाल्दा रहेछन् । त्यसले गर्दा हाम्रो सम्पदामा भारतीयले कपिराइट पाइरहेको जस्तो स्थिति भयो । त्यसैले उनीहरुलाई यसरी फोटो/भिडिओ खिच्नको नदिनका लागि कोषसँग भएको सम्झौताकै मर्ममा टेकेर सूचना राखेका हौं । हामीले अहिलेसम्म त्यहाँ कसैलाई कुनै पनि खाले अवरोध गरेका छैनौं ।’
गिरीका अनुसार यस्तो खाले सूचना भर्खर राखिएको पनि होइन । हलहरुमा पछिल्लो समय लागेका थुप्रै सिनेमा तथा बुढासुब्बाका भिडिओहरुभित्र यो सूचना समावेश रहेको उनले बताए । ‘पशुपति मन्दिरमा राखेको पनि ३-४ महिना भइसक्यो, अहिले आएर अनाहकमा गाली खाइरहेको छु’, उनले भने ।
यदि विकास कोषले आफ्नो कम्पनीलाई दोषरोपण गरेको खण्डमा सम्झौता सार्वजनिक गर्न तयार रहेको पनि गिरीको भनाइ छ ।