बुटवलमा पृथ्वीनारायण शाहको सालिक अनावरण
रुपन्देही । बुटवलको मुख्य राजमार्गमा बनाइएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । बुटवल बेलहिया सडकखण्डमा निर्माण गरिएको शाहको सालिक ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार अनावरण गरिएको हो ।
राप्रपाका स्थानीय नेता रुपसिंह थापा, निलम अधिकारीलगायतको अगुवाइमा बुटवल उपमहानगरपालिका- १० राजमार्ग चौराहदेखि दक्षिणतर्फ सडकको हरियाली क्षेत्रमा उक्त सालिक निर्माण गरिएको छ ।
करिब १७ लाख रुपैयाँको लागतमा मूर्तिकार राजु तुलाधरले उक्त सालिक निर्माण गरेको थापाले जानकारी दिए । सालिक निर्माणको लागि बुटवल उपमहानगरपालिकाले ५ लाख र वडा नम्बर १० ले ५० हजार रुपैयाँ उपलब्ध गराएको उनले बताए ।
उनका अनुसार बाँकी रकम भने स्थानीय पृथ्वीनारायण मार्गका बासिन्दा र दाताहरुबाट संकलन गरिएको थियो । ढलोटबाट निर्माण गरिएको सालिक सात फिट अग्लो छ ।
राप्रपा नेता रुपसिंह थापाको अगुवाइमा गत वर्षको पुस २७ गते सालिक निर्माणको शिलान्यास गरिएको थियो । बुटवल उपमहानगरपालिका- १० का वडा अध्यक्ष बलु पुनले शिलान्यास गरेको उक्त सालिकको अनावरण भने थापाले गरेका हुन् ।