आफ्नो नामको शेयर बेचेर माछापुछ्रे बैंक छोड्दै महतो – Nepal Press

आफ्नो नामको शेयर बेचेर माछापुछ्रे बैंक छोड्दै महतो

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सुरेन्द्र महतोले शेयर बेचेर सो बैंक छोड्न खोजिरहेका छन् । महतोले संस्थापक शेयर धनीको स्वामित्वमा रहेको सेयर बेचेर बाहिरिन चाहेका हुन् ।

महतोले आफ्नो नाममा भएको १ करोड १२ लाख ३२ हजार ४ सय ९२ कित्ता शेयर बिक्री खुला गरेका छन् । माछापुछ्रेले एक सूचना जारी गर्दै शेयरको भाउ प्रतिकित्ता १ सय १५ रुपैयाँ न्यूनतम मूल्य राखेर बिक्री खुला गरेको जनाएको छ ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुकले माघ २ गतेसम्म माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति शेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।

महतोको यो शेयर बिक्रीका लागि तेस्रो पटक सूचना जारी भएको हो । माछापुछ्रेको संस्थापक शेयर मूल्य अहिले १ सय ३६ रुपैयाँ प्रतिकित्ता रहेको छ । सर्वसाधारणमा जारी गरेको सेयर मूल्य भने प्रतिकित्ता २ सय रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *