सरकारको नीतिगत कमीकमजोरीले ३० प्रतिशत घरेलु तथा साना उद्योग बन्द – Nepal Press

सरकारको नीतिगत कमीकमजोरीले ३० प्रतिशत घरेलु तथा साना उद्योग बन्द

भक्तपुर । सरकारको नीतिगत कमीकमजोरीले मुलुकको ३० प्रतिशत घरेलु तथा साना उद्योग बन्द भएको उद्यमीहरुले बताएका छन् । उनीहरुले सरकारले बनाएका नीति-नियमहरु घरेलु तथा साना उद्योग मैत्री हुन नसकेको गुनासोसमेत गरेका छन् ।

भक्तपुर घरेलु तथा साना उद्योग संघको ३३औं साधारणसभामा सहभागी उद्यमीहरुले नेपाली परम्परागत उत्पादनलाई कानूनलाई अवैध करार गरेकाले मौलिक उत्पादन र घरेलु उद्योगहरु संकटमा पर्दै आएको बताए ।

साधारणसभा उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले त्रुटिपूर्ण उद्योग तथा वाणिज्यसम्बन्धी ऐनहरु परिमार्जन गर्न प्रदेश सरकार लागिपरेको आश्वासन दिए ।

मन्त्री चित्रकारले घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न भक्तपुरको चाँगुनारायण नगरपालिकामा सांस्कृतिक औद्योगिक ग्राम स्थापना गर्ने प्रक्रिया अघि बढेको बताए ।

उक्त सांस्कृतिक औद्योगिक ग्रामका लागि नगरपालिका आवश्यक ठाउँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारलाई उपलब्ध गराइसकेको र सोहीअनुसार उक्त ग्रामको सम्भाव्यता अध्ययन तथा डीपीआर निर्माण प्रक्रिया अघि बढिसकेको मन्त्री चित्रकारको भनाइ छ ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले सरकारका विभिन्न नीतिहरु घरेलु तथा साना उद्योग मैत्री नबनेकाले ३० प्रतिशत घरेलु तथा साना उद्योग बन्द भएको बताए ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जिल्लाका उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सहजीकरण गर्न आफू तयार रहेको बताइन् ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले ३३ विधाका ८८४ जना उद्यमी संघमा आवद्ध रहेको बताए ।

कार्यक्रममा लामो समयदेखि निरन्तर उद्योग सञ्चालन गर्दै आएका पूर्ण श्रेष्ठ राइस मिलका गोविन्द किला श्रेष्ठ र नेवाः तान उद्योगका प्रोपाइटर कमलकेशरी कर्माचार्यलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *