चीनको प्रत्यक्ष लगानीको आयोजनाका बिजुली किन्नेमा भारतको रिजर्भेसन छः प्रधानमन्त्री (भिडिओ) – Nepal Press

चीनको प्रत्यक्ष लगानीको आयोजनाका बिजुली किन्नेमा भारतको रिजर्भेसन छः प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा भारतले असहमति प्रकट गरेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भएको नेपाल-भारत १० वर्षमा १० हजार मेगावाट विद्युत सम्झौतामा भारतले चीन सरकारले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा असहमति जनाएको बताए ।

आफूहरूले ग्लोवल टेण्डर आह्वान गरी निर्माण भएको विद्युतलाई चीन सरकारले उत्पादन गरेको भन्न नमिल्ने कुरा राखेको र त्यसको लागि अझै छलफल हुने उनको प्रष्टोक्ति थियो । प्रचण्डले यो सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको बताए ।

उहाँले भन्नुभयो, ‘मेरो भ्रमणका क्रममा भएका सहमतिलाई केही समयपछि भारत सरकारको मन्त्रीपरिषद्‍बाट अनुमोदन गरियो, अहिले भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा रहेको बेला दुवै देशका सरकारका प्रतिनिधिले हस्ताक्षर गरेर अन्तिम रूप दिइयो । यसले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको छ । यहाँ प्रश्न उठ्ने गरेको छ, यहाँ भारतले बनाएका परियोजनाको मात्रै विद्युत लैजाने भनेको हो की भन्ने छ, यसमा क्लियर हुन जरुरी छ । त्यस्तो कुनै सहमति सम्झौत नेपालले गरेको छैन । नेपालमा विभिन्न देशले लगानी गरेर विद्युत विकास गर्ने स्वतन्त्रता सबैलाई छ । हामीले जताबाट उत्पादन भएको भएपनि १० हजार मेगावाट १० वर्षमा भन्ने छ । भारत सरकारको कन्सर्न चीन सरकारले प्रत्यक्ष लगानी गरेका आयोजनाको लिनेमा उहाँहरूको रिजर्भेसन छ । यसबारेमा पनि संवाद गर्दैछौँ ।’

प्रधानमन्त्री दाहालले नेपालले बनाएको नानो स्याटेलाइट भारतीय न्यु स्पेस इण्डिया लिमिटेडले आफ्नै खर्चमा प्रक्षेपण गरिदिने सम्झौता भएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *