बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्षले दिएको अभिव्यक्तिको चौतारी झापाले गर्‍यो भर्त्सना – Nepal Press

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्षले दिएको अभिव्यक्तिको चौतारी झापाले गर्‍यो भर्त्सना

बिर्तामोड । प्रेस चौतारी झापाले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै चौतारीले संगठनका उपाध्यक्ष प्रदीप परियार विरुद्ध दिएको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको जनाएको छ ।

संगठनका झापा जिल्ला अध्यक्ष मनकुमार गदाल र सचिव प्रकाश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार गत शनिवार बिर्तामोड–५ मा रहेको गौरवशाली बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभामा उपाध्यक्ष परियारमाथि अपमानजनक शब्द प्रयोग गर्दै सार्वजनिक कार्यक्रममा मानहानि हुने गरी अभिव्यक्ति दिएको बताइएको छ ।

उक्त अभिव्यक्ति दिने वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीप्रति संगठन खेद व्यक्त गरेको छ । उनले केटाहरू लगाएर कुटपिट समेत गराइदिने जस्ता अभिव्यक्ति दिएको भन्दै चौतारीले विज्ञप्तिमा भनेको छ, ‘यसपछि हुने कुनै पनि घटनाको जिम्मेवार स्वयम् वाणिज्य संघका अध्यक्ष शिवाकोटी हुनुपर्ने छ ।’

यस्तो छ विज्ञप्ति

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले दिएको अभिव्यक्तिप्रति प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको गम्भिर ध्यानाकर्षण भएको छ ।

प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष एवम् इजलास दैनिकका सम्पादक प्रदीप परियारका विरुद्ध दिएको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछौ ।

बिर्तामोड–५ मा रहेको गौरवशाली बचत तथा ऋण सहकारी संस्थाको पुस २१ गते शनिवार सम्पन्न वार्षिक साधारण सभामा उपाध्यक्ष परियारमाथि अमामानजनक शब्द प्रयोग गर्दै सार्वजनिक कार्यक्रममा मानहानि हुने गरी अभिव्यक्ति दिने वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीप्रति हाम्रो संगठन खेद व्यक्त गर्दछ ।

कार्यक्रमको प्रसंग, उद्देश्यभन्दा बाहिर गएर शिवाकोटीले दिएको अभिव्यक्ति खेदजनक छ । पटक–पटक विवादमा आइरहने शिवाकोटीलाई विवादबाट आफ्नो अस्तित्व खोज्ने दुष्प्रयास नगर्न चेतावनी दिन चाहन्छौ ।

साथै, पुस १७ गते सोमवारका दिन बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालय परिसर बाहिर केहि पत्रकारहरूकै सामुन्ने शिवाकोटीले उपाध्यक्ष परियारलाई ‘मेरा केटाले कुनै पनि बेला कुटपिट गर्ने’ अभिव्यक्ति समेत दिएको हुँदा यसपछि हुने कुनै पनि घटनाको जिम्मेवार स्वयम् वाणिज्य संघका अध्यक्ष शिवाकोटी हुनुपर्ने हाम्रो ठहर छ ।

पत्रकार परियारमाथि शिवाकोटीको गतिविधिले असुरक्षा महसुस भएको हुँदा स्थानीय सुरक्षा निकाय, प्रशासन समेतको यसै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउँदछौँ ।

समाचारको कुनै पनि विषयमा चित्त नबुझे सम्बन्धित निकायमा जान सकिने पर्याप्त विकल्पहरू हुँदाहुँदै गुन्डा नाइके जस्तो कुटपिटमा उत्रिने धम्की दिने, सार्वजनिक कार्यक्रममा अपमानजनक अभिव्यक्ति दिनेजस्ता काम तत्काल बन्द नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार उनै शिवाकोटी हुने चेतावनी समेत दिन चाहन्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर