विश्वकप अघि नामिबियामाथि नेपालको रोमाञ्चक जित
काठमाडौ । आइसिसी यू–१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा नामिबियालाई ६ रनले पराजित गरेको छ । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबिया २९ ओभर ५ बलमा १३५ रनमा समेटिएको हो ।
नामिबियाका लागि एक बसिङ–भोलसेन्कले सर्वाधिक रन बनाए । उनले ५० रनको अर्थसतकीय इनिङ खेले ।
नामिबियालाई सस्तोमै समेट्न बलिङतर्फ नेपालका गुल्सन झा र आकाश चन्दले ३–३ विकेट लिए । दुर्गेश गुप्ता २, दीपेश कंडेल १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि दीपक डुम्रेले सर्वाधिक ३२ रन, आकाश त्रीपाठीले २१, बिपिन रावलले २०, दीपक बोहराले १५, विशाल केसीले १४ र उत्तम मगरले १२ रनको योगदान दिएका थिए ।
गुल्सन झा ३ रनमा र कप्तान देव खनाल डक आउट भएका हुन् । बलिङतर्फ नामिबियाका जे करियाटा, एच बाडेनहर्स्ट र जी जेन्से विरुद्ध रेन्सबर्गले २–२ विकेट लिएका थिए । खेल सुरु हुने समय पानी परेपछी ओभर घटाएर ३० ओभर खेलाइएको थियो ।