मलेसिया जाने श्रमिकसँग एक अर्ब २० करोड उठाउने खेल, वैदेशिक रोजगारमै सिण्डिकेट लगाउन जालझेल
प्रतिकामदार ४५ डलर उठाउन मलेसियाको प्राइभेट कम्पनीसँग वैदेशिक रोजगार बोर्डले गरेको सम्झौतामाथि वैधानिकताको प्रश्न, पैसा उठाउँने खेलमा मन्त्रीदेखि दलालसम्म यसरी जोडिए
काठमाडौं । श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीसहितको समूहले एक लटमै करीव १ अर्ब २० करोड रूपैयाँ उठाउने उद्देश्यले मलेसियाको एक रिंगेटवाला निजी कम्पनीसँग गरेको विवादस्पद सम्झौताले वैदेशिक रोजगार क्षेत्र आन्दोलित बनेको छ ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको फरेक वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरका तानासिलिनले गरेको सम्झौताको वैधानिकतामाथि समेत प्रश्न उठेको छ । यसमा परराष्ट्र मन्त्रालयको संलग्नता नरहेको मन्त्री एनपी साउदले बताएका छन् ।
कल्याणकारी काम गर्ने भन्ने आवरणमा कामदारको व्यक्तिगत विवरण संकलनदेखि सबै काम समेटिएको सो सम्झौता जनवरी १ देखि लागू भएको भनिएको छ । यो सम्झौताअनुसार जाँदा नेपाली कामदारको थाप्लोमा थप ४५ डलर अर्थात ६ हजार रूपैयाँ आर्थिक भार पर्नेछ ।
सम्झौतामो सो रकम रोजगारदाताले व्यहोर्ने भनिए पनि घुमाएर कामदारबाटै तिराइने निश्चित छ । यो सम्झौताले नेपालको वैदेशिक रोजागार व्यवसाय धराशायी हुने र नेपाली श्रमिकको श्रम गन्तव्य मलेसियाका रोजगारदाताले नै विकल्प खोज्ने अवस्था पनि आउनेछ ।
मलेसियास्थित नेपाली राजदूत डिल्लीराम पौडेलले रोजगार अनुमतिमै सिण्डिकेटको प्रयास गरिरहेका बेला श्रम मन्त्रालय र मलेसियास्थित दूतावास तथा केही बिचौलियाको योजनामा पछिल्लो सम्झौता भएको बताइएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले कथित सम्झौता कुनै हालतमा स्वीकार्य नभएको बताए । उनले वैदेशिक रोजगारीको ४३ प्रतिशत हिस्सा ओगट्ने मलेसियाको रोजगारी सिध्याउने र सीमित कम्पनीको सिण्डिकेट लगाउने उद्देश्यले गरिएको सम्झौता खारेज नभए सशक्त आन्दोलन हुने बताए ।
यसबाट पर्ने असरको उदाहरण दिँदै भण्डारीले भने, ‘मलेसियाको टप ग्लोबले एकपटकमा एक हजारजना मान्छे माग्छ । त्यसका लागि प्रति कामदार ४५ डलर तिर्नुपर्ने भनियो भने उसले थप ६० लाख तिरेर नेपाली कामदार मगाउँदैन, अन्यत्रबाट लैजान्छ । त्यति पैसा नबुझाए माग प्रमाणिकरण नहुने भनेपछि कि त सेटिङबाट यिनीहरुले नेपालमा निश्चित मेनपावर खडा गरेर उनीहरुलाई मात्र कोटा दिन गरेका हुन्, होइन भने नेपाली कामदारको थाप्लोमा थप ६ हजार रूपैयाँ पारेर केही व्यक्तिले करोडौं उठाउने योजना हो यो ।’
पछिल्लो वर्षको तथ्यांकअनुसार नेपालबाट मलेसियामा २ लाख कामदार गएका छन् । यो भनेको कुल वैदेशिक रोजगारीको ४३ प्रतिशत हो । प्रति कामदार ४५ डलरको हिसाबले वर्षमा २ लाख कामदारबाट कम्तीमा करीव १ अर्ब २० करोड रूपैयाँ उठाएर मन्त्रीदेखि मलेसियामा कम्पनी खडा गर्ने बिचौलियासम्मले बाँड्ने हो ।
मलेसियन कम्पनी नेपालका विजय मानन्धरलगायतका विचौलयाले खडा गरेको बुझिएको छ । नेपाली कामदारबाट पैसा उठाउने उद्देश्यले यसकै भगिनी संस्थाका रूपमा नेप्लीज वर्कर्स प्रोटेक्ट सेन्टर नामको संस्थासमेत दर्ता भएको पाइएको छ । मानन्धर सम्झौतामा साक्षी बसेका छन् ।
मन्त्री भण्डारीले जीवनको सम्भवतः अन्तिम अवसरलाई पैसा उठाउने मौकाका रुपमा उपयोग गरेका छन् । यसमा बोर्डका कार्यकारी निर्देशक उप्रेती प्रयोग भएका छन् । यो सम्झौताकै कारण उप्रेतीको पद धरापमा परेको छ । बिचौलियाले उठाएको पैसा एकलट वितरण समेत भइसकेको चर्चा व्यवसायीबीच चलेको छ ।
मानन्धरको संस्थालाई बोर्डका कार्यकारी निर्देशक उप्रेतीलेसो सम्झौता अनुसार सहकार्य गर्न पत्राचारसमेत गरेका छन् । मलेसियामा कम्पनी दर्ता गर्ने मले नागरिक चाहिएकाले त्यहाँ अर्को नाममा एक रिंगेटको कम्पनी दर्ता गरेर बोर्डसँग सम्झौता गरी नेपालमा अर्को संस्थामार्फत पैसा संकलन गर्न लागिएको हो ।
विदेशको निजी कम्पनीसँग वैदेशिक रोजगार बोर्डले गरेको सम्झौताको वैधानिकतामाथि नै प्रश्न रहेको र कुनै देशसँग सम्झौता गर्दा परराष्ट्र मन्त्रालयमार्फत गरिनुपर्ने भण्डारीले बताए । मन्त्रालयलाई सम्झौता भइसकेपछि बोधार्थका रूपमा मात्र पठाइएको छ ।
मलेसियासँगको श्रम सम्झौता नवीकरण गर्ने बेलामा अपारदर्शीरूपमा गरिएको कथित कल्याणकारी सम्झौताबारे श्रम मन्त्रालयकै उच्च अधिकरीले प्रश्न उठाएका छन् भने मलेसियास्थित श्रम सहचारी भोला गुरागाईले आफूहरूलाई कुनै जानकारी नरहेको बताएका छन् ।
सम्झौतापछि क्वालालम्पुरस्थित नेपाली दूतावाससँगै स्थापित सेन्टरको कार्यालय उद्घाटन गर्न कार्यकारी निर्देशक उप्रेती मलेसिया गएका थिए । सम्झौता कार्यान्वयन गराउन बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको छ ।
तर, परराष्ट्रमन्त्री एनपी साउदले यसबारे चासो राखेका छन् । अहिलेसम्म यसबारे अध्ययन भइरहेको र राजदूत तथा श्रम मन्त्रालयको नियतमाथि गम्भीर प्रश्न उठेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । काठमाडौंस्थित मलेसियन दूतावासले पनि श्रम सम्झौताबाहेकका अन्य सम्झौता मलेसियाले नमान्ने जानकारी गराएका छन् ।
यो सम्झौता कार्यान्वयन भए मलेसियाका रोजगारदाताले नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण गर्न प्रत्येक कामदार ४५ अमेरिकी डलरका दरले बुझाउनुपर्नेछ । ४५ डलर अर्थात २ सय रिंगेट शुल्क बुझाएको रसिद पेस गरेपछि मात्रै दूतावासले प्रमाणीकरण गर्नेछ । यो शुल्क रोजगारदाता कम्पनीले नेपाल सरकारलाई बुझाएको राजस्वबाहेक थप हो ।
कुनै पनि रोजगारदाताले यो सम्झौता मान्ने सम्भावना कम छ । त्यो अवस्थामा एकातिर नेपालले पाइरहेको रोजगारी अन्य देशमा जानेछ भने अर्कोतिर कुनै कम्पनीले नेपाली कामदार लिने भए पनि यहि सेन्टरमार्फत फलानो कम्पनीलाई भनेर डिमान्ड पठाएपछि मात्र स्वीकृति दिने निश्चित छ ।
बोर्ड र सेन्टरबीच भएको सम्झौताअनुसार नेपाल सरकारलाई बुझाउनेभन्दा कैयौं गुणा बढी रकम बुझाउनुपर्नेछ । जस्तो- दुई सयजना कामदार लैजानुपर्दा नेपाली दूतावासलाई १४ सय रिंगेट बुझाउनुपर्छ । यति नै कामदार लैजानुपर्दा अब रोजगारदाताले सेन्टरको नाममा प्रतिकामदार २ सय रिंगेटका हिसाबले थप ४० हजार रिंगेट (करिब १३ लाख रूपैयाँ) बुझाउनुपर्नेछ ।
यो थप शुल्क नेपालको राजस्व खातामा नआई मलेसियाको निजी कम्पनीको खातामा जानेछ । सम्झौतामा उक्त कम्पनीलाई सहजीकरण गर्नका लागि यता नेपालमा पनि एउटा कम्पनी खोलिने उल्लेख छ । उक्त कम्पनी नेप्लीज वर्कर्स प्रोटेक्सन सेन्टरका नाममा दर्ता भइसकेको छ ।
मलेसियाको उक्त सेन्टरले नेपालमा कामदारलाई आफ्नो प्रणालीमा जोड्नेदेखि सम्झौताअनुसार कार्यसम्पादन गर्न नेप्लिज वर्कर प्रोटेक्सन सेन्टरसँग सम्झौता गरेको थियो । यसमा उठेको कुल शुल्कको ६० प्रतिशत मलेसियन कम्पनी र ४० प्रतिशत नेपाली कम्पनीले लिने उल्लेख छ । उक्त रकमको ४० प्रतिशतको हिसाबले मन्त्रीलगायत नेपालमा यो सम्झौता गर्नेहरुले करीव ५० करोड वार्षिक रुपमा पाउँने र यो ५ वर्ष कायम रहनेछ ।
यो गिरोहले २ वर्षअघिदेखि नै यो सम्झौताको प्रयास गरेको थियो । तत्कालीन श्रममन्त्री किसान श्रेष्ठ र त्यसपछिका शेरबहादुर कुँवरमार्फत फत्ते हुन बाँकी रहेको काम शरदसिंह भण्डारीका पालामा गरिएको हो । यद्यपि दुई देश संलग्न रहने सम्झौता नेपाल सरकारले गर्नुपर्ने भएकाले यसको वैधानितामाथि प्रश्न उठ्ने निश्चित छ ।
सम्झौतामा नेपाली कामदारको सुरक्षा, हकहित,उपचार, उद्धारलगायतका काम गर्ने भनिए पनि यो संस्थालाई मलेसिया सरकारले कुन हदसम्म पहुँच दिन्छ भन्नेमै प्रश्न छ । किनकी यस्तो कामका लागि मलेसिया सरकार नै संलग्न भएर सम्झौता नगरेको विषय कार्यान्वयन हुन सक्दैन ।
हेर्नुहोस् सम्झौताको पूर्णपाठ :