चितवनमा डेढ महिनाअघि भेटिएका दुई शवको पहिचान खुल्यो: हाडनाता सम्बन्धका कारण हत्या – Nepal Press

चितवनमा डेढ महिनाअघि भेटिएका दुई शवको पहिचान खुल्यो: हाडनाता सम्बन्धका कारण हत्या

चितवन । गएको मंसिर ६ गते चितवनको मिलनचोकमा बोरामा बाँधेर फालिएको अवस्थामा भेटिएको दुई व्यक्तिको हत्या भएको खुलेको छ । हाडनातामै विवाहेत्तर सम्बन्ध भएको कारण उनीहरुको हत्या गरिएको चितवन प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार उनीहरुबीच काकी–छोराको नाता रहेको खुलेको छ । हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको करिब डेढ महिनापछि प्रहरीले उनीहरुको सम्बन्ध तथा मृत्युको कारण पहिचान गरेको छ ।

भारतको मोतिहारी जिल्लाको फूलबारियाको सुगौली भन्ने स्थानको छोरा नाताका १९ वर्षीय ऋषभकुमार कुसवाहा र भारतको बिहार जिल्लाकी अस्मिता भन्ने ३० वर्षकी काकी पर्ने सञ्जुदेवीको विवाहेत्तर सम्बन्धका कारण सञ्जुका श्रीमान अखिलेष भगतले उनीहरुको हत्या गरेको प्रहरीले बताएको छ ।

सञ्जु र ऋषभकुमारको विवाहेत्तर सम्बन्धका कारण सञ्जुका श्रीमान अखिलेषले हत्या गरेको स्वीकार गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार अखिलेषले मंसिर २ गते मृतक ऋषभकुमारका काका नाता पर्ने व्यक्ति बसेको भरतपुरस्थित कोठामा दुवैको हत्या गरेका थिए ।

हत्यापछि मंसिर ३ गते राति पौने १२ बजे र १ बजेर १२ मिनेट जाँदा बोरामा हाली कल्भटमुनि फालेको सीसी क्यामराको फुटेजमा देखिएको थियो । सोही आधारमा अनुसन्धान गर्दै जाँदा भारतसम्म पुगेको प्रहरीले घटनाको तथ्य पत्ता लगाएको हो ।

भारतीय प्रहरी हिरासतमा छन् अखिलेष

प्रहरीका अनुसार अखिलेष श्रीमती र अर्का पुरुषको हत्याको घटना सार्वजनिक हुनुअगावै भारतीय प्रहरीको नियन्त्रणमा पुगिसकेका छन् । उनी व्यक्ति अपहरण तथा बेपत्तासम्बन्धी उजुरीका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।

अखिलेषलाई पक्राउ गरी पुस १६ गते भारतको केन्द्रीय कारागार गृह मोतीहारीमा राखिएको छ ।

उनले भतिजा कुशवाह र श्रीमती सञ्जुको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर