काेरिया जान युवाहरुको लर्को, उताकाे परिस्थिति अर्काे
काठमाडौं । दोलखाका राम खड्काले सन् २०११ मा ईपीएस पास गरेका थिए । तर, सन् २०१३ मा मात्रै कोरिया जान पाए । सन् २०१८ मा नेपाल फिरे । खड्का चार वर्ष १० महिना श्रम गरेर कोरियाबाट फर्किएका थिए । कोरियामा एउटा कम्पनी छाडेर अर्कोमा काम गर्छु भन्दा स्वीकृति नपाएको र आधा महिनासम्म कामै नगरी बसेको तीतो अनुभव बोकेर खड्का नेपाल फर्किएका थिए ।
सन् २०११ मा ईपीएस कोरिया शाखाले भाषा परीक्षामा १५ हजारलाई पास गरेको थियो । जबकि कोरियाले मागेको कामदार संख्या ७ हजारमात्रै थियो । अनि ७ हजारले कोरिया जान पाए पनि ८ हजार युवा अन्योलमा परेका थिए । त्यसमध्ये केही हजार दुई वर्षपछि मात्रै कोरिया जान पाएका थिए । बाँकी तीन हजारभन्दा बढी युवा भाषा परीक्षा पास भएर पनि कोरिया जान पाएनन् ।
खड्का भन्छन्, ‘हामीले अहिले भएको बालकुमारी घटना सन् २०११ मै देखेका हौं । बस त्यसमा कसैको मुत्यु भने भएन । हामीले पनि र्ईपीएसविरुद्ध आन्दोलन नै गरेका थियौं । भाषा परीक्षा पास गरेको लामो समयपछि पनि कोरिया जान नपाउँदा हामीले त्यतिबेला केपी ओलीदेखि शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराईसम्मका थुप्रै नेताहरुलाई ज्ञापनपत्र बुझाएका थियौं । बल्ल सन् २०१३ मा मलगायत केही साथीहरु कोरिया गएका थियौं ।’
कोरियामा नेपाली मजदुरहरुलाई कन्टेनरमा राखेर काममा लगाएको पनि खड्काले देखेका छन् । उनका अनुसार कोरिया भन्नासाथ सुने जस्तो केही हुँदैन । श्रमिक कस्तो कम्पनीमा पर्छ, त्यसले निर्क्योल गर्छ । कम्पनी ठूलो छ भने खान, बस्नदेखि कमाइसम्म राम्रै हुन्छ । यदि कम्पनी सानो र नराम्रो छ भने कामदारले निकै सास्ती व्यहोर्नुपर्छ ।
खड्का सुनाउँछन्, ‘मैले काम गरेको दुई वर्षपछि कम्पनी छोड्छु भन्दा आधा महिनासम्म रोकेर राख्यो । काम नै नगरी बसियो । प्रजातान्त्रिक राष्ट्र कोरियासँग श्रमिककै हातमा पासपोर्ट हुन्छ । तर, कम्पनी छोड्नुपर्दा अनुमति लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा तलबै रोक्नेदेखि काममा धेरै पेलाउनेसम्म गर्छन् ।’
खड्का ‘टेक्सटायल्स’ नामक कपडामा रंग भर्ने कम्पनीमा थिए । खड्का दिनमा ११ र रातमा १३ घण्टासम्म काम गर्थे । जिन्दगीमा यतिको कडा काम उनले सायदै गरेका थिए । त्यसैले एक महिना नहुँदै घर फर्कने स्थितिमा पुगेको उनी बताउँछन् ।
कोरियामा त्यहाँका वृद्धहरुसँग पनि काम गर्नुपर्छ । कामको चाप उस्तै हुन्छ । भाषाको अर्को समस्या हुन्छ । भाषाकै कारण निर्देशनहरु नबुझ्दा गाली खानु नौलो कुरा हुँदैन । खड्का भन्छन्, ‘कतिपय कम्पनीमा त कुटपिटका घटना पनि आइरहेका हुन्छन् । कतिपय अवस्थामा मानिसहरु आत्महत्या गर्ने र डिप्रेसनमा जाने हुन्छ । कामको चाप र भाषाको समस्याले पनि यस्तो अवस्था आउँछ ।’
चार वर्ष पहिले कञ्चनपुरका महेश भट्ट दक्षिण कोरियाको ग्याङगु शहरमा कामदारको रुपमा पुगेका थिए । भट्टको पनि कोरिया अनुभव त्यति मीठो छैन ।
भट्ट सुनाउँछन्, ‘जिन्दगीमा कहिल्यै नदेखेका ठूला मेसिनहरु देखेर कोरियामा काम सुरु गरिएको थियो । भन्नलाई त पैसाको बिटो नै झर्छ भन्छन् । तर, त्यस पैसाको बिटोका लागि कस्तो जोखिमसँग जुध्नुपर्छ, त्यो कुरा कसले बुझिदिने ?’
भट्ट अब नेपाल फर्कन ६ महिनामात्रै बाँकी छ । उनी नेपाल फर्केपछि कोरिया पुनः नजाने सोचमा छन् । भट्ट भन्छन्, ‘जति दुःख गर्नु थियोे, गरियो । अब फेरि गइन्न । कहिल्यै नभोगेको दुःख भोगियो ।’
लाखौं आवेदनको अन्तर्य
नेपाली युवाहरुका लागि दक्षिण कोरिया जान दिनरात घुँडा धसेर लोकसेवा जसरी कोरियन भाषाको जाँच दिन्छन् । १५ हजारको कोटामा झण्डै दुई लाख युवा भिड्छन् । आखिर कोरियामा त्यस्तो के छ ?
ईपीएस शाखा कोरियाको तथ्यांकले भन्छ, सन् २००८ देखि २०२३ सम्म नेपालबाट एक लाख एक हजार ७७३ नेपाली युवा श्रमका लागि कोरिया गएका छन् । गत मंंसिरमा खुलेको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको १५ हजार कोटामा करिब डेढ लाख बढी युवाले आवेदन भरिसकेका छन् ।
यति धेरै आकर्षणको जड भनेको कोरियामा हुने कमाइ नै हो । नेपाली श्रमिकहरुले मासिक २ देखि ६ लाख रुपैयाँसम्म कमाउन सक्छन् । तर, आकर्षक कमाइको बावजुद कोरियामा रहेका नेपाली मजदुरहरुले भोग्ने दुर्दशाको कथा बेग्लै छ ।
यसका लागि एउटा रिपोर्ट हेरौं- सन् २००८ देखि २०२३ सम्म १५ वर्षको बीचमा मात्रै २५० जना नेपालीको मृत्यु भएको तथ्याङकले देखाउँछ । जसमध्ये ५९ जनाले मात्रै वैदेशिक रोजगार बोर्डमार्फत क्षतिपूर्ति लिएको अर्काे तथ्याङ्क छ ।
श्रम रोजगारीमा जाने नेपालीहरुको मृत्युको प्रमुख कारणमध्ये कडा श्रम र डिप्रेसन देखिने गरेको छ । कोरियामा कमाइ त हुन्छ । तर, निरन्तर कडा श्रम गर्नुपर्ने बाध्यता पनि हुन्छ । निरन्तर कामको चाप र भाषाको समस्याका कारण होमसिकनेसदेखि अनेक मानसिक समस्यासम्म नेपालीहरुमा देखिने गरेको छ ।
तर, देशको अस्थिर राजनीति, जर्जर अर्थतन्त्र र बेरोजगारीका कारण ज्यानकै जोखिम मोलेर कोरिया जान तयार छन् नेपाली युवाहरु । यसको एउटा नजिर भनेको साउनमा खुलेको चार हजार हाराहारीको शिप बिल्डिङअन्तर्गतको कोटामा परेको ३५ हजार ४७८ आवेदन हो । जसमा ३ हजार ९८९ जनामात्रै छनोट भएका छन् ।
बाँकी करिब ३० हजारले गत मंसिर १९ गते खुलेको ‘मेन्युफ्याक्चरिङ’ सेक्टरतर्फ आवेदन भर्न पाएका थिएनन् । तर, बालकुमारीमा भएको घटनापछि उच्च अदालत पाटनले बाँकी रहेका करिब ३० हजारलाई पनि आवेदन भर्न दिन आदेश दिएपछि बुधबारसम्म १६ हजार बढीले आवेदन भरिसकेका छन् । बाँकीले पनि भरिरहेका छन् ।
शून्य लगानी भएकाले पनि आकर्षण
दक्षिण कोरियामा नेपालीहरु आकर्षक हुनुको अर्को मुख्य कारण आर्थिक लगानी पनि हो । शून्य लागतमा जान सकिने भएकाले पनि अधिकांश युवाहरु कोरिया जान वर्षौंदेखि भाषा परीक्षाको तयारी गरिरहेका हुन्छन् । कोरिया जान कुनै मेनपावर, दलाल अथवा मध्यस्तकर्ता आवश्यक हुँदैन । कोरियाली सरकारले १६ राष्ट्रसँग गरेको रोजगार अनुमति प्रणाली ‘ईपीएस’मार्फत् भाषा परीक्षा पास गरेर जान सक्छन् ।
ईपीएसमा कोरिया सरकारले प्रत्येक वर्ष आफ्ना उत्पादन, निर्माण, कृषि र पशु प्रजनन, सेवा र मत्स्यपालनका लागि कामदारहरुको कोटा जारी गर्दै आएको छ । सोहीअनुसार भाषा पास गरेर मजदुरहरु कोरिया जाने गर्छन् ।