‘कांग्रेस नेतृत्व नसुध्रिने हो भन्ने ‘कांग्रेसविहीन मधेश’ हुन बेर लाग्दैन’
काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व प्रतिनिधिसभा सदस्य तथा वर्तमान महासमिति सदस्य रामचन्द्र तिवारीले राष्ट्रियसभाको लागि नेपाली कांग्रेसले गरेको निर्णयलाई निन्दनीय र भेदभावपूर्ण भएकाे भन्दै प्रश्नहरु गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नाे धारणा राख्दै प्रश्नहरु गरेका हुन् ।
सत्ता साझेदारबाट मधेश प्रदेशको लागि नेपाली कांग्रेसले पाएको १(एक) सीटमा कुनै मधेशी अनुहार नदेखिनु सामान्य त्रुटी नभई पार्टीको दुराशयपूर्ण हो, सिंगो मधेशप्रतिको अपमान भएकाे उनले बताएका छन् ।
के राष्ट्रियसभाको लागि पार्टीले मधेसीमध्ये एउटापनि योग्यतम व्यक्ति भेटेन ? कहीँकतैबाट पनि कुनै मधेसी कार्यकर्ताको नाम त्यो अधुरो संसदीय समितिमा उच्चारित समेत नहुनुलाई ‘सगोत्री सबैलाई सुपाच्य नै भएको हो त ?’
तिवारीले कांग्रेस नेतृत्वलाई प्रजातन्त्रदेखि गणतन्त्रसम्मको हरेक संघर्षमा मधेशीहरुले नेपाली कांग्रेसको झण्डामुनि बसेर अग्रिम मोर्चा सम्हालेको इतिहास स्मरण गराएका छन् ।
मधेश आन्दोलनको बेला अपमानित भएर समेत प्रजातन्त्र र पार्टीको लागि अविचलित भएर पार्टीलाई जिउँदो प्रतिनिधित्व गरेका नेपाली कांग्रेसका कार्यकर्ताहरु नसम्झिनु दुःखद भएकाे भन्दै कांग्रेस नेतृत्व नसुध्रिने हो भन्ने ‘कांग्रेसविहीन मधेश’ हुन बेर नलाग्ने उनको ठम्याइ छ ।
‘वास्तवमा, पुस १२ देखि १४ गतेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आसन्न राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार छनोटमा केन्द्रित रहेको थियो’, तिवारीले लेखेका छन्, ‘कांग्रेसबाट कसलाई उम्मेदवार बनाउने भन्दा पनि कस्तालाई बनाउने भनी घनघोर छलफल पश्चात उम्मेदवार चयनका लागि मापदण्ड तयार पारियो । जसमा, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका, कुनै पनि अवसरबाट बंचित भएका तथा लोकप्रिय व्यक्तित्वलाई मौका दिनुपर्ने भनी तोकियो ।’
त्यस्तै अर्को महत्वपूर्ण मापदण्डको रुपमा भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलनलाई विशेषरुपमा ध्यान पुर्याउने भनी कार्यसम्पादन समितिले निर्धारण गरेकाे तर शेरबहादुर देउवा र पुष्पकमल दहालले तयार पारेको गठबंधनले आफैंले निर्धारण गरेका न्यून्तम नैतिकता देखाउनबाट चुकेको तिवारीले उल्लेख गरेका छन् ।
नेपालमा राष्ट्रिय सभालाई अमुक नेताहरुले ‘राष्ट्रिय डम्पिङ्ग’सभा बनाउन लागेको हो भनी विभिन्न कोणबाट आलोचना भइरहेको छ । नेपाली कांग्रेस नेतृत्वले मधेश प्रदेशसँगको गरेको व्यवहारको पनि आलोचना जारी छ ।