बरहथवा गोलीकाण्ड : साहको शव सडकमै, आफन्तले गराए बजार र यातायात बन्द – Nepal Press

बरहथवा गोलीकाण्ड : साहको शव सडकमै, आफन्तले गराए बजार र यातायात बन्द

जनकपुरधाम । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्त बजार र यातायात बन्द गराएका छन् ।

मृतक साहका आफन्त र स्थानीय सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन् । उनीहरू बिहानैदेखि प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भयो ।

मृतक साहको शव अझै घटनास्थलमै छ । पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन् ।

शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवारलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सहमतिको प्रयास गरे । तर मागहरू सम्बोधन नगरेसम्म सहमति नगर्ने अडान पीडित परिवारले राखेपछि सहमति हुन सकेन ।

मृतकका भान्जा विवेक साहले केहि माग तत्कालै पुरा गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी धमलाले बताएपछि सहमति नभएको बताए । उनले भने, ‘आज १२ बजेसम्मको समय प्रमुख जिल्ला अधिकारीले दिनुभएको छ ‌। हेरौँ के हुन्छ ।’

गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । तर पीडित परिवारले राखेको ८ बुँदे माग पुरा हुनुपर्ने अडान राखेको छ ।

प्रहरीको गोलीले साहको मृत्यु भएपछि अवस्था अनियन्त्रित हुन नदिन शनिवार बिहान ८ बजेसम्म प्रशासनले कर्फ्यु लगाएको थियो । शनिवार बिहानदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा पनि सकेपछि पीडित परिवार आन्दोलित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर