डिभिजन वन अधिकृतविरुद्ध सवा करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा – Nepal Press

डिभिजन वन अधिकृतविरुद्ध सवा करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौं । सवा एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालतमा मुघा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत कोइरालाविरुद्ध विशेष अदालतमा एक करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २ देखि २०७८ फागुन १२ गतेसम्मको समग्र आयव्यय तथा लगानीको विश्लेषण गर्दा जम्मा ८१ लाख ८६ हजार ९९६ आयआर्जन गरेको पाइएको छ । तर, त्यसै अवधिमा उनको व्यय (खर्च तथा लगानी) तर्फ दुई करोड सात लाख ८३ हजार ३४९ देखिएको अख्तियारले जनाएको छ । जसमा वैध ८१ लाख ८६ हजार ९९६ को अनुपातमा सोही अवधिमा उनले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानी दुई करोड सात लाख ८३ हजार ३४९ देखिँदा आयभन्दा एक करोड २५ लाख ९६ हजार ३५३ बरावरको सम्पत्ति स्रोत नखुली उनको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको आयोगको दाबी छ ।

उक्त अमिल्दो र अस्वाभाविक रकम सार्वजनिक पद धारण गरेका कोइरालाले गैरकानूनी रुपमा सम्पत्ति आर्जनसम्बन्धी कसुर गरेको पुष्टि भएको आयोगले जनाएको छ । त्यसैले उनलाई जरिवाना र कैद सजाय गर्न र उनले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिसमेतबाट लागत मूल्यमा बिगो जफत तथा असुल गरी पाउन मागदाबी लिइएको छ ।

कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेलसमेतको नाममा जग्गा खरिद, निजको नाममा दर्ता कायम रहेको जग्गामा घर निर्माण तथा बैंक खातामा रकम मौज्दातलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्राृत नखुलेको सम्पत्ति विगो जफत गर्न श्रीमती पौडेललाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर