त्रिवि आफैंले निम्त्याएको बेथिति – Nepal Press

त्रिवि आफैंले निम्त्याएको बेथिति

नेपाली उच्च शिक्षामा अग्रणी, जेठो र अनुभवी शैक्षिक संस्थाको सुपरिचित नाम हो त्रिभुवन विश्वविद्यालय । आज पनि नेपाली शैक्षिक बजारमा उच्च शिक्षाको ठूलो हिस्सा त्रिवि नै हो । यतिमात्र पर्याप्त होइन, अन्य विश्वविद्यालयको अभिभावक पनि त्रिवि आफैं भएको ठोकुवा गर्छ । २०१६ सालमा जन्मिएको त्रिविअन्तर्गत ६० आङ्गिक र ८०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । विद्यार्थी संख्याका आधारमा विश्वका ठूला विश्वविद्यालयहरुको सूचीमा समेत १५-१६ स्थानमा समेटिने नाम हो त्रिवि । राजनीति तरल भए जस्तै, पर्खालहरु भत्किए जस्तै दिन प्रतिदिन त्रिवि ढल्दैछ । त्रिविले आफ्नो कद गुमाउँदैछ ।

मर्नुभन्दा बहुलाउनु निको भन्दै विकल्पको अभावमा सबैको रोजाइ त्रिवि थियो । त्रिविले संख्यामा लाखौं दक्ष जनशक्ति उत्पादन गरिसकेको पनि छ । मननीय कुरा के छ भने संसारमा जुन विश्वविद्यालयमा परीक्षा र नतिजाको सुनिश्चितता हुँदैन, त्यस शैक्षिक संस्थालाई विश्वविद्यालय भनिँदैन । २० वर्षको औसत तथ्यांक लिएर गणना गर्दा ४ वर्षको कोर्स न्यूनतम ६ वर्ष अवधि खर्चिनुपर्छ । २ वर्षको कोर्स ३ वर्ष समय खर्चिनुपर्छ । मानिस एक सेकेन्ड अमूल्य समयका लागि संघर्षरत हुन्छ, जीवन देख्छ । त्रिविले व्यक्ति व्यक्ति जोडेर एउटा युगको समय बर्बाद गरेको छ । आज विद्यार्थीहरुले विकल्प देखे । त्रिवि विकल्प वा रोजाइको छनोटमा पर्न सकेन ।

नयाँ शैक्षिक सत्रको प्रारम्भमा विद्यार्थीहरुको भीड त्रिविको प्रवेशद्वारमा होइन, अन्तर्राष्ट्रिय एयरपोर्टमा देखिन थालेको छ । भर्खरै स्थापना भएको नेपाल खुला विश्वविद्यालयमा समेत त्रिविको कुसंस्कार सरेको प्रस्ट देखिन्छ । एमफिल तहको डेढ वर्षको कोर्स समाप्त हुन ६ वर्ष पूरै समय खर्चिनुपर्छ । त्रिविको संस्कारबाट अन्य विश्वविद्यालयहरुसमेत अछुतो रहन सकेनन् । धेरै कष्टले परीक्षा प्रारम्भ हुन्छ, नतिजा प्रकाशन हुँदैन । अमेरिकामा मौसमको सुनिश्चितता नभए जस्तै त्रिविमा परीक्षा र नतिजाको सुनिश्चितता कहिल्यै भएन । विश्वविद्यालयको परीक्षा र नतिजा विश्वविद्यालयको खुशी र सुविधाका आधारमा हुने विषय पक्कै होइन ।

मानिस एक सेकेन्ड अमूल्य समयका लागि संघर्षरत हुन्छ, जीवन देख्छ । त्रिविले व्यक्ति व्यक्ति जोडेर एउटा युगको समय बर्बाद गरेको छ । आज विद्यार्थीहरुले विकल्प देखे । त्रिवि विकल्प वा रोजाइको छनोटमा पर्न सकेन ।

राजनीतिमा तरलता र यसको दिशामा समेत फेरबदल हुनसक्छ, फरक पर्दैन । राजनीतिले आफ्नो गन्तव्य र लिक बिर्संदा राष्ट्रलाई दिशाबोध र सही ट्र्याकमा ल्याउने जिम्मेवारी त्रिविको हुनुपर्ने हो । संसारमा अमेरिकालाई पछि पार्दै पहिलो आर्थिक बाघ हुने लक्ष्य लिएको मुलुक चीनका शक्तिशाली राष्ट्रपति प्राध्यापकहरुसँग कक्षा लिन्छन् । प्राध्यापकहरुले अर्थतन्त्र र राजनीति डोर्‍याउने ल्याकत राखेको पाइन्छ । नेपालमा ठीक विपरीत अभ्यास छ । आज मुलुकमा प्राध्यापक स्वयंलाई नैतिक कथा र उपदेश अरुले दिनुपर्ने भयो ।

देशको आधाजसो भूभागमा संसारकै अमर्यादित परीक्षा हुन्छ । मर्यादित परीक्षाको अभावमा गुणस्तरीय शिक्षा हासिल हुन सक्दैन भन्ने पनि त्रिवि पदाधिकारीको मस्तिष्कले ग्रहण गर्दैन । परीक्षा प्रणाली व्यवस्थित गर्न नसक्ने विश्वविद्यालयको उत्पादनले बजारको आवश्यकता कसरी पूरा गर्नसक्छ ? विश्वविद्यालयको पहिलो कर्तव्यभित्र पर्ने विषय मर्यादित परीक्षा र समयमा नतिजा प्रकाशन हो । एउटा विषयको प्रश्नपत्र तयारीमा अर्कै विषयको प्रश्न समेटिएको हुन्छ । परीक्षा प्रणालीसँगको अनगिन्ती सुधारका सवाल त्रिविको पहिलो सुधारात्मक कदमभित्रको विषय हो ।

२०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि नियुक्त भएका त्रिवि पदाधिकारीहरु गौरव गर्न लायकका एकजना पनि छैनन् । छिटपुटबाहेक सम्पूर्ण पदाधिकारी र क्याम्पस प्रमुखसमेत नेता र पार्टीका फेरो समातेर नियुक्त भएको देखिन्छ । पदाधिकारी नियुक्त भएपछि कुन कुन पार्टीबाट को को नियुक्त भए ? सबैको अड्कलबाजी सुरु हुन्छ । पदाधिकारीमा लिगलिगे दौडको प्रतिस्पर्धा हुन्छ । प्राध्यापकहरुलाई आफ्नो क्षमता र इमानदारीको विश्वास छैन । चाकरी र दौडधुपबाट आंशिक शिक्षक हुँदै पदाधिकारी हुने व्यक्तिको अनुहार फरक हुँदैन । विश्वविद्यालय बदनाम हुन्छ । दोषी सबै नेता र सबै पार्टी हुन्छन् । पद ग्रहणपछि कर्तव्य नभुलेको भए त्रिवि आज बद्नाम र बेथितिको शिकार हुनुपर्ने थिएन । नेपाली राजनीतिको तस्वीर हेर्न त्रिभुवन विश्वविद्यालय हेरे पुग्छ भन्ने बुझाइ सर्वत्र छ । अरुलाई संस्कार सिकाउने विश्वविद्यालय नै जर्जर छ । नेपालमा सबैभन्दा बेथिति त्रिविमै देखिन्छ ।

नयाँ शैक्षिक सत्रको प्रारम्भमा विद्यार्थीहरुको भीड त्रिविको प्रवेशद्वारमा होइन, अन्तर्राष्ट्रिय एयरपोर्टमा देखिन थालेको छ । भर्खरै स्थापना भएको नेपाल खुला विश्वविद्यालयमा समेत त्रिविको कुसंस्कार सरेको प्रस्ट देखिन्छ ।

सम्पन्न देशमा प्राध्यापक हुनु गौरव, प्रतिष्ठा र छनोटको विषय हो । शिक्षण सबैभन्दा मर्यादित पेसाभित्र समेटिन्छ । क्षमतावान जनशक्तिको आकर्षणमा त्रिवि कहिल्यै पर्न सकेन । त्रिविले समेत सर्वोत्कृष्ट उत्पादनलाई समेट्न सकेन । त्रिविका आधाभन्दा धेरै जनशक्ति आन्दोलनबाट स्थापित भएका छन् । सबैभन्दा निम्नस्तरको जनशक्तिको हालीमुहाली छ । हरेक ५ वर्षमा आफ्नो जनशक्तिको गुणस्तरीय क्षमता मापन गर्न कुनै अस्त्रको प्रयोग गरिएको देखिँदैन । पदाधिकारी हुन खुलेयाम रूपमा प्राध्यापकहरु भारतबाट विद्यावारिधि खरिद गर्छन् । बदनाम सधैं सरकार, पार्टी र नेतृत्व हुन्छ । तर, वास्तविकता अर्कै छ । नेताको फेरो समातेर पदाधिकारी नियुक्त हुनेहरु नै विश्वविद्यालयका कसिङ्गर हुन् । योग्य र क्षमतावान उपहार स्वीकार गर्न सक्दैन र उपहारको अपेक्षा गर्नेसँग विश्वविद्यालय ड्राइभ गर्ने क्षमता हुँदैन । प्रथम श्रेणीमा उत्तीर्ण नभइ विश्वविद्यालयमा प्रवेश हुन नपाइने मापदण्ड त्रिविको कहिल्यै हुन सकेन ।

त्रिवि जस्तो विश्वविद्यालय भएको देशमा राजनीति, संस्कार र संस्कृति कस्तो होला भन्ने आमचासोको विषय हुन पुग्यो । जबसम्म त्रिविको पदाधिकारी हुन बाह्र क्षेत्रका योग्य र सक्षमको प्रवेश सम्भव हुँदैन, तबसम्म त्रिविले आफ्नो स्वरुप परिवर्तन गर्न सक्दैन । भोलिका जनशक्तिलाई नेपाली माटो अनुकूल योग्य बनाउने त्रिविकै प्राध्यापकहरुकै विद्यावारिधिको सर्टिफिकेट खरिद गरिएको हुनु लज्जास्पद विषय हो । नेपालको शैक्षिक प्रणाली ध्वस्त बनाउन सीमापारि पीएचडी खरिद-बिक्री गर्ने कारखाना खोलिएको त्रिवि जानकार छैन । ती निम्न कोटीका पीएचडीलाई मान्यता र वैधानिकता दिएर आफ्नो विश्वविद्यालयमा प्रयोग गर्छ । पदाधिकारी नियुक्ति र प्राज्ञिक नेता निर्माणमै त्रिविभित्र कार्टेलिङ छ ।

त्रिवि स्वयंको कारण कृषि, वन, इञ्जिनियरिङ, बीबीए र बीबीएम जस्ता मूल्यवान संकाय क्रमशः धराशायी हुँदैछ । त्रिविले एकाएक सम्बन्धन नीति खुकुलो बनायो । तारे होटलमा पदाधिकारीहरु बेहोसीमै सम्बन्धन वितरण गर्छन् । पदाधिकारीहरु ह्विस्की र पैसाका लागि निजी कलेजलाई सम्बन्धन बिक्री गर्छन् । पदाधिकारीहरुको निजी कलेजसँग प्रगाढ सम्बन्ध हुन्छ । सम्बन्धन दिँदा जनशक्तिको आपूर्ति र गुणस्तरमा पर्ने प्रभावको लेखाजोखा हुँदैन । आंगिक र सामुदायिक कलेजलाई बेवास्ता गर्छन् ।

त्रिविको काम रोजगारी दिने पक्कै होइन । तर, शैक्षिक मूल्य (गुणस्तर) कायम गर्नु कर्तव्य हो । दक्ष जनशक्ति निर्माणमा त्रिवि चुकेको देखिन्छ । विभिन्न क्षेत्रमा आवश्यक पर्ने श्रमशक्तिको पूर्वानुमान गर्ने, योजना बनाउने र बजारको आवश्यकता पूरा गर्ने दायित्व विश्वविद्यालयको हो । विद्यार्थीको अभावमा विश्वविद्यालय मसानघाटमा परिणत भयो भनेर गीत गाउनुको कुनै तुक छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *