दुई पटकको माओवादी आक्रमणमा ध्वस्त सन्धिखर्कः यसरी बन्यो नमुना सदरमुकाम
अर्घाखाँची । दुई दशकअघि तत्कालीन माओवादी विद्रोहीको आक्रमणपछि भएको दुई पटकको भीषण युद्धमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कका सबै सरकारी कार्यालय ध्वस्त भएका थिए । २०५९ र २०६१ सालमा तत्कालीन विद्रोही माओवादीले सदरमुकाम आक्रमण गरेपछि यहाँका अधिकांश सरकारी कार्यालय कब्जामा लियो र सबै कागजपत्र जले भने भवनहरु पनि क्षतविक्षत भएका थिए ।
तर त्यो बेलाका सरकारी कार्यालय अहिले देख्नेहरुलाई भने आश्चर्य लाग्नेगरी बनेका छन् । पहिलेदेखि नै यहाँका अधिकांश सरकारी कार्यालय एकै क्षेत्रमा रहेकाले त्यो समयमा पूरै क्षति भएका थिए र अहिले ती सबै कार्यालयका संरचनाहरु पूरै नयाँ र आधुनिक शैलीमा बनेकाले पनि पूरै नमुना सदरमुकाम बनेको हो ।
यहाँका सबै सरकारी अड्डाहरू एकै ठाउँ भएकाले सेवाग्राहीलाई यहाँ आएपछि सेवा लिन सहज भएको छ । टुँडिखेल वरिपरीको करिब ९ हेक्टर क्षेत्रफलको एकै ठाउँमा रहेका सरकारी कार्यालयहरू अहिले पूरै नयाँ संरचनामा बनेका छन् ।
यहीँ कारणले लुम्बिनी प्रदेशको पहाडी जिल्लामा रहेको सदरमुकाम व्यवस्थित सहरीकरण बनेको र पहाडी जिल्लामा नमुना सदरमुकाम बनेको अध्यापक शोभाकर पन्थी बताउँछन् ।
उनकाअनुसार त्यो भीडन्तमा सन्धिखर्कमा ठूलो मानवीय क्षतिसहित सबै सरकारी कार्यालय ध्वस्त भएका थिए र त्यसपछि लामो समय कार्यालयहरु भाडामा बसे । शान्ति प्रक्रियापछि सरकारी भवनको पुनर्निर्माणको काम भएको र सबै सरकारी कार्यालय अहिलेको अवस्थामा पुगेको उनले बताए ।
आक्रमणबाट ठूलो क्षति त भयो तर अहिले त्यो घाउ पुर्नका लागि पनि अहिलेको व्यवस्थापनले सहज बनाएको स्थानीय व्यवसायी दिपक कुँवर बताउँछन् । लामो समयदेखि सदरमुकाममा व्यवसाय गर्दै आएका उनलाई आक्रमणपछि सदरमुकाममा तत्कालमा सरकारी कार्यालय बन्ने र बस्नसक्नेजस्तो लागेको थिएन तर अहिले देख्दा त्यो अवस्था बिर्साउने गरेको छ ।
‘त्यतिबेला त सदरमुकाममा अब बस्न पाइँदैन कि भन्ने लागेको थियो’ उनले भने । सन्धिखर्कको पहिलो आक्रमणमा परेर ज्यान जोगाएका नेपाल प्रहरीका मित्रलाल मरासिनीले त्यो बेला ध्वस्त भएका सरकारी कार्यालयको अवस्था र अहिलेको अवस्था हेर्दा आफैलाई आश्चर्य लाग्ने बताउँछन् । ‘रातभरीमा भएको आक्रमणबाट सबै सरकारी कार्यालय ध्वस्तपछि कसरी ज्यान बचाइयो भन्ने अचम्मै लाग्छ, आफ्नै सहकर्मीसहित त्यति धेरै मानवीय क्षति, भौतिक क्षति भएको आँखाले देखेको हो, अहिले त्यो अवस्था बिर्साउनेगरी संरचना बनेका छन्’ उनले भने ।
सामाजिक अभियान्ता सहयोगी विसीका अनुसार आक्रमणअघि यहाँका सरकारी कार्यालय भवनहरू साँघुरा र पुराना मोडलका थिए । जिल्लामा रहेको सभाहल पनि कच्ची थियो तर अहिले सबै सुविधासम्पन्न भवनमा रहेका छन् ।
अहिले ५ सयभन्दा बढी अट्ने सभा हल बनेको छ । टुडिखेल र सरकारी कार्यालय परिसर करिब ३ सय मिटर वरिपरीमा समेटिएको बिसी बताउँछन् । ‘सबै क्षेत्रफल त जोडिएको छैन तर करिब ६५ देखि ७० रोपनीमा यहाँ रहेका सबै सरकारी कार्यालय आफ्नो भवनमा बनेका छन्, यहाँको नगरपालिकासमेत यहीँ छ, यसले यहाँका सबै सेवाग्राहीलाई समेटेको छ, सर्वसाधारण आउने सबै कार्यालय एकैठाउँमा रहँदा धेरै सहज हुने यो नमुना उदाहरण हो’ उनले भने ।
एकै परिसरमा रहेका २२ वटा सरकारी कार्यालयले सदरमुकामलाई नमुना बनाएको हो । यहाँ रहेका २२ सरकारी कार्यालयबाहेक करदाता कार्यालय रहेको राजश्व कार्यालय र ढोरपाटन सडक आयोजनाको कार्यालय मात्रै भाडाको भवनमा रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले सबै सरकारी कार्यालय एकै ठाउँ भएकाले सेवाग्राहीलाई सहज भएको बताउँछन् । ‘म यहाँ आएको त धेरै भएको छैन, तर सबै सरकारी कार्यालय एकै क्षेत्रमा व्यवस्थित भएर आफ्नै भवनमा रहँदा विभिन्न पालिकाबाट आएर सेवा लिनेलाई धेरै सहज भएको छ, सेवाग्राहीलाई एकै क्षेत्रबाट सबै कामको सुविधा लिन सहज भएको छ’ नेपालीले भने ।
कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जिल्लामा रहेका ६ वटा पालिकाबाट आउने सेवाग्राहीलाई अहिले एकै क्षेत्रमा बनेका सरकारी कार्यालयले सर्वसाधारणलाई सहज भएको बताउँछन् ।
‘पालिकाबाट प्रशासनमा कुनै काम लिन आउने सेवाग्राही केही मिनेटमा यहाँ रहेका सबै कार्यालयमा पुग्न र सेवा लिनसक्छन्, अहिले सबै पालिकामा धेरै कार्यालयका युनिट रहेपनि केही कार्यालयमा सदरमुकाम आउनैपर्ने हुन्छ, त्यसको लागि पनि अहिलेको व्यवस्थापनले सहज भएको छ’ उनले भने–‘त्यसमाथि सबै सरकारी कार्यालय आफ्नै भवनमा रहेपछि दीर्घकालीनरुपमा व्यवस्थापनमा सहज हुनेरहेछ, यो राम्रो पक्ष हो, सेवादिने र सेवा लिनेलाई यसले सहज बनाएको छ ।’
उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले सदरमुकाममा बनेका सरकारी कार्यालयको व्यवस्थापनले सदरमुकामलाई नमुना बनाएको तर बढ्दो बसाईसराई, आर्थिक मन्दीले बजार क्षेत्रको आर्थिक चलायमान निकै कमजोर भएको बताए ।
यसरी व्यवस्थित बनेको छ बजार क्षेत्र
त्यसो त यहाँका सरकारी कार्यालय मात्रै होइन अहिले बजार क्षेत्रलाई पनि उसैगरी व्यवस्थित बनाइएको छ । सरकारी कार्यालयहरु रहेको पश्चिमपट्टि चुत्राबेसी व्यापारिक केन्द्र छन् जहाँ दुई व्यापारिक रोड रहेका छन् ।
सन्धिखर्कको मिडियाचोकदेखि हललाइन हुँदै बसपार्कको बजार नमुना शैलीमा व्यवस्थित बनेको छ । सबैका घरअगाडि व्यवस्थित नाली विस्तार भइरहेको छ । सरसफाइमा चिटिक्क छ । बसपार्क–पाणिनि चोक–सन्धिखर्क शान्ति बगैंचा चोक पनि व्यवस्थित छ । पछि बनेको गुन्टे खोलामा पनि बजार व्यवस्थित बनाइएको छ । प्रायः एउटै डिजाइनमा बनाइएका घर र व्यापारिक सटरले आकर्षण थपेको छ ।
मुख्य बजारपछाडि जनज्योति माविदेखि तलपट्टि र मसाल बजारको क्षेत्र शान्ति प्रक्रियापछि विस्तार भएकाले यो बजार अव्यवस्थित छ । यता शंखेटारी, पुल्चोक क्षेत्रका खेतीयोग्य जमिनमा पछिल्लो समय बजारीकरण तीव्र छ । त्यहाँ पनि रोड फराकिला नै छन् । सन्धिखर्कको कुँडेले फाँटमा पछिल्लो समय घडेरी प्लटिङ भइरहेको छ ।
हटारी, स्याँले, गच्छे हुँदै फुदवाङसम्म छरिएर बजार विस्तार भइरहेको छ । धेरैजसो अर्घाखाँचीकै गाउँबाट बसाइँसराइ गरी झरेका छन् । छिटपुट गुल्मी, प्यूठानलगायतका छिमेकी जिल्लाबाट पनि यहाँ बसाइँ सरेका छन् ।
पहिले अव्यवस्थित रहेको शान्ति बगैजालाई उसैगरी व्यवस्थित बनाइएको छ भने बसपार्क तथा अन्य नाली क्षेत्रलाई पनि व्यवस्थित बनाएर ढल निकासको व्यवस्था गरिएको छ ।
तर पछिल्लो समय व्यवसाय क्षेत्रमा आएको मन्दीले यहाँका केही व्यवसायिक क्षेत्र प्रभावित भएका छन् भने पहिलेजसो भिडभाड भने कम भएको छ । जिल्लाबाट नै बसाई सरेर तराई जानेहरुको संख्या बढेकाले पनि यस्तो भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्क देशकै व्यवस्थित, फराकिलो र सुन्दर सदरमुकाम रहेको र सौन्दर्यलाई जोगाउँदै थप व्यवस्थित बनाउने काम पालिकाले योजनाबद्ध रूपमा गरिरहेको बताउँछन् ।
नयाँ बन्ने बजारलाई मापदण्ड बनाएर व्यवस्थित गरिएको बताउँछन । सन्धिखर्कलाई ग्रिन सिटीका रूपमा विकास गर्ने, भित्री बजारका सडकलाई स्तरोन्नति गर्दै कालोपत्र गर्ने, सबै ठाउँमा सीसी क्यामरा राख्ने र भूउपयोग नीतिअनुसार थप विकास एवं व्यवस्थित गर्ने नगरको योजना रहेको उनले बताए ।
यस्तो छ सदरमुकामको इतिहास
पाकापुस्ताका अनुसार २०१८ सालसम्म अर्घाखाँची गुल्मी जिल्लाअन्तर्गत थियो । देशलाई ७५ जिल्लामा विभाजन गरेपछि मात्र यो छुट्टै जिल्ला स्थापित भएको हो । त्यसपछिको सुरुका दुई वर्ष ठाडा र त्यसपछि नरपानीमा रहेको सदरमुकाम रहेको थियो । त्यो ठाउँमा पछिसम्म सदरमुकाम राख्न साँघुरो हुने सबै क्षेत्रलाई केन्द्र नपर्ने भएको विश्लेषण गर्दै २०३२ सालमा सन्धिखर्कमा सदरमुकाम सारिएको हो ।
स्थानीय ७५ वर्षीय धर्मराज अधिकारी नरपानीबाट डोकोमा बोकेर कागजपत्र, फर्निचर सन्धिखर्क ल्याइएको स्मरण गर्दछन् । उनी सेवानिवृत्त कर्मचारी हुन् । त्यसरी सारिएको कार्यालयहरु अहिलेको अवस्थामा पुग्दा उनलाई आश्चर्य लाग्नेगरेको छ । ‘त्यतिबेला ढुंगे छानाका घरहरू थिए । आँखै सामुन्नेको खेत र झाडी अहिले बजारमा परिणत भए, त्यसरी कार्यालय सारिएको हो, धमाधम घर बनाउँदै राख्दै गरियो । बिस्तारै घर बन्दै गए, अड्डा, अदालत र कार्यालय व्यवस्थित बन्दै गए । अहिले यो अवस्थामा पुग्यो ।’
हाल सरकारी कार्यालय र टुँडिखेल रहेको स्थानमा कुमाल समुदायको बसोबास थियो । जग्गा किनेर कार्यालयका भवन बनाउन सुरु गरिएको थियो । फाँटमा फराकिला खेत, झाडी, जंगल र चौर थिए । अग्ला ठाउँमा बस्ती थिए । सन्धिखर्क र चुत्राबेसी खेतीपाती गर्ने क्षेत्र थियो । झाडी, जंगलसहित फाँट, बीचमा फराकिलो बाँगी खोला । सन्धिखर्कको पारिपट्टि चुत्रा भनिने झाडी थियो ।
अर्घा, वाङ्लालगायतका गाउँलेको बेंसी र लेक दुई ठाउँ जग्गा थिए । लेकमा बस्ने र बेंसीमा खेती गर्थे । बेंसीमा औलो लाग्ने डरले बस्दैनथे । बाँगी खोलाको पूर्वपट्टिको भूभागलाई अर्घा र खाँचीका दुई राजाले सन्धि गरेकाले सन्धिखर्क र चुत्राको झाडीसँगै बेंसी भएकाले चुत्रावेशी नामकरण गरिएको बुढापाका बताउँछन् ।
अर्घा र खाँची बाइसे चौबिसेअन्तर्गतका राज्य थिए । एकीकरणका सिलसिलामा दुवै पाल्पा राज्यमा गाभिए, अर्घा र खाँचीका राजा मिलेर खर्कमा सन्धि गरे । त्यही ठाउँ कालान्तरमा सन्धिखर्क नामकरण गरिएको इतिहासका जानकार राजेन्द्रकुमार आचार्य बताउँछन् ।
संघीय संरचनाअघि जिल्लामा रहेका ४२ गाविस अहिले ३ नगरपालिका तथा ३ गाउँपालिकामा सीमित बनेका छन् । साबिक सन्धिखर्क, नरपानी, खाँचीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेश गरी सन्धिखर्क नगरपालिका बनेको हो ।
यो नै जिल्ला सदरमुकाम रहेको नगरपालिका हो । पछि २०७३ मा स्थानीय तह घोषणा गर्दा पाली गाविस ९ नम्बर वडा पनि मिसाउँदा सन्धिखर्कमा १२ वटा वडा कायम भयो । १२९.४२ वर्गकिमि क्षेत्रफल रहेको यो नगरको जनसंख्यामा बढोत्तरी छैन ।
जनगणना २०६८ मा ४१ हजार ७१ रहेको जनसंख्या १० वर्षपछि २०७८ को गणनामा ४२ हजार ४ सय ९२ पुगेको छ । अर्घाखाँची जिल्लाकै जनसंख्यामा पनि अपेक्षित बढोत्तरी जनगणनाका तथ्यांकले देखाउँदैन । जनसंख्या घटेको तथ्यांकले देखाउँछ । २०५८ मा २ लाख ८ हजार ३ सय ९१ रहेको जनसंख्या २०६८ मा घटेर १ लाख ९७ हजार ६ सय ३२ भएको थियो । २०७८ मा अझ घटेर १ लाख ७७ हजार ८६ रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
मौसम, भूगोल र बसोबासका दृष्टिले सहज भए पनि जनसंख्याको दृष्टिले अर्घाखाँची घनत्व बढेको छैन । यहाँका बासिन्दा रोजगारी र शिक्षाका लागि बसाईसराई बढ्दो क्रममा रहेको छ ।
चारैतिर सडक सञ्जाल
अर्घाखाँची सबैतिरका सडक सन्जालले केन्द्रीत भएको छ । हिमाल, पहाड र तराई एकै दिन घुम्न सकिने सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक सदरमुकामको बीचमा वारपार गर्न सकिन्छ । यो सडक निर्माण कार्य पूरा भएपछि हालको सन्धिखर्क–गोरुसिंगेबाट भन्दा ढोरपाटन सडकबाट आधा समयमै बुटवल आउजाउ गर्न सकिन्छ ।
पोखरा–रिडी–सुर्खेत सडकले पनि सन्धिखर्क नगरपालिकासँगै छत्रदेव र मालारानी गाउँपालिकालाई जोड्छ । लुम्बिनी प्रदेशको गौरवको आयोजना रामपुर–कपुरकोट सडक पनि निर्माणाधीन छ । सल्यानको कपुरकोटबाट रोल्पा, रुकुम, अर्घाखाँची, पाल्पा हुँदै तराई जोड्ने लक्ष्य छ । लुम्बिनी प्रदेशको राजधानी दाङ आउजाउ गर्न सदरमुकामको गच्छे–भालुवाङ सडक निर्माण जारी छ ।
गुल्मी र पाल्पाका स्थानीयलाई प्रदेश राजधानी आउजाउ गर्न यही बाटो उपयुक्त हुनेछ । मध्यपहाडी लोकमार्गबाट पनि नजिकै रहेको यो जिल्लाबाट छिमेकी जिल्ला सदरमुकाम जोड्ने सबै बाटाहरु सुविधासम्पन्न र पक्की रहेका छन् । बाहिर मात्रै होइन सबै पालिकाका सबै वडाहरुमा सडक सन्जालले धेरै पहिले जोडिएको यो जिल्लामा भौतिक विकासका हिसाबले अगाडि रहेको यहाँका स्थानीयहरुको भनाइ छ ।