आन्दोलनरत स्थानीयसँगको छलफलपछि अवरुद्ध नागढुंगा सुरुङको निर्माण पुनः सुचारु – Nepal Press

आन्दोलनरत स्थानीयसँगको छलफलपछि अवरुद्ध नागढुंगा सुरुङको निर्माण पुनः सुचारु

काठमाडौं । जग्गाको स्वामित्व र मुआब्जा समस्याले अबरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य आजदेखि पुनः सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अबरुद्ध सुरुङ मार्गको काम पुनः सुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।

आन्दोलनरत जग्गाधनीलाई सिंहदरबार बोलाएर मन्त्री ज्वालाले छलफल गरेका थिए । पूर्वसांसद भूमि त्रिपाठीसहितको टोली सिंहदरबार पुगेको थियो । सुरुङ मार्गको धादिङ खण्डमा पर्ने जग्गा नेपाल सरकारको हुने कि स्थानीयबासीको हुने भन्ने विवादले कंक्रिट लाइनिङको काम रोकिएको थियो ।

नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य रोकेका थिए ।

सडक विभागले सडक र नाली सुधार गर्ने, जग्गाको स्वामित्व सम्बन्धी विवाद मालपोत कार्यालय धादिङलाई राखेर जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएको हो । स्थानीयबासीले अवरोध गरेपछि सुरुङ भित्रको कंक्रिट लाइनिङ गर्ने कार्य अवरुद्ध बनेको थियो ।

मन्त्री ज्वालाले जग्गाको स्वामित्व र मुआब्जा समस्या कानूनको दायराभित्र रहेर खोज्ने बताएपछि स्थानीयबासीले सुरुङमार्गको निर्माण कार्य नरोक्ने प्रतिबद्धता जनाएको सडक विभाग वैदेशिक शाखाका प्रमुख विजय जैसीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर